भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक’ मेला हुने


२४ पुष २०७५, मंगलवार
Can

काठमाडौँ, २४ पुस : सूचना, तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघ १५ देखि २० गतेसम्म ‘क्यान इन्फोटेक २०१९’ आयोजना हुने भएको छ ।

Can

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको सूचना प्रविधिसम्बन्धी मेलाको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले आयोजना गर्न लागेको हो । भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ६ दिनसम्म सञ्चालन हुने मेलामा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी तथा विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कूल १७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा तालीम प्रदायक संस्थाको सहभागिता रहनेछ ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीका लागि रु ५० तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले रु १०० शुल्क तिर्नुपर्नेछ । मेलालाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रुपमा उपयोग गर्नसक्ने महासङ्घका महासचिव रञ्जीतकुमार पोदारले बताए । यसपटकको मेलामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरिनेछ ।

नयाँ सफ्टवेर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । हरेक तीन÷तीन घण्टामा चिट्ठामार्फत अवलोकनकर्तालाई उपहार प्रदान गरिनेछ । मेलामा एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिनेछ । नेपाललीले बनाएका दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिनेछ ।

‘नयाँ–नयाँ प्रविधिको अवलोकनसँगै जागिरको अवसर पनि’ नारासहित आयोजना हुने मेलामा सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषयमा अध्ययनरत विद्यार्थीले मेलास्थलमै व्यक्तिगत बिवरण बुझाउन सक्नेछन् ।

बिवरण महासङ्घले आइटी कम्पनीमा पठाई रोजगारीका लागि सहजीकरण गरिदिने छ । इन्फोटेकको २५औँ संस्करणको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा लि र एशोसिएट प्रायोजक ई सेवा रहेका छन् ।

प्रादेशिक इन्फोटेक

राजधानी काठमाडौँबाहिर प्रदेश नं १ को विराटनगरमा गत पुस १९ देखि २३ गतेसम्म इन्फोटेक मेला आयोजना गरेको महासङ्घले क्रमशः प्रदेश नं २ को वीरगञ्जमा यही पुस २७ देखि ३०, प्रदेश नं ३ को चितवनमा आगामी माघ २५ देखि २९ गतेसम्म मेला गर्ने जनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको पोखरामा आगामी फागुन २४ देखि २८, प्रदेश नं ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ गतेसम्म प्रादेशिक इन्फोटेक आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७