डा.केसीलाई योगेशको अपिल : विधेयकको सही सूचना लिनुहोस्, राष्ट्रबिरोधीहरुको गोटी नबन्नुहोस्


२५ पुष २०७५, बुधबार
Yogesh bhattarai

काठमाडौं, २५ पुस : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सासद योगेश भट्टराईले १६ औं अनसन सुरु गरेका डा.गोबिन्द केसीलाई पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको बारेमा सही सूचना लिन आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा डा.केसीले यसअघि उठाउँदै आएको सबै मागहरु पुरा भएको दाबी गर्दै सांसद भट्टराईले सही सूचना लिन आग्रह गरेका हुन् ।

Yogesh bhattarai


बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्, ‘डा. केसीलाई पुनः आग्रह गर्दछु । बिधेयकका बारेमा सहि सूचना लिनुहोस् तपाईंका सबै माग पुरा भएका छन्, यदि कुनै कमी भएमा आउनुहोस् सँगैबसेर छलफल गरौ ।’ सांसद भट्टराईले डा.केसीलाई राष्ट्र बिरोधी षड्यन्त्रकारीहरुको गोटी नबन्न पनि भनेका छन् । लेखेका छन्, ‘राष्ट्र बिरोधी षड्यन्त्रकारीहरुको गोटी नबन्नुहोस् । आफ्नो सामाजिक छबी बचाउनुहोस् ।’

अराजकता चाहानेहरुले डा.केसीलाई गुमराहमा राखेर फेरि अनसन बस्न लगाएको उनको दाबी छ । उनले भनेका छन्, ‘षड्यन्त्रका पूजारीहरुलाई लागेको थियो संसदको समितिले गोबिन्द केसीका कुनै पनि माग पुरा गर्दैन र त्यही निँहुमा पुन बितन्डा मच्चाउने तर संसदको समितिले डा. केसीसंगका सहमतिका आधार मै चिकित्सा शिक्षा बिधेयक अघि बढाए पछि उनीहरु हतप्रत भए । डा. केसीलाई गुमराहमा राखेर फेरी अनसन बसाए । ती तत्वको त के नै पो जान्छ र ? दुःख पाउने त डा. केसीले नै त हो ।’

चिकित्सा क्षेत्रको सुधारको माग सहित श्रृखलाबद्ध अनसनमा बसिरहेका डा. केसीले २५ पुस २०७५ सम्म राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित नभए १६ औं अनसन बस्ने घोषणा गरेका थिए । डा.केसीको घोषणालाई ध्यानमा राख्दै बुधबार प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो ।

डा.केसीले आफूसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक हुबहु पास १६ औं अनशन सुरु गर्ने बताएका थिए । तर, विधेयक सामान्य परिमार्जन सहित पाश भयो । तर, डा.केसीले उठाउँदै आएको सुधारका सबै माग विधेयकमा समेटिएको सांसद भट्टराईको भनाई छ । बुधबार बिहानराष्ट्रिय चिकित्सा शिक्षा विधेयक पाश हुनुअघि नै डा.केसी अनसनका लागि इलाम पुगीसकेका थिए । डा.केसीलाई पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको बारेमा सही सूचना नगएको भट्टराईको आशंका छ ।

बहुमतका आधारमा पास भएको विधेयकमा डा.केसीसँग भएको सम्झौता अनुरुप नै काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाइएको छ । आशयपत्र लिई पूर्वाधार पूरा गरेका शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्ने वा चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेमा क्षेत्रमा स्थानान्तरण गर्ने गर्न सकिने विधेयकमा उल्लेख छ ।

तर, सम्बन्धन लिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका उपत्यकाबाहिरका शिक्षण संस्थाको हकमा भो यो लागू नहुने भएको छ । यही बिषयमा कांग्रेस र डा.केसीले आपत्ती प्रकट गरेका छन् । सम्बन्धन लिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका उपत्यकाबाहिरका शिक्षण संस्था नेकपा निकटले चलाएको कारण कांग्रेस सांसदहरु यसमा आक्रमक भएको समिति सदस्यहरुकै भनाई छ ।

डा.केसीलाई दाउमा राखेर अराजकता मच्चाउने षड्यन्त्र

Dr Kc


सांसद भट्टराईले नेपाललाई असफल राष्ट्र बनाएर आफ्नो स्वार्थको रोटी सेक्न चाहानेहरुले डा.केसीलाई दाउमा राखेर अराजकता मच्चाउने षडयन्त्र गरीरहेको पनि आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘आफ्नो कर्तुत लुकाउन अनि समाजमा अराजकता मच्चाउन आफूले नसक्ने भएपछि सामाजिक प्रतिष्ठा कमाएका सिलेबल मानिसतिर उनीहरुले आँखा लगाए । हिम्मतिलो, हठी र मुढी स्वभाबका डा. गोबिन्द केसी उनीहरुको नजरमा परे । डा. केसीको सामाजिक ईज्जत, प्रतिस्ठा र भबिष्यका बारेमा उनिहरुलाई कुनै चिन्ता छैन । छ त, केवल डा. केसीलाई दाउमा राखेर समाजमा अराजकता मच्चाउने षड्यन्त्र ।’

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक एउटा बहाना मात्रै भएको पनि उनले आशंका गरेका छन् । उनले लेखेका छन्, ‘चिकित्सा शिक्षा बिधेयक त बहाना मात्र थियो भन्ने कुरा आज अनसन बस्नु अघि प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष प्रचन्ड, नेताहरु र नेकपाका बारेमा डा. केसीका मूखबाट बक्न लगाईएका तुच्छ आरोप र घटीया शब्दहरुले स्पस्ट हुन्छ । यो नेपाल राष्ट्र, जनता र नेकपा बिरुद्धको सुनियोजित प्रपञ्च हो भन्ने कुरा नेकपाका सबै सदस्यहरुले बुझ्नु पर्दछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७