रक्सी खान राउटेले बेचे सरकारले दिएको कोट


२६ पुष २०७५, बिहीबार
raute kot

सुर्खेत, २६ पुस । केहि दिनअघि मात्र प्रदेश सरकारले राउटे समुदायका पुरुषलाई दिएको कोट बेचिएको छ ।

raute kot

राउटे उत्थानका लागि विभिन्न निकायबाट प्रदान गरिएको राहत सामग्री उनीहरुले दुरुपयोग गरेको पाइएको छ । सरकारले राहत बापत दिएको चामल बाहेक सबै वस्तु पुरुष राउटेहरूले मदिराका लागि स्थानीयलाई बेच्ने गरेको पाइएको छ । सुर्खेत लेकबेंशी नगरपालिका–१ थोत्रीखोलामा छाप्रा बनाएर बसिरहेका राउटेलाई प्रदेश सरकारले राहत वितरण गरेको थियो । पुरानै लुगामा रमाउने राउटेलाई सामाजिकीकरणको नाममा प्रदेश सरकारले चिल्ला कोट दिएको थियो ।

सञ्चारमाध्यममा राउटेलाई आधुनिक समाजमा घुलमिल गराउने उद्देश्यले पोसाक वितरण गरिएको भनी मन्त्री र कर्मचारीले अन्तरवार्ता दिइरहेका बेला उनीहरु भने आफूले पाएको राहत सामग्रही बेचिरहेको पाइएको छ ।

जंगलका फिरन्ते राउटेलाई के दिँदा उनीहरूले सदुपयोग गर्छन् भन्ने मन्त्रालयका कर्मचारीले नबुझ्दा राउटेका लागि कोट रक्सी खाने माध्यम बनेको छ । पाएको चार दिनभित्रै कोट बेचेर राउटेहरूले रक्सी खान थालेका थिए । ‘पैसा छुँदा पाप लाग्छ’ भन्ने राउटेलाई आधुनिक बनाउने नाउँमा सरकारी तथा गैरसरकारी संस्थाहरूले उनीहरूमाथि निकै लगानी गरिसकेको छ ।

सामाजिक सञ्जालमा समेत भाइरल भएको उक्त कोटबाला तस्बिरमाथि धेरैले प्रतिक्रिया जनाएका छन् । कतिपयले त राउटेको संस्कारमाथि सरकारी निकायबाटै हमला भएको पनि टिप्पणी गरेका छन् । मन्त्रालयबाट कोटलगायत न्यानो कपडा वितरण गर्न आठ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले वितरण गरेका ती कपडा राउटेले स्थानीयलाई बेचेका हुन् ।

राउटेहरूले आफूहरूले पाएका अधिकांश राहत सामग्री बिक्री गरेका छन् । बस्तीमा पुग्ने जोकोहीसँग पनि फोटो खिचाउन एक सय रुपैयाँ माग्ने र त्यसैले मदिरा किनेर खाने गरेको पाइएको छ । चामल बाहेकका बस्तु बेचेर रक्सी खाएको नगर कार्यपालिका सदस्य धनसरा सुनारले बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७