वीपी रहेको भए केपी ओली कांग्रेस हुनुहुन्थ्यो : महामन्त्री कोइराला


११ मंसिर २०७४, सोमबार
Dr sashanka

दलदले(नवलपुर) : नेपाली काँग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाका सदस्य उम्मेदवार प्रा.डा.शशांक कोइरालाले आफ्ना पिता अहिलेसम्म जीवित रहेको भए एमाले अध्यक्ष केपी ओली काँग्रेस हुने बताएका छन् । Dr sashanka
ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यति बेला वीपी, गणेशमान लगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि आज नवलपुरको दलदलेमा पत्रकार भेटघाटका क्रममा उनले सो कुरा बताएको हो ।
बि.पी.कोइरालालाई उनी जीवित रहुञ्जेल गाली गलौज गर्ने तात्कालिन पञ्चायतका कार्यकर्ता र कम्युनिस्ट नेताहरूले उनले आफूले भोगेको घटनाका बारेमा राखिएको अभिलेखलाई आत्मवृतान्त र जेल जर्नल जस्ता पुस्तकका रूपमा बाहिर आएपछि के पी ओली र प्रचण्ड जस्ता नेताहरूले पनि नेपालमा सबैभन्दा मन पर्ने नेताको रूपमा उनको नाम लिएको पनि उनले बताए ।
एक अर्को प्रसङ्गमा काँग्रेस महामन्त्री कोइरालाले कम्युनिष्टहरुले अधिनायकवादी शासन स्थापना गर्ने दम्भ प्रदर्शन गरेको र टुंगो लागिसकेको राजनीतिक व्यवस्थालाई पुन अस्थिरतामा लैजान सङ्केत गरेकोले कम्युनिस्ट पार्टीभित्रका उदारवादी कार्यकर्ताहरू देशव्यापी रूपमा नेपाली काँग्रेसमा प्रवेश गरिरहेको पनि उनले बताए ।
दैनिक सयौँको सङ्ख्यामा अन्य पार्टी परित्याग गरेर काँग्रेस प्रवेश गरेको घट्नाले आफूलाई उत्साहित बनाएको पनि बताए । उनले वाम गठबन्धनले अहिले नै देशमा अधिनायकवाद ल्याउन नसक्ने भन्दै उनले भने, ‘उनीहरूले दुई तिहाई पु¥याउन सक्दैनन् ।’
वाम गठबन्धनले गर्दा पार्टी एकढिक्का भएर चुनावमा होमिएकोले नेपाली काँग्रेसलाई फाइदा पुगेको उनले दाबी गरे । महामन्त्री कोइरालाले काँग्रेसलाई यथास्थितिबादी भनेर लगाएको आरोपको प्रतिवाद गर्दै प्रश्न गरे, ‘परिवर्तन ल्याउने काँग्रेस यथास्थितिवादी हुने, विश्वबाटै समाप्त हुँदै गएको कम्युनिस्ट कसरी परिवर्तनकारी हुन्छ ?’
गरिबलाई गरिब नै राखेर कम्युनिष्टहरुले राजनीति गरेको भन्दै उनले भने, ‘हामी सबैलाई धनी बनाउँछौं त्यो समाजवादमा हुन्छ ।’ राष्ट्रियता, प्रजातन्त्र र समाजवाद काँग्रेसको चिन्तन भएको भन्दै उहाँले यसले नै देशको समग्र विकास हुने बताए ।
कोइरालाले भने, ‘सुरुमा गठबन्धनले हामी झस्किएका थियौँ, तर अहिले देशभरि काँग्रेसको पकड विस्तार हुँदैगएको छ, सबैभन्दा ठुलो पार्टी काँग्रेस हुन्छ ।’
स्थानीय निर्वाचनमा पार्टीभित्र देखा परेका केही त्रुटीलाई यस पटक सच्याएर अघि बढेकाले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको पनि उनले बताए ।
एक फरक प्रसङ्गमा उनले अदृश्य शक्तिलाई चलखेल गर्न दिन नहुने बताउँदै भने, ‘राष्ट्र नेपालीले नै हाक्नुपर्छ ।’
अब तपाईँ यो देशको प्रधानमन्त्री बन्ने सम्भावना छ भन्ने प्रश्नमा उनले भने “सम्भावना छ, तर शेरबहादुरजी, रामचन्द्रजी हुनुहुन्छ, सबैको सल्लाहमा म पनि हुनसक्छु ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७