सक्कली डिएसपीको कार्ड बोकेर नक्कलीको ठगी धन्दा, कोठा नम्बर २०३ मा यस्तो अवस्थामा परे फेला


२७ पुष २०७५, शुक्रबार
thapa

काठमाडौं, २७ पुस । नेपाल प्रहरीको डिएसपीको सक्कली कार्ड देखाउँदै ठगी धन्दा चलाउँदै आएका एक ‘नक्कली डिएसपी’ लाई प्रहरीले पक्राउ गरेको छ ।

thapa

सक्कली डिएसपी भीमकिरण बोगटीको भिजिटिङ्ग कार्ड देखाएर आफू प्रहरीको डिएसपी भन्दै ठगी धन्दा चलाउँदै आएका भक्तपुर बालकोटका अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो । सक्कली प्रहरी डिएसपी भीमकिरण बोगटीको भिजिटिङ कार्ड देखाएर ‘म भीम किरण बोगटी हुँ’ भन्दै ठगी गरेको खुलेपछि थापालाई प्रहरी परिसर काठमाडौंले बिहीबार राति ११ बजे पक्राउ गरेको जनाएको छ ।

थापाले धेरै दुःख दिएपछि प्रहरीलाई होटल व्यबसायीले बिहीबार जानकारी गराएका थिए । सोही सूचनाका आधारमा प्रहरीले उनलाई कमलादीस्थित तिरुपति होटलबाट पक्राउ गरेको हो । तिरुपति होटलको कोठा नम्बर २०३ मा उनी टेबलमा डिएसपी भीमकिरण बोगटीको भिजिटिङ कार्ड देखाएर राखेर बसिरहेको अबस्थामा पक्राउ परेका थिए ।

उनी आफू बहालवाला डिएसपी भएको र अनुसन्धानका लागि आएको भन्दै खाएको र बसेको पैसा समेत नतिर्ने र होटल व्यबसायीहरुलाई धम्की दिंदै आएको खुलेको छ । निज थापाले सक्कली डिएसपीको भिजिटिङ कार्ड बोकेर होटलमा महिला कामदारहरु र अन्य बाहिरबाटै महिलाहरु ल्याएर पनि दुव्र्यबहार गर्दै आएको खुलेको प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

शुरुमा अनिल थापा भक्तपुरतिर जग्गा दलालीको काम गर्ने गरेको खुलेको छ । १४–१५ दिनदेखि उनी ठमेलका होटल र दरबार मार्गका ठूला–ठूला व्यबसायीहरुलाई ‘म डिएसपी भीमकिरण बोगटी हुँ’ अपराध अनुसन्धान शाखामा काम गर्छु भन्दै ठगी गर्न शुरु गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ३५ वर्षका अनिल थापा लामो समयदेखि नक्कली डिएसपी बनेर ठगी गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।

तिरुपति होटलमा मात्रै डिएसपी बनेर थापाले ८० हजार भन्दा बढी रकम बराबर ठगी गरेको खुलेको प्रवक्ता बोगटीले जानकारी दिएका छन् । अपराधिक क्रियाकलापमा संलग्न अनिल थापाले प्रयोग गरेको भिजिटिङ कार्ड भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डिसएपी भीमकिरण बोगटीको थियो ।
डिएसपी भीमकिरण बोगटीको भिजिटिङ कार्ड कतैबाट पाएर त्यसैको नक्कली प्रतिलिपी निकालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसबारे थप अनुसन्धानका हुने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७