पर्यटन प्रवर्धनमा लगानी आवश्यक : नेता नेपाल


२७ पुष २०७५, शुक्रबार
madhav

काठमाडौं, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेका पर्यटन प्रवर्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।

madhav
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबार काठमाडौँमा आयोजित गन्तव्य नेपालको सातौं वार्षिकोत्सव समारोहमा मन्तव्य व्यक्त गर्दै। तस्वीरः रासस

गन्तब्य नेपाल न्यूज डटकमको सातौं वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले बिना लगानी र मेहनत पर्यटन प्रवद्र्धन नहुने हुँदा यसका लागि सरोकार भएका निकायको सक्रिय भूमिका चाहिने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले अथाह सम्भावना भएर पनि नेपालको पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधार र सम्पदा प्रवर्धनमा सरकार र निजी साझेदारितालाई प्रभावकारी बनाइनुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपालीको जस्तो आतिथ्यता संसारमा कहीं पाइन्न, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं भौगोलिक विविधतायुक्त मुलुकले सबैभन्दा लाभ लिने क्षेत्र भनेकै पर्यटन हो, यसका लागि राज्य र समाज सहकार्यका साथ अघि बढ्नु पर्छ ।’

सन् २०१८ मा करीब १२ लाख विदेशी पर्यटक नेपाल भित्रिएको सन्दर्भमा नेता नेपालले मुलुकको प्रचुर पर्यटकीय सम्भावनाकाबीच यो संख्या अत्यन्तै न्यून हो भन्दै २० लाख हैन ३० देखि ५० लाखको हाराहारीमा पर्यटक स्वागत गर्नेगरी प्रवद्र्धनात्मक गतिविधि अगाडि बढाइनुपर्ने धारणा व्यक्त गरे ।

महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निमार्णलाई तीव्रता दिइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चुस्त व्यवस्थापन तथा काठमाडौँ उपत्यकालाई सुन्दर र सफा नगरीका रुपमा विकास गर्नसके अधिक संख्यामा पर्यटक आकर्षण गर्न सकिने उनले बताए ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन क्षेत्रलाई व्यावसायिक ढङ्गले प्रवद्र्धनात्मक गतिविधिका साथै सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाई पर्यटन प्रवद्र्धनको अभियानलाई प्रभावकारी रुपमा अघि बढाइनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सरकारले लिएको ‘आर्थिक समृद्धि र सुखी नेपालीको’ नारालाई सार्थक बनाउने दरिलो आधार नै पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि सबै क्षेत्रको सहकार्य जरुरी भएको धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७