कोरिया कहर : घडीको सुई र मोवाइल अलाराममा अल्झेको दैनिकी


२८ पुष २०७५, शनिबार
sabin garti magar

सविन घर्तीमगर

sabin garti magar

पुस २७ गते आफ्नै सुरमा भाविष्यको खोजका क्रममा राजधानी काठमाडौंको एउटा कुनामा हिंडिरहेको थिएँ । साँझको समय थियो । दिनभरको गर्मीलाई राहत दिंदै साँझपख ठूलो पानी परेको थियो । म चिया पिउन भनि एक जना रेष्टुरेन्टमा गएँ । साँझको समय मान्छेहरूको निकै भिड थियो । म हातमा चियाको कपसँगै मनमा अनेकथरी कुराहरु बोकेर बसेको थिएँ ।

त्यही पसलमा चिया खान आएका पोखरा घर बताउने एक गुरूङ दाइसँग चिनजान भयो । उहाँले सोध्नु भयो, ‘बाबु तपाईको घर कता हो ?’ मैले आफ्नो घर ठेगाना सबै बताए । मैले पनि उहाँको बारेमा सोधें । जवाफमा उहाँले आफू पोखराको भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘म ब्रिटिस आर्मी हुँ जागिर खाएको १३ वर्ष भयो भोलि ७ बजे फ्लाइट छ ।’ अनि कुरा अगाडि बढ्यो । फेरि सोध्नु भयो, ‘के कामको लागि यहाँ आउनु भयो ?’ मैले भने मेरो पनि भोलि साँझ ७ बजे दक्षिण कोरियाको फ्लाइट छ त्यही कामले यहाँ आएको दाइ ।’

Seoul

मैले मेरो सबै कुरा सुनाएपछि सबै भन्दा पहिले बधाई पाएँ र त्यतिखेर मलाई पनि महसुस भएको थियो साँच्चीकै आफूले पनि आफ्नो लागि ठूलै प्रगति गरेछु । जीन्दगीमा पहिलो पटक भविष्य खोज्न परदेशको त्यो विरानो यात्रा तय गर्दा खिन्न भएको मन एकछिनलाई भए पनि शान्त र उत्साहित भयो । गफगाफ र चियाको चुस्कीको समयको अन्त्यमा अन्तिम अंगालो हाल्दै उहाँले भन्नुभयो, ‘म भन्दा तपाई धेरै राम्रो ठाउँ जाँदै हुनुहुन्छ । थोरै समयमा धेरै प्रगति गर्नुपर्छ ।’

यस्तै भावनात्मक कुरा, कताकता हौसला पनि मिल्यो । कताकता आफ्नो ठाउँ, साथीभाइ, आमा बाबाको साथ छोडेर जानुपर्ने वाध्यताले दुःख पनि लाग्यो । राजधानीको त्यो ठाउमा यसरी अंगालो हालेर शुभेच्छा प्रकट गर्ने मान्छे भाग्यमानीहरुले मात्र पाउँछन् । घर देशलाई छोडेर परदेशमा पसिना बगाउने यात्राको पहिलो दिन मलाई रातभरी निन्द्रा लाग्दै लागेन ।

korea

भोलिको यात्रा कस्तो हुने हो ? बसाई कस्तो हुने हो ? यही कुराले पिरोली रह्यो । भोलिपल्ट दिउँसोको समय अलि भिडभाड र गाडीहरूको जाम हुने भएकोले निर्धारित समय भन्दा अलि छिट्टै निस्किएँ । त्रिभुवन विमानस्थलसम्म छोड्न मेरा मन मिल्ने हितैषीहरु आएका थिए । साथीहरुको यो साथ सम्झिँदा मन भारी भएको थियो ।

कोरिया यात्राका लागि पाइला बढाउने साथीहरू एयरपोर्ट पुगिसकेका थिए । सबैको शीरमा रातो अबिर, टोपी अनि सबैको एउटै कलरको ज्याकेट । त्यसमा पनि कोरिया र नेपालको राष्ट्रिय झण्डा क्रस अंकित टोपी र ज्याकेट अनि गलाभरी खादा । हामीलाई विदाइ गर्ने आफन्तहरुको भीडले कुनै आर्मीको क्याम्प विदा हुँदै गरेको भान हुन्थ्यो ।

korea nepal shikharnews

हेर्दाहेर्दै विदा हुने समय भयो । आँखामा आँशु बोक्दै आफन्त साथीभाइहरुसँग विदा भई प्लेनमा चढियो । जब हवाईजहाजले नेपालको जमिन छोड्यो एकातिर खुशी अर्कोतिर मन खिन्न भइरहेको थियो । रातको ८ बजेतिर काठमाडौमाथि उठ्दा झिलीमिली रातको समय नेपाल छोडेर जाँदैछु, प्यारो नेपाल अब कहिले फर्किने होला ? यही कुराले मनमनै नमिठो आभाष दिलाउँदै थियो ।

साथीहरू कोही मस्त निन्द्रामा थिए कोही आ–आफ्नै धुनमा करीब साढे ६ घण्टाको हवाई यात्रापछि दक्षिण कोरियाको इनछन एयरपोर्टमा ल्याण्ड गरियो । सबै जनालाई त्यहाँबाट तालिम केन्द्र पुर्‍याइयो । दुई रात, तीन दिनको तालिमपछि त्यहाँबाट सबैलाई आ–आफ्नै जब सेन्टरको जिम्मा लगाइयो । म अचम्म परें । कोरियाको बिकास हेर्दा दङ्ग पर्दै मन मनै सोचिरहें–मेरो प्यारो नेपाल कहिले यस्तो होला ? मनमनै तुलना गर्ने बाहेक अरू केही बिकल्प थिएन । अन्तिम दिन मलाई कम्पनीबाट लिन आए एक जना । कालो अनि चिल्लो कार, नेपालमा मन्त्रीहरू चढ्ने कार भन्दा शानदार । म त्यही कार चढेर कम्पनीतिर गएँ ।

जब काम गर्ने कम्पनी पुगें तव शुरु भयो जीवनको यथार्थ संघर्ष । टन्टलापुर घाम थियो । सहकर्मीहरू आ–आफ्नै काममा व्यस्त थिए । सबैसँग हात जोड्दै कोरियन भाषामा नमस्कार गर्दै परिचय गरियो । उनीहरुले अब सँगै दुःख गरौं भने । यहि संघर्षबाट सुरू भएको जीबन अहिले आएर बुज्दैछु भविष्य खोज्न त मन टुटाउनु पर्दोरहेछ , आफन्तसँग टाढा हुनुपर्दोरहेछ, खुशी र सुखलाई त्याग्नु पर्दोरहेछ । यस्तै यस्तै महसुस गरिरहेको छु । दुःख बिना सुख हुँदैन भन्ने पाठ पहिले पनि सिकेको थिएँ तर त्यो भन्दा धेरै कठोर चुनौतीहरूसँग दिनहुँ सामना गरिरहेको छु ।

आमाले पकाएर खाना खाएर साथीहरुसग गफिदै डुल्न निस्केको पलहरु, चार घण्टा पैदल हिड्न पर्दाको थकानले जीवनमा कति धेरै दुःख भयो भन्दै धिकारेको दिनहरु । तर आजभोलि दुःख त यो पो रहेछ नि भन्ने हेक्का पाउँदैछु ।

south korea industrial output 13042017035926 1000x0 13042017042534

यो विरानो ठाउँमा जीन्दगीको डुंगालाई समयको रफतारमा खियाउँदैछु दिन रात पसिना र आँशुको पछ्यौरा ओढेर । भित्तामा चलिरहेको घडीको सुई र मोबाइलमा सेट गरिएको अलाराम घण्टीसँगै सहयात्रा गरिरहेको छु । बिहान ८ बजेदेखि रातको ८ बजेसम्म आफ्नो काममा दत्तचित्त भएर घोट्दैछु जीवनलाई । घर देशमा मनले निर्देश गरे अनुसार जीवनलाई चलाउन पाइन्छ तर, परदेशमा त्यो समय कहाँ मिल्दोरहेछ र ! आफन्त साथीभाइका लागि बोल्न समय पनि नपाउने । विहान जुरुक्क उठ्यो मेशिनको रफ्तारमा काम गर्‍यो, राति कोठा आयो दिनभरीको थकान सुत्यो । विहान फेरि त्यही रुटिन ।

परदेशको यो भोगाईले बाबा आमाले मप्रति पुरा गरेको जिम्मेवारी सम्झिन्छ् । साँच्चीकै परिवारको सपना काँधमा लिएर पूरा गर्न एकदम कठिन रहेछ । धेरै जिम्मेवारी थपिएको छ । सानो छँदा बिदेश जाँदिनँ नेपालमै पढेर केही गर्छु भन्ने सोच थियो तर, समयले राम्रा सपना र दिन खोज्दा खोज्दै प्रदेशको ठाउँमा हुत्याई दियो । यहाँ आएपछि घर देशका आफन्तहरुले पैसा फल्ने ठाउँमा आएको र टिप्न पाइन्छ भन्ने सोच्दा रहेछन् । दुःख बुझनेहरू कमै छन ।

प्रत्येक सेकेण्ड पसिना बगाउँदै परदेशमा गरेको कठोर मेहनत सम्झिँदा मन अमिलो भएर आउँछ । कसैले सोध्दैनन् कति दुःख छ । गुनासो गर्छन् त केवल कमाउने ठाउँमा भएर पनि यति सहयोग गरिनस् भन्ने मात्र । पलपल जीउँदो लाश जस्तै बनेर गरेको दुःख नदेख्नेहरूले लाख कमाएको मात्र देख्छन् । नेपालमा कामदारको पारिवारिक पृष्ठभूमि, उसको शारीरीक तन्दुस्ती, आर्थिक अवस्था हेरेर आफ्नोपन र आत्मियता दर्शाउँछौ ।

आफ्नो देश आफूलाई नै प्यारो तर यहाँ काम राम्रो, छिटो गर्ने र भाषा राम्रो भएकालाई मात्र माया गरिन्छ । यहाँ अनुहार हेरेर व्यवहार चल्दैन । यहाँ साथीको दुःखलाई सम्झेर र देखेर आफूले पनि दुःख र संघर्ष गर्नुपर्छ । यहाँ सबैको आ–आफ्नै संघर्षका कथा छन् । चाडबाडको समय र बितेका पलहरुमा साथीभाइहरुसँग बिताएका रमाइला पलहरु सम्झिँदा असाध्यै दुःख लाग्छ ।

अन्तमा काठमाडौंमा भेट भएको लाहुरे अंकल मैले धेरै सम्झिएको छु । समयले साथ दियो भने हाम्रो भेट फेरि होस् । तपाईले दिएको आशिर्वाद अनुसार नै म केहि आफूलाई, समाज अनि मेरो नेपाल परिवर्तन गर्ने हैसियतमा तपाईको अगाडि उभिन पाउँ । बाँकी मेरा बाबा आमा तपाईहरु त सधै मेरो शीरमाथी हुनुहुन्छ ।
लेखक : रोल्पा जेल्बाङका हुन् । हाल : दक्षिण कोरिया

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७