समायोजन रोज्ने कर्मचारी ह्वातै बढे, दैनिक आठ हजार फारम भर्दै कर्मचारी
काठमाडौं, २८ पुस । कर्मचारी समायोजनको मिति सकिन लाग्दा समायोजनका लागि फारम भर्नेको संख्या बढेको छ ।
पहिले दैनिक चार हजारको संख्यामा फारम भर्नेमा अहिले दैनिक आठ हजारसम्म कर्मचारीले फाराम भर्ने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिइन् ।
उनका अनुसार बिहीबारबाट सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा फाराम भर्नेको संख््यामा दोब्वर वृद्धि भएको छ। ‘‘समायोजनको लागि फारम भर्न अब पाँच दिनमात्र बाँकी रहेको छ’’ उनले भनिन्, ‘त्यसैले अहिले फारम भर्नेको संख्यामा वृद्धि भएको छ ।’
अहिलेसम्म करीब ३६ हजार ९६७ कर्मचारीले समायोजन रोजिसकेका छन् भने करीब ५६ हजार ५०० कर्मचारीले समायोजनका लागि अनलाइन फारम अभिलेखन गरिसकेका छन् ।
मन्त्रालयले यही पुस ११ गते कर्मचारीलाई २१ दिने सूचना निकाल्दै समायोजनको लागि अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको थियो । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।