अस्थायी शिक्षकको अन्तरवार्ता रोकी, कापी परीक्षण गर : सर्वोच्च


९ माघ २०७५, बुधबार
sarbocha adalat

काठमाडौं, ९ माघ । तल्लो तहमा स्थायी भईसकेका अस्थायी शिक्षकले माथिल्लो तहमा दिएको परीक्षा अमान्य भन्दै शिक्षक सेवा आयोगले गरेको निर्णय स्थगित गरी उनीहरुको कापी परीक्षण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

sarbocha adalat

माध्यमिक तहको अन्तरवार्ता शुरु हुनु दुई दिनअघि अदालतको उक्त फैसला आएको हो । आयोगले माविको अन्तरवार्ता आउँदो बिहीबारबाट शुरु हुँदैछ । मंगलबार सर्वोच्चका न्यायाधीश केदार प्रसाद चालिसे र अनिलकुमार सिन्हाको ईजलासले यस्तो आदेश दिएको हो ।

आयोगले विज्ञापन खोल्दा र परीक्षा लिदाँ अस्थायी रहेकामध्ये केही शिक्षक त्यहि बीचमा खुलेको खुल्ला विज्ञापनमा सहभागी भएर निमावि तहमा स्थायी भएका थिए । उनीहरुले माध्यमिक तहको अस्थायी शिक्षकको परीक्षामा जनाएको सहभागितालाई आयोगले अमान्य भन्दै कापी परीक्षण रोकेको थियो । एक तहमा स्थायी भएको शिक्षकले परीक्षा दिन नपाउने भन्दै गत साउन १६ गते आयोगले सूचना जारी गरेको थियो ।

‘निमावि. स्थायी भएका शिक्षकहरु २०७५ असार २९ मा सम्पन्न कार्यरत शिक्षकहरुको परीक्षामा सम्मलित भएका भनी आयोग समक्ष पर्न आएको उजुरी अनुसार निवेदकहरुको परीक्षा रद्द गरिएको’ आयोगले सूचना जारी गरेपछि सोलुखुम्बुका शिक्षक मदन राईसहित ८ जनाले साउन २५ गते मुद्दा दायर गरेका थिए ।

मंगलबार भएको सुनुवाईमा बरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेल, बरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए । मंगलबार कार्यालय समय सकिएकाले अदालतले गरेको उक्त अन्तिम फैसलाको आदेश बुधबार मात्रै लिखित रुपमा प्राप्त गर्न सकिने अधिवक्ता खतिवडाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७