डा.केसी र कांग्रेसको जोडिएको घाँटी

-राजेन्द्र अर्याल

लामो समयपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेस कहिले डाक्टर गोविन्द केसी ढाडमा टेकेर सरकारलाई हान्ने प्रयास गर्छ त कहिले कांग्रेसका पूर्व सभापतिहरुको नाममा संसदमा बितण्डा मच्चाईरहेको देखिन्छ । कांग्रेसका पछिल्ला गतिबिधिहरुले बिगतको शान्ति प्रक्रियाको कोर्सबाट पछाडि फर्कन चाहेको त होइन भन्ने प्रश्न उब्जाएको छ ।

नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले नै प्रमुख प्रतिपक्षका रुपमा अनसनरत डा. केसीलाई उभ्याएपछि अनसनको अन्तर्य पनि खुलासा भएको छ । यससँगै केसीले चिकित्सा बिधेयकसँग कुनै सरोकार नभएको द्वन्द्वकालीन मुद्दाहरु उठाउनु र कांग्रेसले केसीलाई प्रमुख प्रतिपक्षको रुपमा ब्याख्या गर्नु संयोग मात्र हुने कुरै भएन ।

बृहत शान्ति सम्झौतादेखि तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकार गठनका बेला कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सम्झौताले शान्ति प्रक्रियाको बाटो अङ्गालेको थियो । तर, पछिल्ला दिनमा नेपाली कांग्रेस शान्ति प्रक्रियामा भएको सम्झौता बिपरीत जानुले सत्तामा नहुनुको छटपटाहट सहजै देख्न सकिन्छ । के कांग्रेसले शान्ति प्रक्रियाको अहिलेको कोर्सलाई बदल्न खोजेको हो त ? यो प्रश्नको जवाफ कांग्रेसले दिन जरुरी छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत डा. गोविन्द केसीले इलाममा १६ औं पटक अनसन शुरु गरेपछि यसको पक्ष–विपक्षमा जनमत देखिएको छ । यसअघिका अनसनमा डा. केसीका पक्षमा देखिएका राजधानीका ठूला मिडियाहरुदेखि नागरिक समाज र फेसबुके जमात यो अनसनमा रक्षात्मक अवस्थामा देखिएका छन् ।

सादगी ब्यक्तित्वका रुपमा विम्व बनाएका डा. केसीले १६ औं पटक अनसन शुरु गर्दा उनको वेदाग देखिएको विम्व पनि धमिलो हुँदै गएको छ । डा. केसीलाई देवत्वकरण गर्दै अन्धभक्त रुपमा ‘भगवान’ कै रुपमा विम्व लिई उनले बोलेको कुरा अकाट्य एवम् सरकार, संसद र संविधान भन्दा माथि हुनुपर्ने जस्तै गरी अघि सार्ने काम पनि यो बीचमा भयो ।

यसले एकातिर डा. केसीको महत्वकांक्षा बढाई दिने काम त ग¥यो नै त्यससँगै भीडले नियानिसाफ गर्ने जस्तो गैरप्रजाताान्त्रिक अभ्यासतर्फ पनि धकेल्ने प्रयास हुनपुग्यो । यसअघिका अनसनमा करीब–करीब एकलौटी स्थान बनाएका केसी १६ औं अनसनसम्म आईपुग्दा उनका समर्थकहरुको स्वर कमजोर बनेको देखिन्छ किन ? नेपालको चिकित्सा शिक्षा क्षेत्रको सुधार र परिवर्तनको नारा बोकेर अभियन्ताका रुपमा देखापरेका डा. केसीका पछिल्ला अभिव्यक्तिहरु अशोभनीय र विवादयुक्त रहे ।

एउटा वौद्धिक ब्यक्तिले मुलुकका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका नेता, सांसदप्रति दिएको अभिब्यक्ति अत्यन्तै अपमानजनक, आपत्तिपूर्ण र अशोभनीय देखिन्छ । यो अभिब्यक्ति उकुस–मुकुस ढङ्गले भित्रबाट धुँवा ओकले जसरी डा. केसीले ओकले । त्यसमाथि सत्तारुढ दल नेकपा अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई अत्यन्तै निकृष्ट ढङ्गले लाञ्छना लगाउँदै प्रमुख विपक्षी दलका नेताले जस्तै गरी उनीहरुसँग लड्ने अभिब्यक्ति दिए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका सन्दर्भमा केसीले उठान गरेका विषय सरकार र केसीबीच भएका सहमति अनुरुप चिकित्सा शिक्षा विधेयक तयार हुँदा पनि उनी असन्तुष्ट रहनुले केही शंका उब्जाएको छ । साथै केसीले बिधेयकको कुन–कुन बुँदामा असहमति हो त्यो पनि स्पष्ट पारेका छैनन् । त्यस कारण पनि उनको नियतमा शंका गर्ने धेरै आधार छन् ।

केसीले मेडिकल कलेजलाई सम्बन्धन दिन दवाव दिने र कलेज स्थापना गर्न आशयपत्र दिने नेपाली कांग्रेसका तत्कालीन शिक्षामन्त्रीको नाम उच्चाहरण गर्न समेत सकेका छैनन् भने काठमाडौं विश्वविधालयका तत्कालीन उपकुलपति सुरेशराज शर्माको पालामा मापदण्ड बिपरीत सम्बन्धन दिएका मेडिकल कलेजहरुको बिषयमा पनि केसी मौन छन् । यसले पनि केसी कम्युनिष्टप्रति पूर्वाग्रही भएको पुष्टि गर्दछ ।

हुन त डा. केसीको निशानामा सदैव नेपालका कम्युनिष्ट पार्टीहरु पर्दै आएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेका बेला अनसन बस्दा पनि केसीको प्रहारको निशाना नेकपा एमाले र माओवादी केन्द्र नै हुन्थ्यो । सरकार हुँदैनथ्यो । अहिले त नहुने कुरै भएन । विधेयकले चिकित्सा शिक्षालाई पारदर्शी, सदैव पहुँचमा हुने गरी, गैरनाफामुलक ढङ्गले सञ्चालन र राज्यको लगानी बढाउने कुरालाई आत्मसात गरेको छ ।

एकातिर यही वहानामा नेकपाको सरकारमाथि सुनियोजित ढङ्गले आक्रमण गर्ने देशी–विदेशी शक्तिहरुको बढ्दो चलखेल, नेपालमा भएको राजनीतिक परिवर्तन र संघीयतालाई असफल पार्न राष्ट्रिय राजनीतिलाई धमिल्याउन कुत्सित मनसाय राखेका तत्वहरुको कदमलाई केसीका पछिल्ला अभिब्यक्ति र अभियानले प्रत्यक्ष वा परोक्षरुपमा सघाइरहेको छ ।

अर्कातिर केसीको अभियानका खम्बाका रुपमा क्रियाशील ब्यक्तिहरुको शंकास्पद गतिविधिले कतै यो अभियान नेकपा, सरकार, संसदसँगै सिङ्गो शासन प्रणाली सिध्याउने षड्यन्त्रको तानाबाना त होइन भन्ने प्रश्न उब्जाएको छ । किनकी १२ बुँदे सम्झौतापछि यसको विपक्षमा रहेको एउटा तत्व वा पक्ष माओवादीलाई मारेरै ठेगान लगाउने, कांग्रेस एमालेलाई सडकबाटै नउठ्ने गरी पछार्ने र रजाईं गर्ने ध्याउन्नमा छँदै थियो ।

अहिले पनि नेकपा र यो सरकारप्रति वितृष्णा फैलाउने, शासन ब्यवस्थाप्रति नै अनादर फैलाउने र स्थिरता र समृद्धिको दिशातर्फ अघि बढेको मुलुकलाई अस्थिरता, पछौटे र संक्रमणपूर्ण बनाउने तत्वहरुको औजार वा गोटीको रुपमा केसीको अभियान नबनोस् भन्ने चिन्ता र चासोको विषय हो ।

प्रतिक्रिया दिनुहोस्