कांग्रेस र वाम गठबन्धनबीच झडप, ४ जना घाइते २ को अवस्था चिन्ताजनक


१३ मंसिर २०७४, बुधबार
Nabalpur Jhadap
Nabalpur Jhadap
तस्वीर: विजय चालिसे

कावासोती: चुनाव प्रचार अभियान सकेर घर फर्कदै गरेका वाम गठबन्धनका कार्यकर्ता माथि मंगलबार राति आक्रमण भएको छ ।

नवलपुरको मध्यबिन्दु नगरपालिका–६ बरुवामा नेपाली कांग्रेस मध्यविन्दु नगर इकाइ सभापति दोमनबहादुर भण्डारीको नेतृत्वमा कोल्हुवाबाट गएको टोलीले आक्रमण गरेको एमालेले बताएको छ ।  झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन् । धारिलो हतियार प्रहारबाट तीनै जनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् ।

घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ । भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ । एमालेका घाइते कार्यकर्ताहरुको मध्यविन्दु अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको एमाले नवलपुरले जनाएको छ ।

नवलपुर प्रहरी प्रमुख दिपेद्र जीसीका अनुसार दुई पक्षबीच झडप भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नवलपुर र चोरमाराबाट सशस्त्र प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिएका थिए । थप झडप हुन नदिन रातभर प्रहरीले सो क्षेत्रमा गस्ती गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७