नियोजित मोेर्चाबन्दी भइरहेको बेला कुनै नेता रमिता हेरेर बस्न मिल्दैन : योगेश भट्टराई

अन्तर्वार्ता

चिकित्सा शिक्षासम्बन्धी विधेयक प्रतिनिधिसभाले पारित ग र्‍यो । विधेयक हेर्दा निकै राम्रो देखिन्छ । तर, प्रतिपक्षी दल र अनशनरत डा. गोविन्द केसी लगातार विरोधमा छन् नि ?
-यो नियोजित विरोध हो । विगतमा उहाँसँग भएका सहमति बमोजिम नै चिकित्सा शिक्षासम्बन्धी विधेयक आएको छ । तपाईंले के बुझ्नुस भने उहाँसँग भएका सहमतिका भाषा, अक्षर जस्ताको तस्तै राखेर विधेयक ल्याएको भए पनि उहाँलाई पुग्दैन ।

किनभने मुलुकमा कम्युनिष्ट पार्टीको सरकार छ । यो सरकारलाई बदनाम गर्नु, यो सरकारलाई असफल बनाउनु, सामाजिक अभियन्ताको नाममा सरकारविरोधी मोर्चा कस्नु गोविन्द केसीजीको उद्देश्य हो । अरु कतिपयको पनि उद्देश्य छ, उहाँ त्यसमा परिचालित हुनुहुन्छ । १६औँ अनशन यो बाहेक अरु कुनै कारणले भएको छैन । उहाँले भने पनि नभने पनि हामीले विधेयकमार्फत स्वास्थ्यक्षेत्रमा आमूल परिवर्तनका कुरा ल्याएका छौँ ।

त्यसो भए, दुईतिहाइ बहुमतको सरकार किन रक्षात्मक देखिएको हो ?
सरकारको चरित्र नै प्रतिरक्षात्मक हुन्छ । सरकार ज्यादा ‘एग्रेसिभ’ हुन पनि हुँदैन । किनकी सबैलाई मिलाउने उसको दायित्व हुन्छ । त्यसहिसावले सरकार समन्वयकारी पनि हुनुपर्छ । अहिले त्यही भूमिका सरकारले खेलिरहेको हो ।

तर, सिंगो पार्टी चैँ यो प्रकरण वा सरकारका अन्य कामकारबाहीको पनि प्रतिरक्षामा देखिँदैन, नेताहरूबाटै सरकार सञ्चालन, पार्टी सञ्चालनका विषयमा असन्तुष्टिहरू आएको सुनिन्छ नि ?
यसमा केही कुरा छन् । केन्द्रमा पार्टी एकता भयो, तर लामो समयसम्म तहगत पार्टी कमिटी, मोर्चा संगठनहरूको एकता हुन सकेन, जसका कारण पार्टी सिथिलतामा गइरहेको छ । भरखरै सकिएको स्थायी समितिको बैठकमा हामीले यो कुरालाई गम्भीरताका साथ उठायौं । गहन छलफल पनि भयो र एउटा कार्यदल पनि बन्यो । तर, त्यो कार्यदलले पनि काम गरिरहेको छैन ।

पार्टीमाथि, सरकारमाथि र नेपाली समाजमाथि नै जसरी आक्रमण भइरहेका वेला पार्टीभित्रको एकतालाई सुदृढ गर्नुपर्ने र पार्टीलाई संगठनात्मक हिसावले क्रियाशील बनाउनुपर्ने ऐतिहासिक जिम्मेवारीबाट हाम्रो पार्टी अध्यक्ष÷प्रधानमन्त्री कमरेड केपी शर्मा ओली किन पछि हट्दै हुनुहुन्छ, किन चुकिरहनुभएको छ, मलाई आश्चर्य लागेको छ । म यसमा उहाँको एकदमै धेरै उदासिनता देख्छु ।

यो उदासिनता, पार्टीको सिथिलताले प्रतिपक्षी दललाई बल मिलेको भनिन्छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सडक आन्दोलन गर्ने धम्की दिन थालेको छ नि ?
-केपी ओली नेतृत्वको यो सरकार हाम्रो पार्टीले बनाएको सरकार हो । जनताबाट जनअनुमोदित सरकार हो । यो सरकारका केही कमजोरी होलान्, त्यसमा हामीले पार्टीभित्र पनि समीक्षा गरेका छौँ । तर, यतिबेला सरकारका सामान्य कमजोरी मात्रै उठाइएको छैन कि प्रतिपक्षी दलको बेञ्चबाट ‘हामी सरकारलाई सडकबाटै हटाइदिन्छौँ’ भनेर जसरी अभिव्यक्तिहरू आएका छन् । त्यसभित्र केही न केही योजना लुकेको स्पष्ट हुन्छ ।

जननिर्वाचित सरकारलाई सडकबाटै हटाइदिन्छौँ भन्ने अभिव्यक्ति सामान्य होइन । यसले नेपाली कांग्रेस कुन बाटोमा जान खोजिरहेको छ । समाजलाई कता लैजान खोलिरहेको छ भन्ने कुरा देखाउँछ । यस्तो बेलामा प्रधानमन्त्रीका अथवा सरकारका सामान्य कमजोरीलाई आधार बनाएर पार्टी नतमस्तक भएर बस्न मिल्दैन । कुनै नेता रमिता हेरेर बस्न मिल्दैन ।

त्यसअर्थमा केपी ओलीसँगका थुप्रै असहमतिका बाबजुद प्रधानमन्त्रीको, सरकारको र आजका राजनीतिक उपलब्धिको रक्षा हुनुपर्छ भनेर म चैँ दृढताका साथ लडिरहेको छु । तर, म फेरि पनि भन्छु, संगठनात्मक मामलामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीले जुन उदासिनता र कमजोरी देखाइरहनुभएको छ, यो कमजोरी र उदासिनताको मूल्य सायद हामीले धेरै चुकाउनुपर्छ ।

पछिल्लो स्थायी समितिको बैठकमा गम्भीर समीक्षापछि पार्टी एकताका बाँकी कार्यभार पूरा गर्न कार्यदल बनाइएको थियो । तर, कार्यदलले पनि काम गर्न सकेन भनेर यहाँ स्वयम् भनिरहनुभएको छ । के कति कारणले कार्यदलले काम गर्न सकेन ?
हामीलाई नेपाली जनताले युगिन जिम्मेवारी दिएका छन् । यसमा असफल हुने हामीलाई छुट छैन । यो सफल हुने एउटै शर्त छ, पार्टीभित्र अभूतपूर्व एकता । त्योभन्दा अर्को शर्तबाट यो सफल हुन सक्दैन । इतिहासले त्यो युगिन अभिभारा पूरा गर्ने जिम्मेवारी मेरो काँधमा सुम्पिएको छ भनेर कमरेड ओलीले गौरव मान्नुपर्ने र दायित्व बोध गर्नुपर्ने हो । तर, मलाई आश्चर्य लाग्छ यो ऐतिहासिक दायित्वलाई उहाँले बुझिरहनुभएको छैन । पार्टीभित्रको एकतालाई निर्माण गर्ने क्रममा, पार्टीका सबै नेतालाई एकताबद्ध गरेर सामूहिक ढंगले अहिलेका चुनौति सामना गर्ने कुरामा उहाँ एकपछि अर्को चुकिरहेको म देख्छु । त्यसकारण उहाँलाई मेरो विनम्रतापूर्वक निवेदन छ, तपाईं पार्टीभित्रको सांगठनिक काम कारबाहीको सन्दर्भमा जुन बाटो हिँड्न खोजिरहनुभएको छ, त्यो बाटोले सही ठाउँमा पु¥याउँदैन । बाटो बदल्नुस् ।

पार्टी एकतापछि यहाँहरू दुईअध्यक्षात्मक प्रणालीमा जानुभयो । तर, अर्का अध्यक्ष पनि निस्कृय देखिनुहुन्छ । यो सिथिलता आउनुमा अर्का अध्यक्षको पनि त केही न केही दायित्व रहला नि ?
-पार्टीलाई गतिशील बनाउन अर्का अध्यक्ष कमरेड प्रचण्डको दायित्व पनि उत्तिकै छ । एउटा अध्यक्षको बढी, अर्को अध्यक्षको कमी भन्ने छैन । दुवैको समान दायित्व छ । उहाँले पनि त्यो तहको गम्भीरता देखाउनुपर्छ भन्ने मलाई लाग्छ । म माओवादीकै अध्यक्ष हुँ भन्ने हिजोकै आँखाबाट अब उहाँले पनि हेर्न छोड्नुपर्छ । उहाँ नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष हो ।

त्यसो हुँदा पार्टीभित्रको आन्तरिक एकतालाई ध्यान दिँदै, पार्टीभित्र शक्ति संघर्ष नचर्कियोस् भन्ने कुरामा सचेत हुँदै उहाँले पार्टी संगठनको जुन सिथिलताको अवस्था छ, जुन सुन्यताको अवस्था छ, त्यसलाई चिर्न र सिंगो नेपाल कम्युनिष्ट पार्टीलाई मजबुत र एकताबद्ध बनाउन उहाँबाट अझै ज्यादा भूमिकाको अपेक्षा म गर्छु । दुईवटा अध्यक्षबीचमा ज्यादै धेरै समन्वय र तालमेल तथा एउटै ‘भ्वाइस’ आवश्यक छ । म फेरि पनि भन्छु, पार्टीभित्र अनावश्यक खालको शक्ति संघर्ष बन्न दिनु हुँदैन ।

सरकार तानाशाही बन्दैछ भनेर प्रतिपक्षी दल भन्दैछ । यो फरक हो कि ऊ आफैँ सडकबाटै सरकार फाल्छौँ पनि भन्दैछ, जुन लोकतान्त्रिक अभिव्यक्ति होइन । तैपनि प्रतिपक्षी पार्टीको आरोपलाई कसरी चिर्नुहुन्छ ?
हाम्रो पार्टी र सरकार सम्पूर्ण लोकतान्त्रिक मूल्यमान्यतालाई अंगिकार गरेर आएको सरकार हो । योसँग संवैधानिक हिसावको ‘लेजिटिमेसी’ छ । जनअनुमोदित भएको हुनाले त्यो वैधानिकता पनि छ । यो सरकार र पार्टीले संविधानको सर्वोच्चतालाई स्वीकारेको छ । कानुनी राज्यलाई स्वीकारेको छ । नेपाली जनताको सार्वभौमसत्ता जो संसद्मार्फत अभ्यास हुन्छ, त्यसलाई हामीले स्विकार गरेका छौँ । खुला समाज, प्रेस स्वतन्त्रता, मानवअधिकार, व्यक्तिका व्यक्तिगत स्वतन्त्रताहरू सबैप्रति हाम्रो पूर्ण सम्मान छ ।

हामी जे निर्णय पनि संविधानलाई शिरमा राखेर, संसद्को सार्वभौमसत्तालाई ख्यालमा राखेर गर्छौं । एउटा लोकतान्त्रिक सरकार र पार्टी चल्ने विधि यही नै हो । कांग्रेसले हामीलाई अधिनायकवादी, तानाशाही जे जे भने पनि यो विधिबाट हामी विचलित हुँदैनौँ । कांग्रेसमाथि प्रतिवाद गर्ने नाममा हामी उत्तेजनामा आएर अर्कोबाटो समाउँदैनौँ । यही बाटोबाटै हिँड्छौँ । यो बाटोबाट जाँदा पार्टीहरूका बीचमा प्रतिस्पर्धा हुन्छ । आवधिक निर्वाचन हुन्छ । पछिल्लो निर्वाचनपछि हामीले करिब एक वर्ष बिताएका छौँ । अब चार वर्षपछि अर्को चुनावमा जानु छ । र, पहिलो वर्षमा नीति कार्यक्रम, बजेट बनाउँदा जे जस्ता कमजोरी भए, जनताका अपेक्षाहरू जति मात्रामा सम्बोधन हुनुपथ्र्यो त्यति भएन ।

आउने वर्षको बजेट, नीति कार्यक्रममा त्यसबाट भएको क्षतिसमेत परिपूरण हुने गरी हामी अगाडि बढ्छौँ । कांग्रेससँग हाम्रो भनाइ यत्ति छ, हामीले उसलाई जिम्मेवार प्रतिपक्षी दलका रूपमा हेरेका छौँ । उसले पनि यो भूमिका निर्वाह गर्न नभुलोस् ।

निर्वाचनबाट कांग्रेसले नसोचेको परिस्थिति सिर्जना भयो होला । तर, त्यसलाई कम्तीमा बाँकी चार वर्ष सहनुबाहेक अरु विकल्प छैन । चार वर्षपछि चुनावी मैदानमा अवश्य पनि हाम्रो भेट हुनेछ । को असल, को खराब भनेर फेरि पनि जनताले फैसला गर्नेछन् ।

योगेश भट्टराई

पार्टी एकताअघि यहाँ तत्कालीन नेकपा एमालेको केन्द्रीय सचिव हुनुहुन्थ्यो । महाधिवेशनबाटै एमालेले कार्यकारी पदका निम्ति उमेर हदको मापदण्ड तय गरेको थियो । यसले पार्टी अर्को पुस्तामा हस्तान्तरण हुने बाटो खोले पनि थियो । तर, पार्टी एकतापछि फेरि यी सबै कुरा हराए नि, किन ?
हराएको छैन । युवा नेतृत्वको कुरा हाम्रो पार्टीमा पहिलेदेखि उठ्दै आएको छ । फेरि पार्टीमा हामीले प्रतिस्पर्धा र पहलकदमीबाट नेतृत्व स्थापित गर्ने भनेका छौँ । त्यसो हुँदा युवा साथीहरू पनि प्रतिस्पर्धाबाटै आउनुपर्छ । पहलकदमीबाटै आउनु पर्छ । कुनै नेताको कोटामा परेर हामी युवा हौँ भनेर जखमले जुल्फी हल्लाउनुले नेता भइँदैन । नयाँ पुस्ता पार्टी नेतृत्वमा पुगेको छैन भन्ने हुँदै होइन । हाम्रो पार्टी क्रमश पुस्तान्तरण हुँदै गएको छ । लगभग पहिलो पुस्ताले पार्टीबाट अवकास लिइसकेको अवस्था छ । पहिलो पुस्ता भन्नाले २००७ सालको क्रान्तिको सेरोफेरोबाट स्थापित भएको पुस्ता हो । त्यसमा भरतमोहन अधिकारी जस्ता केही जीवित नेताहरू केही हुनुहुन्छ, तर उहाँहरू पनि सकृय राजनीतिमा हुनुहुन्न । २०१८ सालपछि नेपालको कम्युनिष्ट आन्दोलनमा आएको विभाजनसँगै उदाय भएका नेताहरूको एउटा पंक्ति हामीसँग छ । त्यो विशेषगरी २०२७, ०२८ सालको झापा विद्रोहको सेरोफेरोमा उदय भएको नेतृत्व छ । र, त्यही झापा विद्रोहको सेरोफोरोमा चिनियाँ सांस्कृति क्रान्तिको विषयलाई हेर्ने दृष्टिकोणमा विभाजित भएको कम्युनिष्ट आन्दोलनको दुई अलग अलग धार अहिले फेरि एक ठाउँमा आएको छ । त्यसो हुँदा दुवै धारको त्यसबेला नै उदय भएको नेतृत्व अहिले छ ।

चाहे केपी ओलीको कुरा गर्नुस् चाहे प्रचण्डको कुरा गर्नुस् । अथवा, हिजो पार्टी चलाउनुभएका माधवकुमार नेपाल, झलनाथ खनालको कुरा गर्नुस् । उहाँहरू त्यही सेरोफेरोको नेतृत्व हो । आज गौरवका साथ हामी भन्छौँ, हाम्रो पार्टीमा २०३६ सालको विद्यार्थी आन्दोलनले स्थापित गरेका र त्यसपछि विद्यार्थी आन्दोलनबाट खारिएर परिस्कृत हुँदै आएका सशक्त ‘मास लिडर’ हरूको एउटा ठूलो पंक्ति आज पार्टीको केन्द्रीय कमिटीमा छ ।

संसद्मा छ र पार्टीका तहगत कमिटीमा छ । मलाई लाग्छ, हाम्रो पार्टीप्रति जनआकर्षण पैदा गर्ने कुरामा त्यो पुस्ताले उल्लेख्य भूमिका खेलेको छ । उता, माओवादी साइडबाट हेर्ने हो भने, हिजो माओवादीको सशस्त्र बलपूर्वक क्रान्तिको बेलामा कठिन कठिन मोर्चाहरूमा आफूलाई अब्बल सावित गरेका कमान्डरहरू जो उमेरले युवा हुनुहुन्छ, उहाँहरूको भूमिका त्यहाँ पनि सशक्त थियो र आज एकीकृत पार्टीमा पनि हामीसँगै छौँ । त्यसो हुँदा यो पार्टीमा नेतृत्व हस्तान्तरणको समस्या छैन । त्य

सो हुँदा पार्टीभित्रको अन्तरसंघर्ष, गुटबन्दीको चरित्र पनि परिवर्तन हुँदै जानुपर्छ । हिजो नेताहरूको कारणले गुटहरू बने । नेताहरू बलिया बलिया भए त्यसकारणले नेतालाई आधार बनाएर गुटहरू बने । हामी पनि कुनै नेताको पछि लाग्यौँ, अर्का साथी अरु कुनै नेताको पछि लाग्नुभयो । अब यो परम्पराको अन्त्य हुन्छ र हुनुपर्छ । माओवादीतर्फ हरेक मोर्चामा भूमिका खेलेको र सफल हुँदै आएका अब्बल साथीहरू र हिजोको एमाले साइडमा पनि हिजोको जोखिमपूर्ण काममा नेतृत्व गर्दै आएका युवा पंक्तिको बीचमा सहकार्य हुन आवश्यक छ र पार्टीको भविष्य पनि त्यही हो ।

अब सिंगो पार्टी र देशको जिम्मेवारी युवाको काँधमा आउँदैछ भन्नेमा यहाँ आशावादी हुनुहुन्छ ?
मलाई लाग्छ, हाम्रो पार्टीको आउने महाधिवेशन छिट्टै भयो र उहाँहरूले आउन चाहनु भयो भने एक कार्यकाल फेरि पनि अहिले नाम चलेकै नेताहरू पार्टीको प्रमुख जिम्मेवारीमा आउन सक्नु होला । म जोड गरेर भन्दैछु, यदि उहाँहरू आउन चाहनु भयो भने । तर, मेरो भनाइ के हो भने, अब केपी कमरेड र प्रचण्ड कमरेडले पनि अवकासको बाटो लिनुपर्छ । मैले यो सुझाब धेरै अघि नै दिएको हुँ । मेरो सुझाब धेरैलाई मन प र्‍यो ।

केपी कमरेडलाई पनि असाध्यै मन प र्‍यो, प्रचण्ड कमरेडलाई पनि असाध्यै मन प¥यो । तर, केपी ओली र प्रचण्ड भएनन् भने हामी कहाँ जानु, टुहुरा हुन्छौँ कि भन्ने केही साथीलाई मन परेन र उहाँहरू प्रधानमन्त्रीलाई कुरा लगाउन पनि गए कतिपय । ती साथीहरू देखेर मलाई दया लाग्छ । हामी नयाँ ढंगले जाऔँ न ।

केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल यो स्तरका नेतालाई एउटा सम्मानजनक ठाउँमा राखौँ । अभिभावकको रूपमा, संरक्षकको रूपमा राखौँ । उहाँहरूका नीति निर्देशन, उहाँहरूले प्राप्त गर्नुभएका सफलताका अनुभवहरू हाम्रा निम्ती अमूल्य छन्, ती अमूल्य अनुभवलाई पनि सम्मान गर्दै अब क्रमशः पार्टी नयाँ पुस्ताबाट नेतृत्व गर्ने हिम्मत गर्न सक्नुपर्छ । यसो भनिरहँदा मैले अहिले नेतृत्वमा रहेको पुस्तालाई अपमान गर्न खोजेको होइन ।

उहाँहरूको योगदान, उहाँहरूको भूमिका नभएको भए हामी सायद अहिलेको अवस्थामा आउने थिएनौँ । इतिहासमा उहाँहरू दर्ज भइसक्नुभएको छ । भोलि मैले इतिहास लेख्दा, ‘थेसिस’ लेख्दा केपी, प्रचण्ड, माधव, झलनाथलाई नभेटी त्यो पूर्ण हुन सक्दैन नि ।

वर्तमान विश्व राजनीतिलाई नियाल्ने हो भने थुप्रै देशमा युवा पुस्ताले शासनसत्ता चलाइरहेका छन् । हाम्रो मुलुकको सन्दर्भमा राजनीतिकको एउटा ‘कोर्स’ अहिलेको नेतृत्वसम्म आउँदा पूरा भयो । अब विकास र समृद्धिको ‘कोर्ष’ नयाँ पुस्ताको काँधमा आयो भने सहज रूपमा र तीव्रतामा सम्पन्न हुन सक्छ कि ?
विगतमा हाम्रा दुवै पार्टीभित्र असाध्यै धेरै छलफलहरू हुन्थे । हाम्रो जत्तिको उच्चस्तरको छलफल सायद अरु कुनै पार्टीभित्र हुँदैनथ्यो । तर, पछिल्ला दिनमा पार्टीभित्र छलफल, विमर्श, अन्तरसंवादको परिस्थिति अलिकति घट्दै गएको छ । त्यो वातावरण बनिरहेको छैन । यसपटकको स्थायी समिति हामी झन्डै दुई हप्ता बस्यौ ।

त्यहाँ फेरि छलफलको पुनरावृत्ति भएको छ, यसले मलाई खुसी तुल्याएको छ । यसले हामीलाई परिस्कृत नै गर्छ भन्ने लाग्छ । अब राजनीतिक कोर्स सकियो, विकासको कोर्समा जाऔँ भन्ने कुरा सुन्दा एकदमै सुन्दर र प्रिय कुरा हो । तर, त्यो एकअर्कासँग अन्योन्याश्रित हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्दछ । विकास बिनाको राजनीतिक र राजनीति बिनाको विकास कता जान्छ र त्यो ? त्यो विकासलाई राजनीतिले नै दिशानिर्देश गर्नुपर्ने होला नि ? त्यसैले यी सँगसँगै जान्छन् ।

हामीले सोभियत युनियनको विघटनबाट गम्भीर पाठ सिकेका छौँ । महाशक्ति राष्ट्रसँगको प्रतिस्पर्धाको नाममा सरकार, पार्टीलाई जसरी सीमित व्यक्तिहरूको घेराबाट चलाउन खोजियो र आमजनता त्यसबाट टाढिँदै गए, हुन त सोभियत युनियनले ठूलठूला संरचना बनायो । अन्तरिक्षमा यान पठायो । त्योभन्दा ठूलो उपलब्धि के हुन्थ्यो ? आज पनि विश्वको एउटा ठूलो अर्थतन्त्र हो । त्यति ठूलठूला उपलब्धि हिजोको सोभियत कम्युनिष्ट पार्टीकै कार्यकालमा भएको हो । तर, पार्टी र सत्ता जनतासँग अलग्गिँदै जाँदा त्यही सत्ताले निर्माण गरेका संरचना पनि आफ्नो सत्ता रक्षाका निम्ति उभिन सकेन । त्यसकारण खोक्रो राजनीति अथवा तथाकथित विकास यी दुवै कुरा मात्रै हामीले भन्यौँ भने त्यसले हामीलाई टुंगोमा पु र्‍याउँदैन । त्यसैले आज हामी नेपाल कम्युनिष्ट पार्टीले जुन बाटो लिएको छ, त्यो सही बाटो छ ।

राजनीतिक क्रान्तिको एउटा कोर्स पूरा भएको हो, राजनीतिको सम्पूर्ण च्याप्टर समाप्त भएको होइन । अब राजनीतिक क्रान्तिको अर्को कोर्स सुरु भयो । त्यो भनेको यो राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि रक्षा गर्दै नेपाली समाजमा भएका सामाजिक, आर्थिक विभेद हटाउँदै, न्युन गर्दै सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि नै हाम्रो बाटो हो ।

यो हाम्रो सरकारको बाटो हो, हाम्रो पार्टीको बाटो हो । हामी जे गर्छौं यो लक्ष्य पूरा गर्न बल पु¥याउनका निम्ति गर्छौँ । सामाजिक असमानतालाई यथावत राखेर हुने विकासले आम सर्वसाधारण जनता र मध्यम वर्गलाई छुन सक्दैन । जो हाम्रो पार्टीको निम्ति सबैभन्दा धेरै महत्व राख्ने वर्ग हो, त्यो वर्गलाई सँगै लगेर नै समृद्धि हासिल गर्ने हो । मेरो विचारमा हाम्रा प्रधानमन्त्री यो कुरामा स्पष्ट हुनुहुन्छ ।

दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्