अष्ट्रेलियामा पानी जहाजमा काम लगाई दिने भन्दै २९ लाख ठग्ने घले जेल चलान


१५ माघ २०७५, मंगलवार

काठमाडौं, १५ माघ । ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन् ।

jel

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका ललितपुर महानगरपालिका–१३ का हेमबहादुर घलेलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले आजै उनलाई कारागार चलान गरेको हो । घलेलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतले ठगी मुद्दामा अघिल्लो वर्ष नै उनलाई रु नौ लाख ८६ हजार जरिवाना र छ महिना कैद हुने ठहर गरेको थियो । उक्त सजाय बेरुजू रही भागी फरार हुँदै आएका घलेलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका जावलाखेल, ललितपुरबाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो ।

आफन्त विदेशमा रहेको भन्दै उनले अष्ट्रेलियामा पानी जहाजको कामका लागि प्रतिव्यक्ति मासिक एक हजार ८०० अमेरिकी डलर पारिश्रमिक पाउने आश्वासन दिएर प्रलोभनमा पारी रकम ठगी गरेका थिए ।

अष्ट्रेलिया जान प्रतिव्यक्ति रु आठ लाख ५० हजार खर्च लाग्छ भनी आकर्षक वैदेशिक रोजगारको प्रलोभनमा पारी पैसा ठगेको भन्दै २०७१ साल भदौमा उनीविरुद्ध अदालतमा जाहेरी परेको थियो । उनले चार जनाबाट रु २९ लाख ६२ हजार ५०० ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७