‘डा.केसीको माग स्वास्थ्यमन्त्री हुँदा गगन थापाले किन पुरा गरेनन् ?’


प्रा.डा.ऋतुप्रसाद गड्तौला नेपालमा नाम चलेका स्वास्थ्य विज्ञानका अध्यापक र वरिष्ठ चिकित्सक हुन् । लामो समय त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान एवं शिक्षण अस्पतालमा जागिर खाएका उनी केही समय अगाडि सेवानिवृत्त भएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन नियुक्तिको विषयमा पहिलोपटक डा.गोविन्द केसी अनशन बस्दा त्रिविले डिन छनौट समिति गठन गरेको थियो, जसका संयोजक थिए, डा.गड्तौला । उनीसहित डा.सुरेश बास्तोला र हरिदर्शन श्रेष्ठको समितिले सिफारिस गरेका डिनप्रति पनि डा.गोविन्द केसी सहमत भएनन् । र, अनशनको श्रृंखला विभिन्न नाममा चल्दै गए । अहिले पनि डा.केसी अनशनमै छन् ।


प्रा.डा.ऋतुप्रसाद गर्तौला
पूर्वनिर्देशक, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)

० सरकारले डा. गोविन्द केसीको माग कसरी पूरा गर्ला ?
– सरकारले पहल गर्ने होइन, आफैँले जे गर्ने हो, गर्ने ! के डा. गोविन्द केसीले अनशन बस्दा सरकारलाई सोधेर बसेका हुन् ? सोधेनन् नि ! आफ्नो खुशीले बसेका हुन् । खालि नचाहिने–नचाहिने माग थप्दै र फलानोले ‘राजीनामा दे’ भन्दै जानुले मुलुकमा मभन्दा शक्तिशाली अरु कोही जन्मिएको छैन भन्ने दर्शाउँछ । केसीले उठाएको मागमध्ये केही अत्यन्तै संवेदनशील छन् । तर, अनशनैपिच्छे नचाहिने, नचाहिने मागहरु थप्नाले भोलि कुनै पनि संस्था खोल्न बन्देज लाग्ने देखिन्छ ।


अनशनकै क्रममा प्रधानमन्त्रीमाथि विज्ञप्ति नै निकालेर लाञ्छना लगाइएको छ । यसमा के भन्नुहुन्छ ?
– यो उहाँको बचपना हो । विज्ञप्तिमा आफ्नो स्वास्थ्यको बारेमा पनि केही बोल्नुभएको छ । मागहरु थप्दै र बालहठझैँ ‘मेरो माग पूरा गरे गर, नत्र…’ भन्दै दाह्रा किटेर अनशन बस्दा, स्वास्थ्य बिगिँ्रदा अब के गर्ने हामीले ? भोक हड्ताल बसें भनिएको छ । तर, रहस्यमय । पत्रकार जाँदा उठेर गफ गर्ने । तर, अरु जाँदा मरेजस्तै गरेर लम्पसार पर्ने ।

यो नौटंकी नभएर के हुनसक्छ ? मुलुक कुनै व्यक्तिको निजी वस्तु होइन । एउटा सरकारी कर्मचारीले प्रधानमन्त्रीलाई त्यसरी लाञ्छना लगाउँदै गर्दा तुरुन्त कारबाही हुनपथ्र्याे । तर, भएन । यस विषयमा गृह मन्त्रालयले सोच्नु पर्छ । सरकारले पनि हाल्नै नपर्ने खालका विधेयकहरु हालिदिएको छ । दश वर्षसम्म मेडिकल कलेज नखोल्नुपर्ने रे ! के उसोभए खोलामा लगेर मेडिकल चलाउने त ? आठ सय विद्यार्थी, पढाउने डाक्टर कताबाट जोहो गर्ने ? यस्ता नचाहिँदो उपद्रो काम गरेर हुन्छ ?
उसोभए के गर्दा हुन्छ त ?
– जहाँ बढी जनसंख्या छ, त्यहाँ मेडिकल कलेज चलाइनुपर्छ । वर्षेनी मेडिकल कलेजको नाउँमा अर्बाैं रकम विदेशतिर गइरहेको छ । अब, आफ्नै मुलुकमा चलाउँछु भन्दा किन रोक लगाउनु ? के होला हाम्रो हालत ? त्यसैले डा. केसीको मागअनुसार गइयो भने यो क्षेत्रको सुधार केही पनि हुँदैन । हो, व्यवस्थापनको खाँचो छ, त्योचाहिँ सरकारले बुझ्नुपर्छ ।

० चिकित्सा शिक्षा विधेयक पढ्नु त भयो होला । त्यसका राम्रा र नराम्रा पक्ष के–के हुन् ?
– यो विधेयकमा त्यस्तो नराम्रो केही छैन । तर, अति गरियो र बढी नौटंकी पनि भयो । कलेजको फी तोक्ने, आयोग तोक्ने र विश्वविद्यालयको अधिकार काट्नेलगायतका मागहरु यो विधेयकमा उल्लेख छन् । दश वर्षसम्म मेडिकल कलेज नखोल, फलानो–फलानो ठाउँमा खोल भन्दै दादागिरी देखाउनु कतिसम्म जायज हो ? म फेरि भन्छु, यस्तो अधिकार डा. केसीलाई दिइनु हुँदैन थियो ।

० मेडिकल माफियाको जञ्जालमा परेको सरकार कि डा. केसी ?
– यी जम्मै माग अस्ति नै सल्टिइसकेको थियो । तर, उहाँलाई पर्दापछाडि गगन थापाहरुको समूहले बोकिरहेको छ । बोक्नेले बोकेपछि बोकी नमाग्ने त कुरै भएन ।

अहिलेचाहिँ प्रष्ट हुन्छ, डा. केसीको चर्तिकला देख्दा । बिहान ९ बजे कुखुराको मासुसित भात खाने, अनि १० बजेदेखि पाँच बजेसम्म भोक हड्ताल बस्ने ! यस्तो नक्कली अनशन कतै हुन्छ ? वरिपरिका केही मान्छेले खाएको देख्ने, दुनियाँले यो भोकै छ, भोकै मर्ने भयो भनेर चिन्ता लिइदिनुपर्ने ?

० बिरामीको उपचार नै प्रभावित हुने गरी अनशन बसिएको छ नि !
– त्यो त गर्नै हुँदैन ! जबकि त्यसो गर्नु अन्याय हो भन्दै सर्वाेच्च अदालतले आदेश दिइसकेको छ । यस्तो अवस्थामा पनि अस्पतालभित्रै भोक हड्ताल बसेर मुलुक डुबाउन खोजिएको अवस्था हो । यसो गर्दा मेडिकल माफियाहरुलाई पनि कति कमिशन खुवाइएको छ, त्यो अत्तोपत्तो छैन ।

हामीकहाँ असत्य बढी बिक्छ, सत्य पछि मात्र थाहा हुन्छ । अनि हामी झस्याङ्ग हुन्छौँ । यद्यपि, वार्ता गर्ने विषयहरु पनि छैन । हो, अर्काेतिर नराम्रा छवि भएका फलानोलाई निकाल भन्ने माग ठीक हो । त्यो काम सरकारले जसरी पनि गर्नुपर्छ । र, नयाँ, पारदर्शी र छरितो थिती बसाल्नुपर्छ । यस्तो कुरामा सबैले सहमति जनाउन सकिन्छ ।

० यतिका समयसम्म डा. केसीको माग पूरा नहुनाको भित्री कारणचाहिँ के होला ?
– माग पूरा गर्छौं भन्ने वातावरणले झन् काम बिग्रियो । ‘चिकित्सा सेवा’ होइन ‘स्वास्थ्य सेवा’ भन्नुपर्छ । यहींनेर गल्ती छ । योभित्र एमबिबिएस र बिबिएसका कोर्षहरुमात्र अध्यापन हुँदैन । कहिले सिटिइभीटी खारेज गर भन्ने, कहिले के–के विषयमा लफडा झिकेर देश उँभो लाग्छ ? अहिले हामीकहाँ स्वास्थ्य क्षेत्रमा म्यानपावर कम छ, यहाँबाट विदेश पढ्न गएका छन् ।

यहाँ पढेका कोही पनि विद्यार्थी असक्षम छैनन् । बरु, बाहिरबाट आएकाहरु यहाँ फेल भएका छन् । त्यसैले डा. केसीले भनेजस्तो यो क्षेत्रको क्वालिटी नै छैन भन्नुको अर्थ के हो ? दायाँबायाँ कहिँ कतै, केही नबुझी यस्ताखालका अनर्गल कुराहरु गरेर हुन्छ र ! हामीले देशभरका मेडिकल हेरेकै छौँ । राम्रै छ । कुरा सुन्दा मै पनि छक्क पर्छु । कांग्रेस आफू पनि फसिसक्यो, यो मुद्दाले ।

० स्वास्थ्यमन्त्री गगन थापाको पालामा गोविन्द केसीको माग पूरा नगर्नुको कारणचाहिँ के होला ?
– यहाँ देख्नेलाई लाज भएको छ । त्यतिबेला स्वास्थ्यमन्त्री गगन थापा हुँदा पनि यिनै डा. केसी अनशनमा थिए । तर, माग पूरा भएन । त्यसो हुँदा पनि गगनलाई चुनाव जिताइदेऊ भन्दै भाषण गर्न पनि जानुभयो । गगन थापा डा. केसीको अनशन स्थलमा पुगेर बचन दिए । तर, माग पूरा गरिदिएनन् । अहिले उनी आफैँ हिरो बनिरहेका छन् । भातृ संगठन नेविसंघ र महिला संघलाई उचालेर नचाहिँदा कामहरु गरेका छन् । पार्टीभित्र के मिलेन र उनले यतातिर नजर डुलाए । यो युगमा राजनीति भनेकै यस्तै रहेछ ।

० डा. केसीलाई डिन बनाए यो क्षेत्रको सुधार हुन्छ भन्ने पनि चर्चा छ नि !
– अब लम्पसार भएर, उत्तानो परेर सुतेकै भरमा यो क्षेत्रको सुधार हुन्छ कसैले भन्यो भने म त पत्याउँदिन । फेरि उहाँलाई तानेर डिन बस्नुस् भनिए पनि मान्नुहोला जस्तो लाग्दैन ।

० यो आन्दोलनमा चलिरहेका मेडिकल कलेजहरुको पनि स्वार्थ छ भन्ने गरिन्छ । वास्तविकताचाहिँ के हो ?
– उनीहरुलाई कोटाभरि विद्यार्थी पुगेकै छ । अझ प्रतिस्पर्धामा गएर माथि उक्लिन खोज्दा यस्तो नचाहिँदो बबण्डर मच्चाइयो ।

० कांग्रेसका नेताको नाम र लगानीमा मेडिकल कलेज खोलिएका छन् । तर, मनमोहन अधिकारीको नाममा मेडिकल कलेज खोलिएपछि यस्तो बबण्डर मच्चिएको हो भन्छन् नि !
– मनमोहन मेडिकल कलेज खोल्न सबै प्रक्रिया पूरा गरियो । तर, त्यहाँ केही वामपन्थी धारका व्यक्तिहरु भएसँगै अनेक बवण्डर मच्चाइयो ।

बीपी, गिरिजाप्रसाद कोइरालालगायतको नाममा मेडिकल कलेज खोल्दा कुनै आपत्ति नहुने । तर, उनीहरुजस्तै एउटा विभूतिको नाममा मेडिकल कलेज खोल्दा कलंक हुने ? यो कलेज खोल्दै गर्दा अर्र्बाैँ खर्च लाग्यो, हेर्नुस् त अहिले राजेन्द्र पाण्डेहरुलाई, मर्नु न बाँच्नु भएको छ । यसरी शुरुमा हात्ती आयो, हात्ती आयो भनियो तर अन्तिममा फुस्सा ।

० सरकारी अस्पतालमा विरामीको विश्वास घट्दै जानु र निजीतर्फ बढ्दै जानुको कारण के देख्नुहुन्छ ?
– सरकारी अस्पतालमा काम गर्ने शैली नै ठीक छैन । विभिन्न नियम, उपनियम र शाखाहरुमा बाँध्ने नियम बनाइएका छन् । तर, निजी अस्पतालमा त्यस्तो झण्झट छैन । बढी नै शुल्क लिए पनि सुविधासम्पन्न तरिकाले बिरामीको चेकजाँच र उपचार गराउँछ । केही समयसम्म ४२ देखि ५२ लाख तिरेर पढेका विद्यार्थीले सरकारी स्वास्थ्यसेवामा छिरेर पढाई खर्च पनि उठाउन नसक्ने स्थिति थियो । तर, अहिले त्यो स्थितिमा सुधार भएको छ ।

वीर अस्पतालदेखि अन्य अस्पतालहरुको सुधार हुँदै गएको छ । मुटुरोगीहरुले टिचिङको मनमोहन कार्डियोलोजी भास्कुलर सेन्टर र गंगालाल अस्पताल खोज्ने, सुत्केरीले सकेसम्म प्रसुती गृह, पाटन अस्पताल खोज्ने भनेको सरकारी सेवा र चिकित्सकप्रतिको भरोशा पनि हो । त्यसैले सरकारी अस्पताललाई बिरामीमैत्री बनाउनैपर्छ । दुःख दिइनु हुँदैन ।

० डाक्टरहरु दुर्गम भेगमा गएर काम गर्न नचाहने, सुगमै चाहिने । त्यसमाथि निजी क्लिनिक खोलेर ग्राहक लुट्ने मनोबृत्तिले बास गरिरहेको छ भनेर धेरै डाक्टरले भन्नुहुन्छ । यो कति सत्य हो ?
– अहिले सुगम जिल्ला काठमाडौँ, विराटनगर, नेपालगञ्जमै डाक्टरको अभाव छ । यसरी जनशक्ति नै अभाव भएपछि दुर्गममा जाने इच्छा कसले राख्छ र ? राम्रो डाक्टर नै उत्तानो परेर सुतेपछि कसरी यो क्षेत्रको सुधार हुन्छ ? अनि, सबै जनशक्ति भारतको बिहारबाट मगाएर स्वास्थ्य सेवा दिइँदै आइएको छ । यसमा पनि कोही सक्कली, कोही नक्कली छन् । चेकजाँच केही भएको छैन । उनीहरुको योग्यता कस्तो छ ? कस्तो पढाइ छ ? क्वालिटी कसले जाँच्ने ? यस्तो अवस्थामा आगोमाथि घ्यु हालेझैँ देशको स्वास्थ्यसेवाको क्वालिटी नै छैन भनेर लम्पसार पर्ने ?

विदेशी उपचारको भर नपरी स्वदेशमै उपचार गर्न सकिने रोगहरु कुन कुन हुन् ?
– नेपालमै सबै रोगको उपचार सम्भव छ ।

० उच्चपदस्थहरु स्वदेशमै उपचार सम्भव हुँदाहुँदै पनि विदेश हुइँकिनाको कारणचाहिँ के हो ?
– त्यो अरुलाई देखाउने सामन्ती चरित्र हो । अरुलाई देखाउनका लागि ‘म त बैंकक, सिंगापुर’ पुगेर आएको भनेर गाउँमा धाक लगाउनुबाहेक अरु केही होइन । कुन अस्पतालमा के रोगको निदान हुन्छ ? त्यही थाहा नपाएर बाहिर करोडौँ रकम बुझाउँछन् ।

० स्वास्थ्य सेवातर्फको सुधारका लागि सरकारले गर्न नसकेको कामचाहिँ के हो ?
– सरकार पिपिटी (पब्लिक पार्टनरसीप) मोडलमै जानुपर्छ । किनकि यो क्षेत्र धेरै ठूलो लागत लाग्ने ठाउँ हो । स्वास्थ्य सेवा क्षेत्रलाई बिबिएस र एमबिबिएसको चस्माले मात्र हेरिनु हुँदैन । मुख्य कुरा, गोविन्द केसीसँग सरकारले घुँडा नटेकोस् । अनशनकै क्रममा केही भइहाल्यो भने त कसको के लाग्छ र ! सुतेर सबै माग पूरा हुने भए सबैले डा. केसीझैँ सुतेरै बालहठ राख्थे ।

जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्