‘विरामीको ज्यान पनि डा.केसी जत्तिकै महत्वपूर्ण छ, उपचारमा अबरोध अपराध हो’


१७ माघ २०७५, बिहीबार
Ram Uperti

अन्तर्वार्ता


प्रा.डा. रामप्रसाद उप्रेती महाराजगञ्ज मेडिकल कलेजका पूर्व क्याम्पस प्रमुख हुन् । क्याम्पस प्रमुख छदा राम्रो सुधारका कामहरु गरेका प्रा.डा उप्रेती अहिले पनि त्यही कार्यरत छन् । चिकित्सा सम्बन्धीका शिक्षा सुधारका लागि लामो समयदेखि काम गरिहेका छन्, डा।उप्रेतीले । तर, उनी कार्यरतस्थलमा अनशन बसिरहेका उनकै सहकर्मी डा। गोबिन्द केसीले उठाएका अजेन्डासँग उनी सहमत छैनन् । डा।केसी चिकित्सा क्षेत्रको सुधारको लागि नभई राजनीतिक अजेन्डा लिएर हिडेको उनको दाबी छ । डा.केसीको कारण त्रिवि शिक्षण अस्पताल धरायसी बन्दै गएको उनको आरोप छ । प्रा.डा.उप्रेतीसँग गरिएको कुराकानी :

डा. गोविन्द केसीको लगातारको अनशनका बाबजुद प्रतिनिधिसभाले चिकित्साशास्त्र शिक्षासम्बन्धी विधेयक पारित गरेको छ, यसलाई कुन रूपमा लिनुभएको छ ?
– अहिलेको सरकारको र अहिलेको संसद्को यो मुभमेन्टलाई हार्दिक स्वागत गर्न चाहन्छु । यस्तो बोल्ड निर्णय अलि अगाडिका सरकारहरूले पनि गरेर अघि बढ्नुपथ्र्यो । अनशन कुनै पनि समस्याको समाधान होइन ।

अस्पतालमा डाक्टरले अनशन बसेर वा एक किसिमले भन्दा इमोसनल ब्ल्याकमेलिङ गरेर च्याँखेमा पारेर लिइने कदम गलत थियो । तर, योभन्दा अघिका सरकारहरू लुरुक्क पर्ने गर्थे । त्यहाँनेर मेडिकल एसोसिएसनको दादागिरी थियो ।

त्यसकारण अनशन सुन्दै गर्ने र सम्झौतामा जाने, पुर्‍याउनै नसकिने मागहरूमा सम्झौता गरिने चलन चल्यो । तर, यसपटकका निर्णयका खातिर म नेपाल सरकार, संसद र सम्पूर्ण सांसदज्यूहरूलाई यो विधेयक पारित गर्नुभएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

Ram Uperti
प्रा.डा रामप्रसाद उप्रेती


० तर तपाईंहरूको छाता संस्था नेपाल मेडिकल एसोसिएसनले नै विरोध गरिरहेको छ नि ?
– यो बोल्ड निर्णयबाट हामी चिकित्सकहरू ज्यादै खुसी भएका छौं । नेपाल मेडिकल एसोसिएसनले राजनीतिक पूर्वाग्रह राखेको छ । हामी त्यो पूर्वाग्रही कदमको पनि विरोध गरेका छौं ।

म पनि मेडिकल एसोसिएसनको आजीवन सदस्य हुँ । म देशैभरिका चिकित्सकहरूलाई के विनम्र अनुरोध गर्छु भने ती बिरामी थिएनन् भने तपाईं–हामी डाक्टर हुन सक्दैनथ्यौं । तिनीहरूले जाँच्न दिएर, अप्रेसन गर्न दिएर नै आज हामी डाक्टर भएका हौं ।

त्यसैले हामीले कसैलाई मान्नुपर्छ भने बिरामीलाई मान्नुपर्छ । डाक्टर पढिन्जेल बिरामी जाँच्ने, बिरामी जाँच दिएको बापतबाट डिग्री दिने अनि पास भएर आइसकेपछि एउटा कोही व्यक्ति रहरले अनशन बसेको छ भन्दैमा त्यसका नाममा आफ्ना सेवाहरू बन्द गर भन्छ भने यसमा घोर आपत्ति छ । त्यसो गर्न पाइँदैन । गोविन्द केसीको जस्तै अरू विरामीको पनि ज्यान उत्तिकै हो ।

आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने भन्ने त्यो नाटक हो । अन्त्यमा इमरजेन्सी पनि प्रभावित हुन्छ । ओपीडीका बिरामीको लोड एमरजेन्सीमा जान्छ । इमरजेन्सीमा पनि हुन सक्दैन । त्यसबेला जे पनि हुन सक्छ । यो गम्भीर कुरा छ । यहाँ मेडिकल हकहितको कुरा आएको छैन ।

० डा. केसीसँग पहिले सरकारका तर्फबाट गरिएको सम्झौता तोडेर यो विधेयक पारित गरेको भन्दै प्रतिपक्षी दलले पनि तीव्र आलोचना गरेको छ नि ?
– यहाँ केही पनि सम्झौता तोडिएको छैन । बुझाइमा भएको गल्ती हो । उहाँहरूले आफ्नै किसिमको व्याख्या गर्नुभएको छ । पहिलो कुरा त मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने यस किसिमका सम्झौताहरू गरिराख्नुपर्ने जरुरी थिएन ।

अस्पतालमा अनशन बस्छन्, जबकि सर्वोच्च अदालतले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनशन बस्नुहुँदैन भनेर परमादेश जारी गरिसकेको छ । कानुनको उल्लंघन गर्दै कोही मान्छे अनशन बस्छ भने त्यस्ता मान्छेलाई त्यहाँबाट मुन्ट्याउनुपथ्र्यो । अस्पताल भनेको बिरामी जाँच्ने ठाँउ हो । चिकित्सकहरूको पठनपाठन गर्ने ठाउँ हो । त्यहाँ अनशन बस्न दिइयो, त्यो हामीलाई चित्त बुझेकै थिएन ।

prof. dr. Ramkumar upriti



० तर त्योबेला केही बोल्नुभएन त ?
हामी बोल्न सक्ने अवस्था नै थिएन । बोल्यो कि माफिया भनेर डाम्ने अनि केही बिग मिडिया हाउस र अरु ‘सो कल्ड’ केही मानवअधिकारकर्मीहरूको एकोहोरो पेलान थियो ।

० स्पष्ट भनिदिनुस् न ती को–को थिए ?
अस्ति इलाममा को–को जानुभएको थियो, स्पष्ट नै छ नि ! दमन ढुंगानाजीहरू, सुशीला कार्कीजीहरू, सुन्दै छु अनमिनका इयान मार्टिनहरू पनि पुग्नुभएको रहेछ । नेपाललाई कमजोर पार्ने निश्चित डिजाइनबाट यो खेल चालिएको रहेछ ।

नेपालका प्रमुख संवैधानिक निकायहरूलाई कमजोर पार्ने, मानमर्दन गरिदिने, अस्पतालमा अनशन बसेर ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश माफिया हो, त्यसलाई निकाल्छु’, ‘प्रधानमन्त्री माफिया हो, त्यसलाई निकाल्छु’ भन्ने यस्तो अराजक किसिमको गतिविधि भइराखेको छ जुन गतिविधि हामीलाई पटक्कै चित्त बुझेको थिएन । मैले त अनशनको आठौंपटकदेखि टेलिभिजनमा सार्वजनिक रूपमा बोलेर अनशन छारस्ट पारिदिएको हुँ । र, यो अनशन पनि होइन ।

० किन अनशन होइन भन्नुभयो ?
-अनशन होइन नि । यो अनशनको नाममा नक्कली अनशन हो । मजासँग बेडमा बस्ने, डिप लगाएको छ, भिटामिन्सहरू गएको छ, माइक्रोन्युटिन्सहरू गएको छ, मोनिटरीङ भएको छ, सबै डक्टरहरू, नर्सहरू वरिपरि राखेर मजासँग इन्टरनेट हेरेको छ ।

यस्तो पनि अनशन हो । त्यसलाई अनशन भनिन्छ ? अस्पतालको आइसीयू बेड भनेर गम्भीर बिरामीहरूका लागि हो । रहर गरेर बस्ने कोही डाक्टरका लागि होइन त्यो । उहाँलाई त प्रोटेक्सन छ ।

० गोविन्द केसीका मागबारे चाहिँ के प्रतिक्रिया छ ?
-उहाँले मागहरू थप्दै लानुभएको छ । जनयुद्धका फलानालाई कारबाही गर, निर्मलाको हत्यारा पत्ता लगा भन्छ भने राजनीतिक कुराहरू उहाँले ल्याउनुभएको छ । त्यही राजनीतिक कुराका पछाडि यदि मेडिकल एसोसिएसन जान्छ भने सो एसोसिएसनको अहिलेको लिडरसिपमा हाम्रो प्रश्नचिह्न खडा हुन्छ ।

राजनीति नगरौं, आफ्नो व्यवसायीकताभन्दा बाहिर नजाऔं । यदि यस्तो संस्थामा बसेर पार्टी विशेषका लागि राजनीति गर्नुहुन्छ भने यो एसोसिएसन खारेज हुनुपर्छ । काम छैन यसको । विशुद्ध व्यावसायिक भएर मात्रै बस्ने हो यसमा ।

० डा. केसीलाई लोभलालच नगर्ने, सादगी भन्छन् त ?
– त्यो होइन । भनाइ मात्रै हो । अहिलेका विग मिडीयाहरूले देखाएको भ्रम हो । हो, उहाँले बिहे गर्न सक्नुभएन । उहाँले घर व्यवहार जोडन सक्नुभएन । त्यो उहाँको कमजोरी होला, मलाई थाहा छैन । उहाँले मास्टर डिग्री स्कलरसिपमा बंगलादेशमा पढेको हो ।

यदि उहाँ नैतिकवान् हुनुहुन्थ्यो भने त्यतिखेरको स्वास्थ्य मन्त्रालयले उहाँलाई जिल्लामा खटाउन खोज्दाखेरी भागेर हिँडनुभएको हो । त्यसो हुनाले उहाँले त्यो पैसा नेपाल सरकारलाई तिर्नुप र्‍ यो । भागेर टिचिङ हस्पिटलमा आउनुभएको हो उहाँ । खै त उहाँको नैतिकता ? अर्थोपेडिक सर्जन हो उहाँ ।

अहिले सिटामोल बाँड्दै खोला तरेका, लौरो टेकेका तस्बिरहरू निकाल्नुहुन्छ उहाँ । उहाँलाई इमोस्नल ब्ल्याकमेल गर्छु र यसरी सेलिब्रेटी पल्टिन्छु भन्ने लागेर योजना बनाएर नै उहाँले त्यसरी फोटा खिच्दै हिँडनुभएको रहेछ ।

देशमा थुप्रै यस्ता डाक्टरहरू छन्, जसले धेरै उदाहरणीय कामहरू गरेक छन् । कसैले पनि यसरी फोटो खिचेर रेकर्ड राखेका छैनन् । किनभने, डाक्टरको काम भनेको सेवा गर्ने हो, त्यसैका लागि हामी पढ्न आएका हौं ।

त्यसकारण कुनै पनि हिसावले उहाँ राजनीतिक ढंगले आइरहनुभएको छ । उहाँ के हो भन्ने कुरा उहाँको राजनीतिक पृष्ठभूमि पनि हेरौं । उहाँलाई मान्छेले निहित स्वार्थका लागि गोटी बनाएका छन् र उहाँ गोटी बन्नमा पनि मजा मान्नुहुन्छ ।

चुनावमा त सिधै गगन थापालाई भोट हाल । कांग्रेस ठीक हो भनिसक्नुभएको थियो । उहाँ कम्युनिस्टलाई देखिसहनुहुन्न । कम्युनिस्टको दुई तिहाइ बहुमत भएको हुनाले उहाँलाई जलन भएको छ ।

० त्यसो भए प्रतिपक्षी पार्टी कांग्रेसले उहाँलाई आगोको भुग्रोमा हालेर राजनीतिक दाउपेच पूरा गर्न खोज्दै छ ?
– स्पष्ट हो नि । गोविन्द केसीजस्तालाई देखाएर विवेकशील साझा पार्टीजस्ता आएका हुन् नि ! अहिले बाबुराम भट्टराईजी पनि त्यहाँ मलजल गर्न पुग्नुहुन्छ । अहिले कांग्रेस पनि एजेन्डाविहीन भएको छ ।

धेरै जस्तो सरकार उसैले बनाएको हो, आफ्ना पालमा भुत्लोभाङ केही गर्नु छैन । देशका कलकारखाना, उद्योगधन्दा सबै माटोमा मिलाइएका छन् । यो कम्युनिस्ट सरकारले केही राम्रो काम गर्ला र ५० वर्षसम्म सत्ता नआउला भन्ने कुराको छटपटी हो त्यो ।

० राज्यबाट तलब खाइरहेको कर्मचारीलाई सरकारले पनि अलि पेल्न नसकेको हो कि ?
– हो , पेल्नुपथ्र्यो । त्यसरी राज्यको काम नगरी सरकारको तलब खाएर सरकारलाई नै गाली गर्न उनले मिल्दैनथ्यो । उनले पहिलोपटकको अनशनको पहिलो दिनबाटै बिदा लिनुभएको छ ।

उहाँलाई बोक्ने केही मिडिया हाउसहरू छन् । विदेशी शक्तिहरूको एउटा समूह रहेछ, जसले नेपाललई तजसनहस पार्ने । त्यसैले उनीहरूले डा. केसीलाई प्रभावित पारेका रहेछन् । हिरो पनि हुन पाइयो । मिडियाले पनि ‘हाइ’ भन्छन् ।

जताततै उनको क्रेज छ । उनले त यती धेरै बोल्न थाले कि अहिले त प्रधानमन्त्री निकाल्छु भन्छन् । अस्पतालको बेडबाट सर्वोच्चको न्यायाधीशलाई यो माफिया हो, यसलाई निकाल्छु भन्न सक्नेलाई कानुन लाग्दैन । यदि कानुन छ भने उहाँलाई तुरुन्तै हस्पिटलबाट निकालियोस्, उनको ठाउँमा बेड नपाउने बिरामीहरूलाई त्यसमा राख्न सकिन्छ ।

त्यो अनशन गर्ने ठाँउ होइन । त्यसमा गम्भीरतापसर्वक ध्यान दिनुपर्छ । सरकारले त्यहाँबाट उनलाई तुरुन्त निकालिदिनुप र्‍ यो । कहाँ लाने हो, लगे हुन्छ । तुरुन्त मानसिक अस्पताल लाने हो कि अन्यत्र लाने हो । इमोसनल ब्ल्याकमेल गर्न पाँइदैन । यो हाम्रो कुरा हो ।

० हिजो पनि डा. केसीको नाममा अर्को वक्तव्य आयो, यसलाई कसरी हेर्नुभएको छ ?
– उहाँलाई चलाउने एउटा गिरोह छ । त्योचाँही देख्दा बहुतै आदर्शवादी बन्छ । मेडिकल शिक्षा निःशुल्कको कुरा उठिरहेको छ ।

विधेयकमा १० वर्षपछि त नाफारहित ढंगले खुल्दैनन् । देशैभरि हरेक प्रदेशमा सरकारले खोल्न चाहिरहेको छ । त्यसमा पनि उहाँहरूलाई औडाहा भएको छ । कसरी अवरोध गर्ने भन्ने मात्र उनीहरूको ध्यान छ । चिकित्सा आयोग बनाउ भन्नुहुन्छ । तर विरोध पनि गर्नुहुन्छ । किनकि उहाँले भनेको मान्छे आयोगमा नपर्न पनि सक्छ ।

सरकारले आयोगमा कसलाई राख्छ, त्यसकारण त्यसलाई ठेल्न उहाँले यो काम गरिरहनुभएको छ । अनि उपत्यकाभित्र नदेऊ भन्छ । केसीले भनेका मागमा अरू मान्छेले किन घुँडा टेकेको ? मनमोहनको नामबाट आउन खोजेको कलेजलाई किन आशयको चिठी दिएको ?

व्यक्तिविशेषको मुनाफासहित भन्दा पनि त्यो सहकारीको अवधारणामुताबिक गर्न सजिलो थियो । किन नदिएको ? उहाँले नै घुँडा टेकाएको होइन ? त्यसमा घुँडा टेकाएपछि उहाँलाई आफूलाई आफुभन्दा मान्छे अरू राम्रो लागेन ।

अहिले डा. केसीको ध्यान पूर्वको बिएन्डसी र मनमोहन अस्पतालको कसरी रोक्ने भन्नेमै छ । उहाँले सिन्डिकेट खडा गर्नुभएको छ । हामीले त्यसलाई ब्रेक डाउन गर्नुपर्छ ।


० उहाँलाई आरोप लाएजस्तै माफियाको इसाारामा साँच्चै चलेका होलान् त, एक्लो मान्छेलाई के लोभलालच होला ? 
-उहालाई जता गएर जे गरे पनि हुनेजस्तो छ । उहाँलाई हेर्दा सिरियस डिप्रेसन भएजस्तो देखिन्छ । कसैलाई अन्य समूहलाई दुःख दिन खोज्दा मजा आउँछ । उहाँ त हिरो हुन पाउनुभएको छ । सत्रौ, अठारौं, बीसौं, पचासौं अनशन बस्दै यो मुलुक नै उहाँको हुन्छ । उहाँले अर्को कुरा राजनीति भयंकर नै गर्नुभयो नि त ।

अर्को साल त उहाँलाई चुनाव उठ्ने इच्छा पनि होला । जित्नुभयो भने मुलुककको प्रधानमन्त्री भए पनि भयो । तर उहाँले जसलाई माफिया भन्छुहुन्छ, त्योचाँही तत्कालै खोजी गर्नुपर्छ । अनशन कसरी सुरु भयो । उहाले डिन फलानोलाई नबनाऊ, फलानोले बनाऊ पनि भन्न भ्याउनुभयो ।


विगत ४४ वर्षदेखि म पनि त्यही कार्यमा छु । सबैतिर राम्रो पर्फर्मेन्स छ । म डिन हुन सक्ने एकदम मजाको मान्छे । तर उहाँलाई मजस्तो आउला कि भन्ने चिन्ता छ । म पनि ४३ वर्षदेखि संगसँगै छु । उहाँले भनेको डिनहरू आउँदै–जाँदै भए । विश्वविद्यालयले एउटा प्रक्रिया पु याएर योग्य मध्यकालाई डिन नियुक्त गर्ने हो । उहाँले भनेको मान्छे मात्र हुन्छ । उहाँले डिक्टेट गर्ने हो र ? हु इज हिम ?

उहाँको विर्ता हो चिकित्सा शास्त्र अध्ययन संस्थान ? त्यसकारण, यसचोटि उहाँलाई त्यहाँबाट निकाल्ने । चुनावमा जितेको छ भन्दैमा पब्लिकलाई इमोसनल ब्ल्याकमेल पनि गर्नुपर्दैन ।

आदरणीय देशभरिका बिरामीहरू सबैलाई के अनुरोध गर्न चाहन्छु भने डाक्टरहरू सेवा ठप्प पार्न आन्दोलनको आह्वान गर्नुहुन्छ भने त्यस्ता डाक्टरहरूलाई ठीक स्थानमा ल्याउनुपर्छ । हुन्न भने तपाईंहरूले फेरि बिरामी छुन पाउँदिनँ भनेर आवाज निकाल्नुस् । एउटा संवेदनशील ठाँउमा बस्ने, अनि सक्दिनँ भन्ने ।

बुधबार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७