डा.केसीको आठ रेक्टर कम्पनमा योगेश भट्टराईको पराकम्पन


२१ माघ २०७५, सोमबार
rajendra aryal 2

डाक्टर गोविन्द केसीलाई १६ औं पटक अनसन बसाउँदा नेकपाको वहुमतको सरकारलाई आठ रेक्टरको भूकम्प ल्याएर उथल–पुथल बनाउने उद्देश्य थियो । अनसन सुरु गर्न अघि डा.केसीले भनेका थिए, ‘अब यिनिहरुलाई ठिक पारिन्छ ।’ नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डलाई राजा घोषणा गर्दै ढालीदिने बताएका थिए । यसको मतलब डा.केसी आफ्नो अनसनबाट दुईतिहाईको सरकारलाई उलटपुलट पार्न चहान्थ्थे । यसका लागि केसी पक्षीय कोठे बैठकदेखि विभिन्न होटलहरुमा भेला र मन्त्रणा भए । यसअघिका अनसनमा धेरैतिरबाट समर्थन पाएर हौसिएका केसी पक्षीयहरु १६ औं अनसनमा आईपुग्दा रक्षात्मक बन्न पुगे ।

Rajendra Aryal


२०६९ सालबाट शुरु भई १५ औं पटकसम्मको अनसनसम्म आईपुग्दा केसीका पक्षमा देखिएको जनलहर यो पटक उनीहरुले सोचे जस्तो भएन । डा. केसी अनसनको आवरणमा सरकारबिरोधी ‘धुँवा’ निकाल्ने प्रयासमा भए पनि अन्ततः बिफल हुन पुगेको छ ।

प्रश्नहरुको बीउ कसरी रोप्ने र फसल कसरी उठाउने भनेर सिकाउनेहरुको खेती चलिरहेका बेला केसीको अनसन भने फस्टाउन सकेन र केसी १६ औं अनसन स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगे, किन त ?

पहिलो कुरा त केसीले शुरुमा जुन अभियान चलाएका थिए, त्यो भन्दा बाहिर गएर आफ्ना मागहरु तन्काउँदै लगे । र, यो तन्काई द्वन्द्वकालीन घटनासम्म पुग्यो । जसले गर्दा उनलाई समर्थन गर्नेहरुमा शंका उत्पन्न भयो । यो मागले समर्थकहरुलाई केसीको अनसन कुनै अदृष्य ठाउँबाट फरक स्वार्थको निम्ति सञ्चालित त छैन ? भन्ने बिषयमा गम्भीर बनायो । चिकित्सा शिक्षा क्षेत्रका विकृति र विसंगतिविरुद्ध अभियान चलाएका केसी एकाएक संक्रमणकालीन न्यायको एजेण्डा लिएर देखा परे । जुन कुरा समर्थकको सोचाई भन्दा परको विषय थियो । यो कुराले केसीका मागमा समर्थन गर्दै आएको एउटा तप्का झस्कन पुग्यो ।

दोस्रो कुरा, अहिलेसम्म केसीले उठाएका मागका विषयमा सम्बोधन गर्ने चरणमै प्रवेश गरेको थिएन । केवल वार्ता र सहमतिमै सीमित थियो । अहिले केसीका माग सम्बोधन गर्ने घडी बन्यो । केसीले उठाएका मागहरु सम्वोधन गर्ने गरी संसदीय समितिले विधयक पारित गर्दा पनि केसीको अर्घेल्याई कायम रह्यो, केसीले बिरोध गरिरहे । तर, के–के विषयमा असहमति रह्यो उनले बताउन सकेनन् । नत संसदीय समितिले बोलाउँदा छलफल र अन्तरक्रियामा भाग लिए । एक किसिमले केसीबाट संसदको सर्वोच्चताको अपहेलना भयो । तापनि संसदले उनले उठाएका अधिकांश माग सम्वोधन गर्दै चिकित्सा शिक्षा विधेयक पारित ग र्‍ यो ।

तेस्रो कुरा, अहिलेसम्म केही समर्थकबाट देवत्वकरण गरिंदै आएका केसी १६ औं अनसनसम्म आईपुग्दा अनसनसँगै मागका बिषयमा पक्ष र विपक्षमा जमेर बहस हुन थाल्यो । केसीको १६ औं अनसनसँगै नेकपाका युवा नेता तथा सांसद योगेश भट्टराई एक्लो वृहस्पतिका रुपमा देखा परे । ‘एन्टी करेन्ट’ का रुपमा सांसद भट्टराई अगाडि बढेपछि अनसनको पक्ष–बिपक्षमा खरो बहस भयो ।
यसअघिसम्म डा.केसीको पक्षमा यस्तो माहोल र मनोविज्ञानको बनेको थियो, की डा.केसीको बिपक्षमा बोल्नु भनेको अपराध हो । उनी प्रश्नभन्दा माथिको देवता हुन् । डा.केसी र कांग्रेसले त्यही मनोविज्ञान र माहोलको जगमा सरकार र नेकपामाथि प्रहार गर्ने योजनामा थिए । तर, योगेश भट्टराईले प्रश्न मात्रै उठाएनन्, वहस गराए । प्रश्नहरुको उत्तर दिए । सुरुमा एक्लो वृहस्पतिका रुपमा देखा परेका योगेशले तमाम जोखिमहरु मोलेरै पार्टी र सरकारबिरोधी भूकम्पमा पराकम्पन पैदा गरे ।

जब केसी १६ औं पटक अनसन बस्ने तयारी गर्दै थिए तब सांसद भट्टराइले उनका माग संसदबाटै सम्वोधन हुने हुँदा अनसन नबस्न आग्रह गरे । भट्टराइको सार्वजनिक आग्रहपछि हच्किएका केसीले अन्ततः इलाम पुगेर अनसन शुरु गरे । सांसद भट्टराई पनि इलाम पुगेरै पत्रकार सम्मेलनमार्फत सत्य र तथ्य कुरा बाहिर ल्याउन लागिरहे ।

भट्टराईले केसीका मागका बिषयमा एक–एक केस्रा–केस्रा केलाउँदै सार्वजनिक गर्न थाले । योसँगै भट्टराईलाई साथ दिनेहरुको जमात बढ्न पुग्यो । केसी पक्षधरहरु रक्षात्मक अवस्थामा पुगे । त्यसपछि अनसनमा एकछत्र माहौल बनाउँदै आएका केसीका पक्ष र विपक्षमा खुला वहस भएको हो । युवाहरुमा राम्रो छवी र लोकप्रियता कमाएका सांसद भट्टराईले शुरुमा केसीका मागकाबिरुद्धमा जोखिम नमोलेको भए यो स्थिति देखापर्ने सम्भावना ज्यादै न्यून थियो । अनसनको आवरणमा सरकारबिरोधी भूकम्प ल्याउन खोज्नेहरुलाई सांसद भट्टराईको पराकम्पनले गतिलो झड्का दिन पुग्यो ।

चौथो कुरा, अहिलेसम्मका अनसनबाट प्राप्त समर्थनले गर्दा केसी उन्मुक्त देखिन्थे, पशुपतिको साँढे जस्तै । जुन कुराको पुष्टि केसीका पछिल्ला अभिब्यक्तिले दिन्छन् । मुलुकको प्रधानमन्त्रीको पदमा रहेका केपी ओली, सत्तारुढ दलका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा एवम् लोकप्रिय नेता योगेश भट्टराईलगायतका सांसदहरुप्रति केसीले दिएको अशोभनीय र आपत्तिजनक अभिब्यक्ति तथा शैलीले पनि केसीका समर्थकहरु पनि घट्न थाले ।

पाँचौ, पछिल्ला अनसनहरुमा केसीका प्रवक्ताका रुपमा नयाँ–नयाँ मानिसहरु देखापर्न थाले । पहिला पेशागत ब्यक्तिहरुले केसीका मागको वकालत गर्दै आएका थिए । तर, पछिल्ला दिनहरुमा शंकास्पद ब्यक्तिहरुको बोलवाला हुन थाल्यो ।

नेपालमा राजतन्त्र फर्काउने योजना बनाउनेदेखि पश्चिमा देशहरुको मानोचामल हसुर्नेसम्मका पात्र केसीका सारथीका रुपमा उदय भए । त्यति मात्र होइन यो वा त्यो कोणबाट विदेशमा चिकित्सा शिक्षा पढाउन पठाउने कन्सल्टेन्सी सञ्चालकहरु र निजी मेडिकल सञ्चालकहरुको भाषा केसीसँग मिल्न पुग्यो । यसले अनेक संशय पैदा गरायो । त्यसमाथि साद्गी नेता एवम् पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा स्थापना हुने स्वास्थ्य संस्थामाथि एकोहोरो ढङ्गले प्रहारको निशाना बनाएपछि केसीलाई समर्थन गर्ने धेरैको चेत खुलेको हो ।

केसीलाई प्रतिपक्षी दल नेपाली कांगे्रसले जुरुक्कै काँध हाल्ने, केसीले नेकपा र नेकपाको सरकारमाथि प्रहार गर्ने यो स्वभाविक हिसावले प्रत्युउत्पादक बन्न पुग्यो । के केसी भगवान हुन् र सबै कुरा उनले भने अनुसार हुनुपर्ने ? भन्ने वहस पनि हुन थाल्यो ।

छैंठौ, केसीका पक्षमा नागरिक समाजका अगुवाका नाममा जुन वक्तब्य आयो त्यसले पनि केसीको अनसन कहाँबाट सञ्चालित छ र अन्तर्य के रहेछ भन्ने रहस्यको पर्दा खोल्ने काम ग¥यो । कांगे्रस नेताको पहिचान बनाएकाहरुको भीडमा एक दुई–जना स्वतन्त्र देखिने ब्यक्तिको नाम समावेश गरेर वक्तब्य आयो । त्यसमध्ये कांगे्रसबाट निर्वाचनमा उम्मेद्वार बनेर पराजित भएका गोविन्द पोखरेल, कांग्रेसको सरकारका पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका स्वर्णीम वाग्ले, कांग्रेसद्वारा त्रिभुवन विश्वबिद्यालयमा उपकुलपति नियुक्त केदारभक्त माथेमा, निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेल, राजदूत जयराज आचार्य, गगन थापा स्वास्थ्यमन्त्री रहेका बेला सल्लाहकार बनेका डाक्टर रामेश कोइराला जस्ता पात्रहरुको संलग्नता र डिजाइनमा आएको वक्तब्य अनसनको आवरणमा नेकपा र नेकपाको सरकारको बद्नाम गर्नु र सरकारमाथि आक्रमण गर्ने उद्देश्य रहेको छर्लङ हुन पुग्यो ।

यी विविध कारणले नियोजित र प्रायोजित ढङ्गले शुरु गरिएको डा. केसीको १६ औं पटकको अनसन ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ मा परिणत हुन पुगेको हो । हुन त डा. केसीले उठाएका चिकित्सा क्षेत्र सुधारका धेरै माग बिधेयकमा रहेको छ । बिधेयक पारित हुनासाथ आफ्नो अनसन तोडेको भए यसको जस केही मात्रामा केसीले पाउने थिए । उनको लाइन अनुसारकै परिणाम आउँदा पनि अरुको उक्सावट हुँदा उनले यसको जस लिन पाएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७