फोरजी सेवा विस्तार गर्न खोज्दा थर्काउने र धम्क्याउने काम भयो : सञ्चारमन्त्री बास्कोटा


२२ माघ २०७५, मंगलवार
gokulbaskotathumb

काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले देशमा फोरजी सेवा विस्तार गर्ने कार्यमा संसदीय समितिहरुले नै अवरोध खडा गरिरहेको आरोप लगाएका छन् ।

gokulbaskotathumb

मन्त्री बास्कोटाले ६ वटाभन्दा बढी संसदीय समितिले फोरजी सेवा सञ्चालन गर्न नदिन तर्साउने, धम्क्याउने, हल्लाउने काम गरिरहेकोे भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन गर्न नदिएर कसको सेवा गर्न खोजेको भन्दै संसदीय समितिलाई प्रश्न गरे ।

फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भयो भनेर गलत आरोप लगाइएको दावी गर्दै मन्त्री बास्कोटाले त्यस्ता गलत खालको प्रचारसामु आफूले घुँडा नटेक्ने चेतावनी दिएका छन् ।

मंगलबार नेपाल टेलिकमको १५ औं वार्षिकोत्सव कार्यक्रमको काठमाडौंमा उद्घाटन गर्दै उनले नेपाल टेलिकमभित्रकै केही व्यवस्थापक र इन्जिनियरहरुले राति–राति आफ्नो घरको पोल अरुलाई लगाउँदै ‘देश द्रोही’ को जस्तो व्यवहार गरेको भन्दै सचेत रहन पनि आग्रह गरे । मन्त्री बास्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराए ।

मन्त्री बास्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई जनताको सेवामा समर्पित हुन पनि निर्देशन दिए । मुनाफा आर्जनलाई मुख्य लक्ष्य बनाएर अघि बढेको निजी क्षेत्रसँग जनताको सेवाका लागि समर्पित नेपाल टेलिकमको तुलना हुनै नसक्ने मन्त्री बास्कोटाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७