‘मैले देख्ने दुई विषय छन्, जनता र विकास’


१४ मंसिर २०७४, बिहीबार
Krishna lal maharjan

१२ वर्षकै उमेरमा विद्यार्थी राजनीतिमा सहभागी भई १५ वर्षको उमेरमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका कृष्णलाल महर्जनले आफ्ना जीवनका केही समय उद्योग र बाँकी सम्पूर्ण समय राजनीतिमा विताएका छन् । २०२८ सालमा आन्दोलनको अगुवाइ गर्दै गर्दा पक्राउ परि ६ महिना नख्खु जेलमा विताएका महर्जन आज पनि उत्तिकै सक्रिय हुनुहुन्छ । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार महर्जन पञ्चायतकालदेखी दोस्रो जनआन्दोलन सम्म ललितपुरको आन्दोलनको प्रणेताको रूपमा रहे । महर्जनको शालिनता सबै प्रतिपक्षीको लागि पनि एक अनुकरणको रूपमा हेर्न सकिन्छ । आसन्न निर्वाचनको सन्दर्भमा महर्जनका भावहरु उहाँकै शब्दमा :

Krishna lal maharjan

मैले जीवनको ५ दशक राजनीतिमा विताएँ । कम्युनिस्टको संस्थापन क्षेत्र ललितपुरमा उभिएर राजनीतिको गर्दाको अनुभवले सधैँ आफूलाई उचो महसुस गराइरहन्छ । मैले यस क्षेत्रमा आफ्ना मेहेनत र पसिना बगाएको छु । आफू उद्योगी हुँदा र राजनीतिमा आबद्ध हुँदा मैले राज्यलाई आर्थिक र राजनीतिक रूपमा गर्विलो बनाउन केही न केही भूमिका निर्वाह गरेको छु जस्तो लाग्छ ।
म २०५६ प्रतिनिधि सभाको सांसदको अनुभवले मलाई विकासको बाटोमा हिड्न सिकाएको छ । मैले देख्ने जम्मा दुई विषय छन् । एक जनता र अर्को विकास । हामी जुन स्थानमा बस्छौं त्यसको परिवर्तनले देश विकासमा पाइला कोर्ने हो । म सांसद हुँदा देश द्धन्द्धको भुमरीमा फसेको थियो । काम गर्ने वातावरण थिएन, त्यसमा वेलामा पनि म समन्वय र विकासकै सन्दर्भमा आफूलाई ढल्काए ।

जनता राजनीति प्रति नकारात्मक छन्, अबको निर्वाचनमा हाम्रो जितको केही समय पश्चात् नै जनतामा राजनीतिक विश्वास र आस्था बढ्ने गरी हामी काम गर्नेछौँ । राष्ट्रप्रतिको हाम्रो माया, आत्मनिर्भर हुने हाम्रो चाहाना र विश्व विकासको प्रतिस्पर्धामा अब्वल गराउन अव वाम गठबन्धनको सरकार बन्नुपर्छ ।

अहिले समय परिवर्तन भएको छ । हाम्रा राजनीतिक आन्दोलन पुरा हुने चरणमा छन् । अब संविधान कार्यान्वयनको केही विषय मात्र बाँकी छन् । त्यसैले सबैको एजेन्डा विकास मात्र हुनुपर्छ । मैले यस क्षेत्रमा संयुक्त बाम गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उम्मेदवारी दिँदा मुख्य एजेन्डा व्यवस्थित सहर नै हो । हामीसँग सबै विषय छन्, तर व्यवस्थापन छैन । साना कमजोरीले हामीलाई अब्यवस्थित बनाएको छ । त्यसैले विकसित, शान्त र समृद्ध सहरको रूपमा संसारभर ललितपुरको परिचय बनाउँन मैले उम्मेदवारी दिएको हुँ । हामीसँग पर्यटनको सम्भावना प्रचुर छ । अव यसको उपयोग हुनेछ । हाम्रा कलाकौशल र ललितकला संसारको ध्यान तान्ने चुम्बक हुन् । यो चुम्बकको आकर्षणलाई बढाउनुपर्नेछ ।
हामी हाम्रो क्षेत्रलाई शैक्षिक हवको रूपमा विकसित गर्न सक्छौँ । हाम्रा डाँडापाखामा विषयगत कलेज खोल्न सक्छौँ । बस यसको लागी सोच र योजना चाहिन्छ ।
तत्काल गर्नुपर्ने मैले केही योजनाहरू अघि सारेको छु । रिंगरोडको निर्माण छिटो गरी धुलोमुक्त बनाउन पहल गर्ने, यस क्षेत्रभित्रका सबै बाटोहरुलाई व्यवस्थित गर्ने, उक्त बाटोमा फुटपाथ बनाउने र हरियाली कायम गर्नमा प्रतिबद्ध छु । यसै गरी पुरातात्विक महत्वका बाटोमा ढुङ्गा छाप्ने र ढल व्यवस्थापन गर्ने, ऐतिहासिक मठ, मन्दिर र विहारहरुको संरक्षण र जिर्णोद्धार गर्ने विषयमा म गम्भीर छु ।
कति जनताको भूकम्पको आहत अझै शान्त हुन सकेको छैन । छानो नभएकालाई छानोभित्र ल्याउन मेरो पहलकदमी हुनेछ । यसै गरी महालक्ष्मी नगरपालिका तथा ललितपुर महानगरपालिकासँग मिलेर योजनाबद्ध रूपमा विकासको हरेक विषयलाई जनतासँग पुग्ने गरी देखिने गरी काम गर्नेछु ।
मैले आफू सांसद नहुदा पनि आफैले गर्न सकेका विषयलाई गर्ने र आफ्नो मातहतमा नभएका विषयमा समन्वय गर्ने, दबाब दिने कार्यमा सक्रिय भए । स्थानीय नेवारी परम्पराको उत्थानमा आफूलाई संलग्न गराएको छु । अबको निर्वाचनमा निर्वाचित भएपछि गर्ने भनेर हामीले बाम गठबन्धन क्षेत्र नम्बर २ ले घोषणापत्र पनि जारी गरेका छौँ । उक्त घोषणापत्रमा २४ वटा नीतिहरू सार्वजनिक गरेका छौँ ।
शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, पर्यटन, धर्म तथा संस्कृति, पूर्वाधार विका तथा ऊर्जा, युवा व्यवस्थापन तथा मानव शंसाधन, सूचना प्रविधि तथा सञ्चार, गैह्र सरकारी तथा समाजिक विकास व्यवस्थापन, सरसफाइ तथा वातावरण संरक्षण, उद्योग व्यवसाय, भाषा÷कला÷साहित्य र सम्पदा विषयका नीतिहरुमार्फत काम गर्ने योजना बनाएका छौँ । यसै गरी खेलकुद तथा मनोरञ्जन, सहकारी, सिंचाइ तथा खानेपानी, विपद् व्यवस्थापन, बस्ती विकास तथा सहरीकरण, लक्षित विकास कार्यक्रम, जेष्ठ नागरिक, महिला तथा बालबालिका, सुशासन तथा भ्रष्टाचार निवारण, भू–उपयोग, शान्ति सुरक्षा, प्रशासन तथा कर्मचारी र श्रोत व्यवस्थापन तथा परिचालन गरी जम्मा २४ वटा नीतिगत विषय निर्माण गरी यसैबाट बाम गठबन्धले आफ्ना कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नेछ ।

अबको निर्वाचनमा निर्वाचित भएपछि गर्ने भनेर हामीले वाम गठबन्धन क्षेत्र नम्बर २ ले घोषणापत्र पनि जारी गरेका छौँ । उक्त घोषणापत्रमा २४ वटा नीतिहरू सार्वजनिक गरेका छौँ ।

हामी पूर्ण योजनाका साथ निर्वाचनमा आएका छौँ । हाम्रो ध्येय जनताको विषयमा संसद्मा पु¥याउने, जनकेन्द्रित नीति बनाउने र उनीहरूको विकासको चाहानालाई पूर्ति गर्ने नै हो । यस क्षेत्र नम्बर २ हामी वाम गठबन्धनका उम्मेदवारहरु तिनै जना म, माधव जी र ज्ञानेन्द्र जीले इतिहासमा गरेका योगदानले हामीलाई विश्वास गर्न सक्नुहुन्छ । अझ मुख्य विषय भनेको अव हामीले पुराना विषयबाट सिक्दै भविष्य केन्द्रित हुनै पर्छ ।
अबको निर्वाचनमा वाम उम्मेदवारहरुले अत्याधिक बहुमतको सरकार बनाउँछन् र यसले जनताको निराशलाई आशामा परिवर्तन गर्न सक्दछ भन्ने मैले विश्वास लिएको छु । जनता राजनीति प्रति नकारात्मक छन्, अबको निर्वाचनमा हाम्रो जितको केही समय पश्चात् नै राजनीतिक विश्वास र आस्था जनतामा बढ्ने गरी हामी काम गर्नेछौँ । राष्ट्रप्रतिको हाम्रो माया, आत्मनिर्भर हुने हाम्रो चाहाना र विश्व विकासको प्रतिस्पर्धामा अब्वल गराउन अव बाम गठबन्धनको सरकार बन्नुपर्छ । म जीवनको उत्तरार्धमा ललितपुर र देशका लागि केही गर्न चाहन्छु । जनता विकास चाहन्छन् र उक्त चाहाना पूरा गर्न म प्रतिबद्ध छु ।

प्रस्तुती : बी.एम. आचार्य

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७