ओली यसकारण राजनीतिमा लागे


१५ मंसिर २०७४, शुक्रबार
kp sharma oli

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ता आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । विजय कुमारले ओलीसँग अन्तर्वार्ता लिएका हुन् । अन्तवार्ताको केही अंश यस्तो छ ।kp sharma oli

तपाईंको जीवनका केही निर्णायक घुम्तीहरूबारे स्मरण गर्न सक्नु हुन्छ ?
‘जरुर। म आठ वर्षको थिएँ। गाउँमा पण्डित बाजे पुराण भन्दै थिए( ‘फलाना राजाले बर्खायामभरि पर्ने पानीका थोपाभन्दा धेरै गाईहरू दान गरे रे।ु पण्डितजीका कुरा मैले पचाउन सकिनँ । म आफैं गोठालो जाने मान्छे। त्यसैले सोधें( ‘त्यतिका धेरै गाई राख्ने, बाँध्ने ठाउँ कसरी सम्भव छ रु तपाईंका कुरा पत्याउन सक्दिनँ म।ु पण्डितजी आगो भए । तथानाम गाली गरे मलाई। त्यस दिनदेखि मैले शास्त्रमा लेखिएको छ भन्दैमा कुनै पनि कुरालाई जस्ताको त्यस्तै पत्याउन छोडिदिएँ, चाहे त्यो जुनसुकै धार्मिक शास्त्र होस् वा राजनीतिक शास्त्र। मलाई लाग्छ कुनै पनि खाले शास्त्र र पुराणलाई, समय कालको पृष्ठभूमिमा राखेर मात्र बुझिनुपर्छ।

अर्को निर्णायक घुम्ती ?
‘म तेह्र वर्षको हुँदो हुँ। गाउँका ठालुले पञ्चायतमा एक गरिबका विपक्षमा अन्यायपूर्ण फैसला गरे । मैले विरोध गरें । उनले मलाई नराम्ररी हप्काए । बंगारा फुस्काउने धम्की दिए। मैले सहन सकिनँ । तिनको कठालो समातें । तिनी त्यहाँबाट गए। धेरैले मलाई सम्झाए, ठूला मान्छेलाई त्यसो गर्नु हुन्न भनेर । तर त्यो दिनदेखि मेरा निम्ति ठूला मान्छे शब्दको परिभाषा फेरियो । मान्छे ठूलो जन्म र जातले होइन कर्मले हुन्छ भन्ने विश्वास पलायो । त्यसै उद्देश्यका निम्ति काम गर्नुपर्छ भन्ने विचारको बिउ रोपियो मनमा। केही समयपछि म राजनीतिमा लागें।

तपाईंले यसो भन्नुभयो भन्दैमा तपाईंलाई ‘एन्टी इन्डियन’ त ठानिनु हुँदैन नि।
म किन एन्टी इन्डियन हुने ? के कारणले हुने ? कसरी हुने ? हुनुपर्ने कुरै होइन। कोही पनि नेपालको हित चिताउने मान्छे एन्टी इन्डियन हुन सक्दैन। त्यसो भनेर यो अर्थ नलागोस् कि इन्डियाले हेप्दाखेरी नसहनु एन्टी इन्डियन हुनु होइन। इन्डियाले बुझ्नुपर्छ, हामी थिचोमिचोभित्रका एउटा रैती राज्य होइनौं। मित्र हौं।

विगत पचासौं वर्षदेखि जुन नीति भारतले नेपालमा अख्तियार गर्‍यो, त्योबापत के पायो त ?
केही पनि पाएन। केही मान्छेहरू… केही एजेन्सीका मान्छेको अहम् तुष्टि भयो होला, अरू केही भएन। दुवै देशका जनता विकासका अपार सम्भावनाबाट वञ्चित रहे । दुईचारजना मानिसको खुद्रा स्वार्थका कारण दुई देशका बीचमा यत्रो तनाव देखियो, जुन तनाव देखिनुपर्ने कुनै कारण नै छैन। होला, सीमा क्षेत्रमा सानातिना समस्या आउने जाने गरिरहन्छन् तर अब मूलभूत कुराहरूमा खुलस्त रूपले रियलाइज गरेर अगाडि जानुपर्छ। पारस्परिक लाभ, पारस्परिक सम्मान बढाउनु पर्छ, त्यसैबाट पारस्परिक विश्वासको वातावरण बन्छ । त्यसका लागि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन।

भारत नेपालका प्रति विल्कुलै निरपेक्ष बस्यो भने खाली भएको ठाउँमा चीनलाई ल्याउने ? अमेरिकालाई ल्याउने ?
खाली किन ? यहाँ हामी छैनौं ? हामी सरकार चलाउन सक्दैनौं र ? आपसी मित्रताका सकारात्मक र प्रभावकारी नीति बनाउन सक्दैनौं र ?

अब हाम्रो ताजा राजनीतिका केही प्रश्न सोधौं। अहिले जुन गठबन्धन तपाईंहरूले बनाउनु भएको छ, त्यो ‘वाम गठबन्धन’ हो या ‘कम्युनिस्ट गठबन्धन’ हो ? के नेपालमा अब साम्यवादी व्यवस्था ल्याउने सुरमा हुनुहुन्छ ?

यो वस्तुतः ‘कम्युनिस्ट गठबन्धन’ पनि होइन र यो ‘वामपन्थी गठबन्धन’ पनि होइन । कम्युनिस्ट हाम्रो पार्टीको नाम हो। तपाईंको नाम ‘विजय’ हो। तपाईंको नाम विजय हुँदैमा तपाईंले हर पटक जित्ने हो र ? हर पटक जित्ने हो भने त तपाईंसित हर पटक भेट्नेबित्तिकै मैले जितौरी माग्नु पर्‍यो नि। तपाईंको नाम मात्र त विजय हो। हो, त्यसैगरी एउटा सन्दर्भमा पार्टीका नामहरू राखिएका हुन्छन्।

‘साम्यवाद’ एक ज्यादै सुन्दर कल्पना हो, उच्चतम मानवीय समाजको सृजना गर्नका निम्ति गरिएको परिकल्पना हो । हाम्रो सरदर भाषामा राम राज्य हो । कल्पवृक्ष जस्तो । तर के अहिलेकै अवस्थामा त्यहाँ पुग्न सकिन्छ ? सकिँदैन। तर त्यो सुन्दर दूर उद्देश्यका लागि कल्पना त गर्न पाइन्छ नि । अरूको त कुरै छोडौं, मेरो आफ्नै पार्टीका कतिपय मान्छे पनि त्यो दूर उद्देश्य प्राप्तिका लागि कति इमानदार र योग्य छन्, म भन्न सक्दिनँ।

हालका लागि बुझ्न सजिलो होस् भनेर म कम्युनिस्टहरूलाई तीन प्रकारले विभाजन गर्छु। फिलोसफिकल कम्युनिस्ट, आइडियोलजिकल कम्युनिस्ट र पोलिटिकल कम्युनिस्ट। अहिलेका अधिकांश कम्युनिस्ट पोलिटिकल कम्युनिस्ट हुन्। आवश्यकता, लाभ, फाइदा, विकास आदिका लागि कम्युनिस्ट भएकाहरू । अहिले नेपालमा अधिकांश पोलिटिकल कम्युनिस्ट छन्। नेपालमा मात्र होइन संसारमै यस्तो छ।

तपाईं यो भन्दै हुनुहुन्छ कि आज फिलोसफिकल कम्युनिस्ट वा आइडियोलजिकल कम्युनिस्टको होइन, पोलिटिकल कम्युनिस्टको युग छ ?
अहिले मेरो अगाडि एकजना वरिष्ठ पत्रकार हुनुहुन्छ विजय कुमार पाण्डे (हाँस्दै), उहाँ भन्ने गर्नुहुन्छ, आजको युग ‘वैश्य युग’ हो । त्यो भनाइमा सत्यता नभएको होइन । वैश्य युग भनेको पसल वा बजारमा मात्र सीमित कहाँ छ र ! राजनीतिमा पनि त त्यो हावी हुँदैछ।

हो ओलीजी, वैश्य युगको अप्रभावित कुन क्षेत्र पो छ र ? मिडियामा पनि त्यसको प्रभाव टडकारो छ।
हो । त्यसकारण, कम्युनिस्ट पार्टीभित्र पनि त्यो छ । यो कुरा धेरैका लागि कन्फ्युजिङ जस्तो लाग्न सक्छ। यो कुरा बुझ्न सजिलो छैन।

माओवादीसँग तपाईंको गठबन्धन अब कति लामो चल्छ ?
अब हामी पार्टी नै एकीकरण गर्छौं।

के म अहिले नेपालको भावी प्रधानमन्त्रीसँग कुराकानी गर्दै छु ?
म जुन जिम्मेवारीमा छु, त्यहाँ बसेर मैले यो प्रश्नको जवाफ आजै दिन मिल्दैन। जनता र पार्टीको निर्णय प्रतीक्षा गर्नुपर्छ। केही दिनमा नै तपाईंले थाहा पाउनु हुनेछ।

एकथरी भन्दैछन्, यदि तपाईंहरूले जित्नुभयो भने, नेपालमा अधिनायकवाद स्थापित हुनेछ ?
तपाईंलाई के लाग्छ ? त्यसो होला ? म जति डेमोक्रेसीका लागि दुःख पाएको मान्छेले त्यसो गर्ला ? जब म जेलमा थिएँ, बाँचेर प्रधानमन्त्री हुँला भनेर त सोच्न पनि सक्दिनथें । लोकतन्त्रप्रतिको मेरो निष्ठा सौदाबाजीको विषय होइन । जुन कुरा मैले जीवनभरि गरिन, अब गरूँला ?

अब अन्तमा, सबथोक त जनतालाई विकासको ‘डेलिभरी’ हुन्छ कि हुन्न भन्नेमा टुंगिनेछ। जनताको जीवनमा सुधार हुन्छ कि हुन्न भन्ने प्रश्नमा सबै प्रश्न समाप्त हुनेछन्। काठमाडौंका मेयरको असफलताका अनेकन उदाहरण हाम्रै अगाडि छ । राजनीतिक स्थिरता त पञ्चायतमा पनि थियो नि!
बहुमत आफैंमा केही होइन। बहुमत त बेलाबखत कांग्रेसले पनि ल्याएकै थियो । भिजन र कार्यान्वयन क्षमता नभएको बहुमतको काम छैन। ढंग पुर्‍याइएन भने ‘स्ट्याबिलिटी’ (स्थिरता) स्ट्याग्नेसन (जडता) मा परिणत हुने खतरा पनि हुन्छ । हामी त्यो विषयमा सतर्क छौं।

अब तपाईंको के राजनीतिक महत्वाकांक्षा छ ?
केही छैन। देशमा विकास भइदिए हुन्थ्यो भन्ने महत्वाकांक्षा चाहिँ छ।

मान्छेले तपाईंलाई कसरी सम्झून् जस्तो लाग्छ ?
सम्झनु पर्छ जस्तो लाग्दैन। बिर्सिदिए हुन्छ। मेरो गुणगान गर्नु पर्दैन। मरेपछि मलाई लात्ताले हाने पनि माला चढाए पनि केही फरक पर्दैन। अहिले बाँचेको बेला लात्ताले हानेको अलिकति चित दुख्छ। मरेपछि मलाई कसैले लात्ताले हाने भने म चित्त दुखाउन्न।

तपाईं आफ्नो जीवनसँग सन्तुष्ट हुनु हुन्छ ?
म जेलको काल कोठरीमा हुँदा पनि सन्तुष्ट थिएँ। आज पनि सन्तुष्ट छु।

तपाईं आफ्ना राजनीतिक विपक्षीलाई ज्यादै निर्मम कटाक्ष प्रहार गर्नु हुन्छ। एकताका प्रचण्डजीमाथि गर्नु हुन्थ्यो आजभोलि त्यो देउवाजीमा सरेको छ।
सत्यमाथि मेरो विश्वास मूर्खताको हदैसम्म छ भन्दा हुन्छ । विगतमा कसैले बेठीक गरेको बेला आक्रमण गरेको हो। आज पनि मेरो बानी त्यही हो।

नेपाली जनताका आउने दिन कस्ता होलान्। जस्ताको त्यस्तै रहला कि फरक पर्ला ?
पुरानै हालतमा हामी छैनौं । विगतमा क्षेत्रमा उपलब्धि भएका छन्। अलि उतारचढावमा हामी रह्यौं । राजनीतिक स्वार्थ धेरै हावी भए। बोक्ने, उचाल्ने, पछार्ने काम अलि बढी भए । अपेक्षित विकास भएन । तर केही भएन भन्नु गलत हो। सत्तरी वर्षअघि त हामी अन्धकार युगमा थियौं । अब हामी राम्रा दिनहरूतर्फ अगाडि बढ्ने छौं।

यति भनेर ओली रोकिए। घडीले रातको साढे दस बजाउँदै थियो। फर्कने बेला, ढोकामा मैले उनलाई त्यही कविता स्मरण गराएँ, जो उनैले मलाई सुनाएका थिए।

छुट्टिने बेला हात समातेर ओलीले भने, ‘नजिकबाट हेरियो भने पनि म त्यति खराब देखिने छैन विजय।’

मैले दुई शब्दको जवाफ फर्काएँ- हेर्दै जाऔं। साथै मनमनै यो पनि सोचें उनलाई म हरिभक्त कटुवालको भाखामा हेरू कि उनको आफ्नै शैलीअनुसार बुझूँ।
फर्कने बाटोमा म यो पनि सोच्दै थिएँ, के साँच्चिकै नेताहरूले सोचेजस्तो गरेर एमाले र माओवादी पार्टीका भोटहरू एकअर्काको चिह्नमा सरुवा होलान् त ? समानुपातिक कोटामा जनताले शीर्ष तहमा भएका गठबन्धनहरूलाई गणितीय हिसाबले सदर गर्लान् त ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७