एआइजीका सामु आइजीपी निरीह


२५ माघ २०७५, शुक्रबार
dhiru

काठमाडौं, २५ माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी)ले २०७५ माघ २९ मा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १८७ औं समूहको दीक्षान्त समारोहमा पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीलाई सम्मानित गर्न लागेकोमा प्रहरीभित्रै त्यसप्रति असन्तोष पैदा भएको छ ।

dhiru
धिरु बस्नेत र राजेन्द्रसिंह भण्डारी

दीक्षान्त समारोहमा प्रमुख अतिथि केपी शर्मा ओलीको हातबाट पूर्वएआइजी भण्डारीलाई ‘लाइभटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्न लागिएको छ । एकेडेमीका प्रमुख एआइजी धिरु बस्नेतले पूर्वएआइजी भण्डारीलाई उक्त अवार्डबाट सम्मानित गर्न लागेका हुन् ।

एकेडेमीका एक प्रहरी अधिकृतका अनुसार संगठनको विरोधी लेख लेख्ने, संगठनले चालेका कदमको विरुद्ध लाग्दैआएका भण्डारीलाई पुरस्कृत गर्ने निर्णय उचित भएन । उनीबाहेक अरु प्रहरीमा योगदान गरेका धेरै छन् । तर ३३ किलो सुन र सनम शाक्य हत्या छानबिन प्रकरणमा उनले पूर्वडीआइजी रमेश खरेललाई अगाडि सारेर दिएको सार्वजनिक अभिब्यक्ति विवादमा परेको थियो ।

पूर्वएआइजी भण्डारीकै अग्रसरतामा रमेश खरेल र हेमन्त मल्ल ठकुरीसमेतले सुन छानबिनमा प्रहरी अधिकारीलाई पक्राउ गर्नु गलत हो भनी सरकारविरुद्ध पत्रकार सम्मेलन गरेका थिए ।

सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा पूर्वएआइजी भण्डारीले धेरै प्रहरी अधिकृतका विरुद्ध उजुरी हाल्दै छानबिन गर्न लगाएका थिए । आफ्नै अधिकृतलाई फसाउने भनेर उनी प्रहरी संगठनमा चिनिन्छन् ।

प्रहरी संगठनमा उनी क्षमतावान मानिए पनि उनले आफ्नै सहकर्मी र माथिल्ला अधिकृतविरुद्ध अख्तियारमा हुँदा देखाएको रबैयाले उनी आलोचित छन् । संगठनभित्र उनको सकारात्मक छवि नभएको अवस्थामा एआइजी बस्नेतले सम्मान प्रदान गर्ने निर्णय गरेका छन् । एआइजी बस्नेतले संगठनविरुद्ध लागेकालाई सम्मानित गर्न लागेको भनेर प्रहरीभित्र टिकाटिप्पणी हुँदा पनि आइजीपी सर्वेन्द्र खनाल भने मौन देखिएका छन् ।

सरकारकै निवृत्तिभरण खाएर सरकार र संगठनको हितविरुद्ध बोल्नेलाई एआइजी धिरु बस्नेतले किन पुरस्कृत गर्न खोजेका हुन् भन्ने प्रश्न उठिरहेको बेला आइजीपी खनाल भने निरीह देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७