विद्युत् गृह निर्माणका लागि कामदार परिचालन


२६ माघ २०७५, शनिबार
tanahu hydro

दमौली, २६ माघ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण प्रक्रिया शुरु भएको छ ।

tanahu hydro

आयोजनाको दोस्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया शुरु गरेको हो । उक्त कम्पनीले हाल कार्यालय स्थापनालगायतको काम गरिरहेको आयोजनाका साइट इञ्चार्ज विदुर अधिकारीले जानकारी दिए । उनले भने, ‘ठेक्का सम्झौता भएबमोजिम काम शुरु गर्नका लागि कम्पनीका कामदार परिचालन भएका छन् ।’

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेजका लागि सिनो हाइड्रोसँग तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि कर बाहेक) मा सम्झौता भएको थियो ।

अधिकारीका अनुसार आयोजनाको ट्रान्समिसन लाइन निर्माणका लागि समेत ठेकेदार कम्पनीले काम शुरु गरिसकेको छ । उनका अनुसार ट्रान्समिसन लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीले जिम्मा पाएको छ ।

नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि भने केही अन्यौल सिर्जना भएको छ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले नै पहिलो प्याकेजको संरचना निर्माणका लागि सम्झौता गरेको थियो । सरकारले मेलम्चीमा सिएमसीसँगको ठेक्का तोडिसकेको छ ।

काममा फर्कने भन्दै स्वदेश फर्किएका कम्पनीका ठेकेदार हालसम्म फर्किएका छैनन् । उक्त कम्पनीलाई आगामी फागुन ६ गतेसम्मको समय दिइएकाले उक्त समयसम्म कुर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ । ‘उहाँहरुलाई दिएको समयावधि बाँकी छ, त्यस बेलासम्म कुर्छौ त्यसपछि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं’, अधिकारीले भने ।

पहिलो प्याकेजको संरचना निर्माणका लागि सिएमसीसँग रु २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित) मा खरिद सम्झौता भएको थियो ।

थप जग्गाका लागि साढे सात करोड मुआब्जा

आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाका लागि रु सात करोड ५० लाख मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । प्रभावित ६२ घरपरिवारमध्ये ४३ ले मुआब्जाबापतको रकम बुझेका छन् । आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि रु आठ करोड विनियोजन गरेको छ ।

आयोजनाको ड्याममा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिएको हो । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरीद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहुँको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवासगृह निर्माण सम्पन्न भइसकेको छ ।

आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । यसमध्ये एशियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (इआइबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७