निर्मलाको हत्यारा पत्ता लागेको प्रहरीको दावी, केहि दिनमै सार्वजनिक गरिने


२६ माघ २०७५, शनिबार
Nirmala panta 1

काठमाडौं, २६ माघ । प्रहरी संगठन र सरकार समेतको टाउको दुखाइको विषय बन्दै आएको निर्मला हत्या प्रकरणको छानविन अन्ततः सफल भएको छ ।

Nirmala panta 1

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न आफूहरु सफल भएको प्रहरीले दावी गरेको छ । लामो अनुसन्धानपछि निर्मला हत्याको ६ महिनापछि आफूहरु हत्यारासम्म पुग्न सफल भएको प्रहरीले दावी गरेको छ ।

निर्मलाका हत्यारालाई दुई–चार दिनभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । निर्मलाका हत्यारा पत्ता लगाउन र पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै प्रहरीको चर्को आलोचना भइरहेको छ । सो प्रकरणलाई सरकारको असफलतासँग जोडेर प्रतिपक्षीसहितले आवाज उठाउँदै आएका छन् ।

सरकारले भने ९५ प्रतिशत अपराधका घटनामा नेपाल प्रहरीलाई सफलता मिलेको दाबी गर्दै निर्मला प्रकरणमा गम्भीर छानबिन भइरहेको बताउँदै आएको छ । केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याका दोषी ‘सिंहदरबार र बालुवाटारमा भए पनि कार्बाही गरेरै छाड्ने’ बताएका थिए ।

निर्मलाका हत्यारा पत्ता लागे पनि उसको परिचय गोप्य राखिएको छ । यसअघि दिलीपसिंह विष्टसहित प्रहरीले घटनामा संलग्न भनी सार्वजनिक गरिएकाहरु डिएनए परीक्षण नमिलेपछि छुट्दै आएका छन् । यस पटक पनि त्यस्तै नहोस् भन्नका लागि सजगता अपनाउँदै दोषी सार्वजनिक गर्न हतार नगरिएको दाबी प्रहरी स्रोतको छ ।

यस पटक भने डिएनए परीक्षण समेत मिलेको स्रोतले दावी गरेको छ । हत्यारा निर्मलाकै घर आसपासका व्यक्ति भएको र उसले पटकपटक बलात्कार घटना घटाएको बताइएको छ । यद्यपि पहुँचवाला भएका कारण अहिलेसम्म कानूनी कार्बाहीको दायरामा ल्याउन नसकिएको दाबी प्रहरीको छ । निर्मलाको गएको साउन १० गते साथीको घरमा होमवर्क गर्न गएको अवस्थामा बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७