वीरमा क्यान्सरको उपचार अब अत्याधुनिक प्रविधिबाट, १० हजारमा रेडियोथेरापी, अन्यत्र २ लाख


२७ माघ २०७५, आईतवार
Bir Hospital e1527679179524

काठमाडौं, २७ माघ । क्यान्सर रोगीलाई रेडियोथेरापी दिने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ केही दिनमै वीर अस्पतालमा जडान गरिने भएको छ ।

Bir Hospital e1527679179524

भारतमा पनि तीन ठूला अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै भएको यो मेसिन चार वर्षको पहलपछि नेपालमा पहिलोपटक ल्याइएको हो । २० वर्षपहिले ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा क्यान्सररोगीलाई रेडियोथेरापी सेवा पूर्ण रूपमा बन्द भएको थियो ।

टोमोथेरापी नेपाल भित्रिएको तीन महिना भइसके पनि वीरमा बिग्रिएको कोबाल्ट हटाउन नसक्दा प्रयोगमा ल्याउन सकिएको छैन । सोमबार कोबाल्ट हटाएर केही दिनमै टोमोथेरापी जडान गर्ने तयारी भइरहेको वीरका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले बताए ।

अमेरिकी प्रविधियुक्त टोमोथेरापी ४० करोडमा खरिद गरिएको हो । ‘टोमोथेरापीले क्यान्सरको ट्युमरमा मात्रै विकिरण फाल्छ । एक बिरामीलाई थेरापी दिन १५ मिनेट समय लाग्छ,’ उनले भने, ‘वीरमा दैनिक ६५ जनासम्म क्यान्सरका बिरामीलाई सेवा दिनुपर्ने हुन्छ । यसकारण जनशक्ति नथप्दा भने सेवा प्रवाहमा समस्या हुन सक्छ ।’

सुरक्षाका लागि टोमोथेरापी सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा राखिएको छ । भारतीय कम्पनी बिग्रिएको कोबाल्ट मेसिन लैजान तयार भएपछि उपकरण र जनशक्ति नेपाल आइसकेका छन् । मेसिन बोक्ने ट्रेन सोमबार वीरमा आइपुग्नेछ । रेडिएसनले असर गर्ने भएकाले कम्पनीले भारत नै लगेर कोबाल्ट नष्ट गर्न लागेको हो ।

वीरमा बर्षेनी १३ सय क्यान्सरका बिरामी
देशकै पुरानो अस्पताल वीरमा बर्षेनी १३ सय क्यान्सरका बिरामी भर्ना हुने गरेको अस्पतालको रेकर्ड छ । यीमध्ये करिब ७ सयलाई रेडियोथेरापी दिनुपर्ने हुन्छ । उपचार सेवा सस्तो भएकाले विपन्न नागरिकका लागि वीर आकर्षणको केन्द्र बनेको छ । तर, कोबाल्ट बिग्रिएपछि वीरमा तीन हजारभन्दा बढी क्यान्सररोगीले सेवा पाउन सकेका छैनन् ।

बाहिर निजी अस्पताल तथा भारत गएर महँगो शुल्कमा उपचार गराउनुपर्ने बाध्यता रह्यो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरले टोमोथेरापी भित्र्याउन चार वर्षदेखि पहल गरे पनि अस्पतालकै कर्मचारीका कारण रोकिएको थियो । अब नयाँ मेशिन प्रयोगमा आएपछि क्यान्सररोगीले वीरमा अत्याधुनिक सेवा प्राप्त गर्नेछन् ।

वीरमा १० हजारमा रेडियोथेरापी, अन्यत्र २ लाख
नेपालमा हाल भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र काठमाडौं क्यान्सर सेन्टरमा मात्रै रेडियोथेरापी सेवा उपलब्ध छ । तर, यी अस्पतालमा उपलब्ध उपकरण सामान्य खालका छन् ।

वीरमा प्रयोगमा ल्याउन लागिएको टोमोथेरापी विश्वकै अत्याधुनिक उपकरण हो । अहिले अन्य अस्पतालमा रेडियोथेरापीको शुल्क दुई लाखसम्म पर्ने गरेको छ । तर, वीरले १० देखि १५ हजारमा यो सेवा दिन सकिने जनाएको छ ।

विगतमा कोबाल्टबाट ५ हजारमा सेवा दिएको वीरले टोमेथेरापी अत्याधुनिक र महँगो भएकाले शुल्क केही बढ्ने जनाएको छ । क्यान्सरका बिरामीलाई अप्रेसनअघि रेडियोथेरापी जरुरी हुन्छ । यो थेरापीले ट्युमरको आकार घटाएर अप्रेसन सजिलो बनाउँछ । चिकित्सकहरूका अनुसार क्यान्सर रोगीले सामान्यतः ५ देखि ७ हप्तासम्म रेडियोथेरापी सेवा लिनुपर्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७