सोमबारदेखि फेरि बदली, पश्चिमी वायुको प्रभाव देखिने


२७ माघ २०७५, आईतवार

काठमाडौं, २७ माघ । केही दिनदेखि बिग्रिएको मौसम आइतबार सफा भई वर्षा र हिमपात रोकिएको छ । आइतबार काठमाडौंसहित देशका धेरैजसो भू–भागमा घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

weather eJWlvHFNlY

मौसमविद् शान्ति कँडेलले पश्चिमी भेगमा आइतबार पनि आंशिक बदलीको सम्भावना रहेको बताएकी छन् । उनका अनुसार गएको बुधबार भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा हटेको भए पनि पश्चिमबाट फेरि आउन लागेको अर्को पानी पार्ने प्रणालीका कारण पश्चिमको मौसममा आंशिक बदली हुने देखिन्छ ।

सोमबारदेखि फेरि देशभरको मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिएकी छन् । पछिल्लो समय लगातार रुपमा पश्चिमी वायु भित्रिरहेको छ । गएको पुस अन्तिममामात्र उपत्यकामा पहिलो पटक हिउँदे वर्षा भएको थियो ।

त्यसपछि माघको पहिलो साता आएको अर्को पश्चिमी वायुको प्रणालीले देशभर वर्षा र हिमपात भएको थियो । त्यसको प्रभाव नसकिँदै लगत्तै अर्को पश्चिमी वायु भित्रिएको थियो । जसले माघको दोस्रो साता पनि देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराएको थियो ।

गएको बुधबार भत्रिएको प्रणालीले बिहीबारदेखि तीन दिन लगातार देशका सबैजसो ठाउँमा वर्षा र उच पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको थियो । वर्षा र हिमपातका कारण जनजीवन समेत प्रभावित भएको थियो । काठमाण्डौ वरिपरीका चन्द्रागिरी, फुल्चोकी, नगरकोट, शिवपुरी, तारेभिरलगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७