निर्माणाधीन घरबाट फलामको पाइप खसेर लाग्दा पैदल यात्रुको मृत्यु, कामदार र ठेकेदार पक्राउ

बनेपा, २७ माघ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ सरस्वती बजारस्थित घर बनाउने क्रममा माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्रीको मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

सरस्वती बजारस्थित सुवर्ण श्रेष्ठको घर बनाउने क्रममा गत सोमबार माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्री महाभारत गाउँपालिका–३ का ५५ वर्षीय देवीबहादुर ठाडा मगर घाइते भएका र उनको उपचारका क्रममा मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भक्तपुर नगरपालिका–२ घर भएका ठेकेदारे कृष्णराम अवालसहित दुई कामदारलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ । ‘ठेकेदारसहित तीनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ’, प्रहरी नायब उपरीक्षक गिरीले भने, ‘उहाँहरुले लापर्वाही ढङ्गले काम गरेर निर्माण सामान खसी पैदल यात्रीको मुत्यु भएको छ, थप अनुसन्धान भइरहेकाले ज्यान मुद्दा सम्बन्धीको कार्वाही हुनसक्छ ।’
घरधनी श्रेष्ठले भने यसअघि नै मृतक परिवारलाई ६ लाख क्षतिपूर्ति उपलब्ध गराइसकेको मृतकका आफन्त उपेन्द्र ठाडा मगरले बताए । ठेकेदारले भने क्षतिपूर्ति दिन इन्कार गरेको र कानून बमोजिम नै हुने बताएपछि त्यहीअनुसार प्रक्रिया अगाडि बढाइएको छ । मृतक मगर महाभारत गाउँपालिका–३ का वडा सदस्य समेत थिए ।