एसपी र एसएसपीमा बढुवा सिफारिस, शक्ति केन्द्र नधाउने छुटे बढुवामा


२८ माघ २०७५, सोमबार

काठमाडौं, २८ माघ । करिब दुई साताअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा शक्तिकेन्द्र धाउनेहरू बढुवामा छुट्ने चेतावनी दिएका थिए ।

nepal police WW1clRuZ8f

तर, शनिबारको बढुवा सिफारिसमा शक्तिकेन्द्र नधाउनेहरू बढुवामा छुटेका छन् । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) का रिक्त पदमा बढुवा सिफारिस भएको छ । शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।
बढुवा निष्पक्ष नभएको भन्दै धेरै प्रहरी अधिकारीले असन्तुष्टि जनाएका छन् ।

एक एसपीले त राजनीमा समेत दिएका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका हुन् । बढुवामा आफूलाई लायक भनेर मूल्यांकन नगरेपछि संगठनलाई आफू आवश्यक नरहेको ठानेर राजीनामा दिएको उनले बताए । बढुवा निष्पक्ष नहुँदा आफूमाथि अन्याय भएको उनको आरोप छ ।

१४ पद रिक्त रहेकोमा ३१ जना प्रतिस्पर्धामा थिए । त्यसकारण एउटै ब्याचका भए पनि आधा छुट्नु स्वाभाविक भएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए । सत्तारुढ दलका नेतानिकट प्रहरी अधिकारीहरू बढुवामा अग्रपंक्तिमा छन् । पहिलो नम्बरमा सन्दीप भण्डारी र दोस्रो नम्बरमा टेकप्रसाद राई छन् । तेस्रो नम्बरका उमेशराज जोशी आइजिपीले रुचाएको र चौथो नम्बरमा श्यामलाल ज्ञवालीलाई नेकपाकै नेताहरूको सिफारिस रहेको स्रोत बताउँछ ।

निर्मला पन्त प्रकरणपछि समस्यामा रहेको कञ्चनपुर सम्हाल्न पुगेका एसपी कुबेर कठायत पनि सोही ब्याचका हुन् । तर, बढुवामा उनलाई छुटाइयो । उनीसहित भरत बोहरा, सुदीप गिरी, केदार ढकाल, राजेन्द्र विष्ट, राजेश बाँस्तोला, जनक भट्टराई, दुर्गा सिंह, किरण राणा, कृष्ण महत, लालमणि आचार्य, विष्णु केसीलगायत बढुवामा छुटेका छन् ।

डिएसपी पहिलो र दोस्रो नम्बरकै छुटे
डिएसपी बढुवामा यसपटक अनौठो दृश्य देखिएको छ । आफ्नो ब्याचमा पहिलो र दोस्रो नम्बरमा रहेका अधिकारीहरू नै बढुवामा छुटेका छन् । ११४ को टोलीको भुवनेश्वर तिवारी पहिलो नम्बरमा तथा ऋषि कँडेल दोस्रो नम्बरमा थिए ।

ब्याचका १२ जना बढुवा हुँदा पनि उनीहरू भने छुटेका छन् । ‘प्रहरी इतिहासमा यस्तो दृष्य पहिला देखिएको थिएन,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘शक्तिकेन्द्रको साथ नहुनेहरूलाई प्रहरीमा जागिर खान गाह्रो छ ।’ प्रकाश रानाभाट र जनार्दन जिसी कर्मचारी प्रशासन शाखामा भएकाले उनीहरूलाई बढुवामा अघि पारिएको छ ।

भण्डारी पहिलो नम्बरमा

एसएसपी बढुवा सिफारिसमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली र डा.गणेश रेग्मी ‘टप’ पाँचमा परेका छन् । बढुवा सिफारिस हुने अन्यमा रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्त कुँवर र भीमप्रसाद ढकाल छन् ।

त्यस्तै, २६ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । जसमा रमेश बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, डा.मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल छन् ।

त्यस्तै, रमेश थापा, प्रकाश रानाभाट, बिमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुपमशमशेर जबरा, श्याम महतो, कृष्ण पंगेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसपी बढुवाको सिफारिसमा परेका छन् । डिआइजीमा एक पद रिक्त भए पनि अत्यधिक चलखेलका कारण बढुवा रोकेर तल्लो तहको बढुवा प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७