लुटतन्त्र मच्चाउनेसँग सजग हुन प्रधानमन्त्रीको आग्रह


२८ माघ २०७५, सोमबार
kp oli 3iozRYyhuH

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताएका छन् ।

kp oli 3iozRYyhuH

गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उनले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै र संविधान संशोधन गर्ने व्यवस्था हुँदाहुँदै जनतामा फेरि अन्योल सिर्जना गर्ने काम भइरहेकामा चिन्ता प्रकट गरेका छन् ।

जनताले छानेको संविधान र प्रणालीअन्तर्गत जनताले छानेको संसद् रहेको र न्यायाधीश पनि जनताको प्रतिनिधिको अनुमोदनबाट मात्रै हुन सक्ने भएकाले लोकतन्त्रमा जनता नै सर्वाेपरी हुने बताउँदै विगतको उपलब्धिलाई रक्षा र वास्तविक सदुपयोग गर्दै सुशासन र विकासको बाटामा देशलाई अगाडि लैजाने अभिभारा देशको सामु आएको बताए ।

विगतको भन्दा उन्नत र फराकिलो लोकतन्त्रमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘अहिले ल्याएको लोकतन्त्रले नयाँ बाटो खोजेर नयाँ युगमा नेपाललाई प्रवेश गराएकाले अहिले लोकतान्त्रिक अभ्यासअनुसार देश अगाडि बढ्न थालेको छ’, उनले भने ।

अहिले पनि धेरै चुनौती आएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘केही दिनअघि मात्रै अरुण तेस्रोको मेशिन जलाउने र कार्यालयमा क्षति पुर्‍याउने काम भयो, यो एउटा आयोजनाको मेशिन जलाइएको र तोडफोड गरिएको मात्रै होइन, नेपाललाई बिजुलीकरण गर्नु हुँदैन, ऊर्जा उत्पादन गर्नु हुँदैन, वैदेशिक लगानी आउनु हुँदैन र विकास गर्न हुँदैन भन्ने उद्देश्यअन्तर्गत नेपाललाई अन्धकार युगमा राख्ने उद्देश्यले गरिएको आपराधिक क्रियाकलाप हो, यसलाई राजनीतिसँग जोड्नु हुँदैन ।’ उनले अब लुट मच्चाउने र बम पडकाउने दिन गएको बताउँदै यस्ता गतिविधि भए सरकार चुप लागेर नबस्ने बताए ।

‘जनता आफ्नो इच्छा आकांक्षा प्रकट गर्न सक्छन्, जनता सार्वभौम छन्, त्यो नै सत्य हो, त्यस कारण अरु प्रवृत्तिसँग अल्झिनु हुन्न’, प्रधानमन्त्रीले भने । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको प्रजातन्त्र दिवस मूल समारोह समितिको आजको बैठकले प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७