दिपाश्री निरौला र सुमित खड्का सद्भावना दूतमा नियुक्त

मोरङ, २८ माघ । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला र गायक सुमित खड्कालाई विराटनगर महानगरपालिकाले सद्भावना दूत रुपमा नियुक्त गरेको छ ।

आइतबार विराटनगरमा आयोजित सुमित खड्काको एकल कन्सर्ट कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निरौला र खड्कालाई सद्भावना दूत नियुक्त गरेका हुन् । खड्का र निरौला विराटनगरबासी हुन् ।
राष्ट्रिय गानमा छुट्टै पहिचान बनाएका खड्काले विराटनगर महानगरपालिकाको गीत पनि गाएका छन् । विराटनगरबाट कलाकारिता क्षेत्रमा लागेकी निरौला हाँस्य कलाकार हुँदै पछिल्लो समय सफल निर्देशकको रुपमा स्थापित भइसकेकी छन् ।

दुई जना विराटनगरकै भएकाले पनि कलाकारको सम्मान र विराटनगरको बिकासका लागि सद्भावना दूत नियुक्त गरिएको मेयर पराजुलीले बताएका छन् । निर्देशक निरौलाले आफूमा थप जिम्मेवारी बढेको बताएकी छन् ।