अब वर्षमा सय कामदार पठाउन नसक्ने म्यानपावर खारेज, एकै परिवारकाले दुई म्यानपावर चलाउन नपाइने


२८ माघ २०७५, सोमबार
mantpower

काठमाडौं, २८ माघ । धेरै रकम असुलेर थोरै कामदार विदेश पठाएको भरमा चलिरहेका म्यानपावर कम्पनीहरुमाथि सरकारले कडाइ थालेको छ ।

mantpower

सरकारले अब पैसा असुल्ने उद्देश्यले मात्र खोलिएका म्यानपावर कम्पनीलाई कार्वाही गर्ने भएको छ । म्यानपावर व्यवसायीले वर्षमा सय जना कामदार विदेश पठाउन नसके खारेज हुने कानुनी व्यवस्था संसदीय समितिबाट पारित भएको छ ।

सरकारले केही नेपाल ऐनमार्फत् वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा सो व्यवस्था समितिले थप गरेको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै समितिबाट पारित भएको विधेयकमा एकै घरका परिवारबाट सञ्चालित म्यानपावरहरू एक वर्षभित्रै मर्ज भइसक्नुपर्ने नभए स्वतः खारेज हुने व्यवस्था गरिएको छ । समितिले सरकारले धरौटी बढाउन गरेको प्रस्तावमा पनि हेरफेर गरेका सांसद पोखरेलले जानकारी दिएका छन् ।

सरकारले वर्षमा ५ हजारभन्दा बढी कामदार विदेश पठाउने म्यानपावरको धरौटी नगद २ करोड र बैंक ग्यारेन्टी ४ करोड र्पुयाउने र ५ हजार भन्दा कम कामदार पठाउनेको भने नगद १ करोड र बैंक ग्यारेन्टी २ करोड धरौटी कायम गर्ने प्रस्ताव गरेको थियो । समितिले यसमा तीन तहको वर्गीकरण गरेको छ ।

वर्षमा ३ हजारसम्म कामदार पठाउनेलाई ५० लाख नगद र १ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि म्यानपावरको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी थियो ।
धेरै मात्रामा म्यानपावरहरू खुलेको, सेवाभन्दा पनि नाफा कमाउने हिसाबले सञ्चालनमा आएको, विदेशमा कामदारहरूलाई धेरै समस्या पर्ने गरेको भन्दै त्यसलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै श्रम मन्त्रालयले म्यानपावरको धरौटी बढाउने प्रस्ताव गरेको थियो । संसदको पूर्ण बैठकमा पेश भएर पारित भएपछि नयाँ व्यवस्था लागू हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७