मलेसियामा सोंचेभन्दा राम्रो सहयोग पायौं : धुर्मुस


२८ माघ २०७५, सोमबार
Dhurmus Suntali Cricket stadium 14

काठमाडौं, २८ माघ । चितवनको भरतपुरमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक सहयोग जुटाउन मलेसिया पुगेका कलाकार धुर्मुस (सीताराम कट्टेल) ले मलेसियामा सोंचेभन्दा बढी सहयोग मिलेको बताएका छन् ।

Dhurmus Suntali Cricket stadium 14

क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक रकम जुटाउन कार्यक्रम लिएर मलेसिया पुगेका धुर्मुस र सुन्तली (कुञ्जना घिमिरे) ले नेपाल फर्किए लगतै सामाजिक सञ्जालमा लेख्दै मलेसियामा सोंचभन्दा राम्रो सहयोग जुटेको स्पष्ट पारेका छन् ।

मलेसियामा रहेका नेपाली दाजुभाइ र दिदीबहिनी क्रिकेट रङ्गशाला बन्ने कुरामा उत्साहित रहेको जानकारी गराउँदै फेरि रकम संकलनका लागि मलेसिया आउन निम्तो दिएको पनि उल्लेख गरेका छन् । उनले धुर्मुस–सुन्तली मलेसियाबाट निरास बनेर फर्किए भन्ने केहि समाचारमा सत्यता नभएको बताउँदै यस्ता भ्रमपूर्ण समाचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘रङ्गाशाला निर्माण सहयोगार्थ जुन उद्धेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामाका नेपाली दिदी बहिनी दाजुभाइबाट सोँचे भन्दा राम्रो सहयोग–सदभाव पाएका छौं’, धुर्मुसले भने, ’यही अभियानलाई लिएर फेरि मलेसिया आउने निम्तो पनि पाएका छौं, यसले हामीलाई थप हौसला मिलेको छ ।’

मलेसियाका विभिन्न ठाउँमा क्रिकेट रङ्गशालाका लागि चलाएको अभियानका क्रममा त्यहाँका नेपालीबाट प्राप्त सहयोगबारे नेपाल फिरेर जानकारी गराउने उनले बताएका छन् । ’केही भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु’, धुर्मुसले भनेका छन् । क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन कलाकार पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’सहित धुर्मुस साताअघि मलेसिया पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७