अब स्वास्थ्यका कर्मचारीले पनि सेवा-समूह परिवर्तन गर्न पाउने, यस्तो छ प्रावधान


२८ माघ २०७५, सोमबार

काठमाडौं, २८ माघ । अब स्वास्थ्य सेवाका कर्मचारीहरुले पनि सेवा–समूह परिवर्तन गर्न पाउने भएका छन् ।

health

सरकारले स्वास्थ्य सेवाका कर्मचारीहरुको कार्यक्षेत्र फराकिलो बनाउने तयारी थालेको छ । स्वास्थ्य सेवालाई पनि निजामती सेवामा राखेर सरकारले कर्मचारीहरुको कार्यक्षेत्र फराकिलो बनाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यस्तो छ सेवा परिवर्तनको प्रस्ताव
स्वास्थ्य सेवाका कर्मचारी अन्य सेवा समूहमा पनि जान सक्ने गरी संघीय निजामती सेवा विधेयक तयार पारिएको छ । संसद सचिवालयमा दर्ता भइसकेको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित हुन भने बाँकी रहेको छ । संघीय संसदका दुवै सदनबाट पारित भएपछि विधेयकले ऐनको रुप लिनेछ र कार्यान्वयनमा जानेछ ।

विधेयकको दफा ४३ मा नेपाल स्वास्थ्य सेवाका कर्मचारीहरुको समूह वा उपसमूह परिवर्तनको व्यवस्था छ । दफा ४३ को उपदफा ३ मा उल्लेख भएअनुसार सरकारको खर्चमा स्वास्थ्य सेवाको कुनै कर्मचारीले अध्ययन गरी विशेष योग्यता हासिल गरेमा उसको सेवा समूह सरकारले परिवर्तन गर्नसक्ने छ ।

दफा ३ मा लेखिएको छ, ‘स्वास्थ्य सेवामा बहाल रहेको कुनै कर्मचारीलाई विशेष योग्यता हासिल गर्न अध्ययनमा पठाएकोमा त्यस्तो कर्मचारी अध्ययन पूरा गरी सेवामा हाजिर भएपछि लोकसेवा आयोगको परामर्शमा निजको विशेष योग्यतासँग सम्बन्धित सेवाको अन्य समूह वा उपसमूहमा तोकिए बमोजिम परिवर्तन गर्न सक्ने छ ।’

यसो भएमा नेपाल स्वास्थ्य सेवामा कार्यरत विशेष योग्यता वा दक्षता भएका कर्मचारीलाई निजको विशेष दक्षता भएकै क्षेत्र वा समूह उपसमूहमा रही सेवा प्रदान गर्ने अवसर प्राप्त हुने सरकारको भनाई ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीस्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई प्रोत्साहन गर्न र अन्य सेवा समूहमा पनि दक्षता प्रस्तुत गर्ने अवसर दिन यस्तो व्यवस्था राखिएको बताउँछन् । यस बाहेक कुनै पद लगातार दुई वर्षसम्म पूर्ति हुन नसकेमा पनि सरकारले सेवा समूह वा उपसमूह परिवर्तन गर्न सक्ने जनाइएको छ ।

अन्य सेवा समूह वा उपसमूहबाट सेवा परिवर्तन गरी पूर्ति गर्नुपर्ने भएमा सरकारले लोकसेवा आयोगमा लेखी पठाउने छ । त्यसपछि लोकसेवा आयोगले सम्बन्धित सेवा, समूह वा उपसमूह र पदको लागि निर्धारण गरिएको न्युनतम शैक्षिक योग्यता भएका समान श्रेणी वा तहको पदमा बहाल रहेका कर्मचारीहरु प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन सक्ने गरी विज्ञापन प्रकाशन गर्नेछ ।

यसरी प्रतिस्पर्धात्मक परीक्षाको माध्यमबाट सम्बन्धित सेवा, समूह वा उपसमूह र पदको लागि निर्धारण गरिएको न्युनतम शैक्षिक योग्यता भएका समान श्रेणी वा तहको पदमा बहाल रहेका कर्मचारीहरु प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन सक्ने गरी विज्ञापन प्रकाशन गर्नेछ ।

यसरी प्रतिष्पर्धात्मक परीक्षाको माध्यमबाट छनोट भएका कर्मचारीलाई नेपाल सरकारले सेवा, समूह वा उपसमूह परिवर्तन गर्नेछ । यी व्यवस्था बाहेक निजामती कर्मचारीको सेवा, समूह वा उपसमूह परिवर्तन नहुने विधेयकमा उल्लेख छ ।

चिकित्सकको विरोध

यता स्वास्थ्य सेवाका चिकित्सकहरु भने अहिलेको विधेयक परिमार्जनको माग राख्दै आन्दोलनमा छन् । सबै चिकित्सकहरुलाई केन्द्र मातहत नराखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाउँदै आएका छन् । यसको विरोधमा आज (सोमबार) उनीहरुले सोमबार बीर अस्पतालदेखि स्वास्थ्य मन्त्रालयसम्म विरोध प्रदर्शन गरेका छन् ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान) का अध्यक्ष डा. दिपेन्द्र पाण्डे सबै चिकित्सकहरुलाई संघीय सरकारअन्तर्गत राखी देशभर परिचालन गरियोस् भन्ने आफूहरुको माग रहेको बताउँछन् ।’ उनले स्थानीय तहमा सेवारत चिकित्सकहरुको वृत्ति विकासमा सरकारले ध्यान नदिइएको आरोप लगाए । उनले थपे, ‘संघीयता भनेको सिंहदरबारलाई गाउँ–गाउँमा लैजाने हो तर केन्द्रका केन्द्रमै रहिरहने र जो पहिलेदेखि नै गाउँमै सेवारत छन्, उनीहरुलाई गाउँमै सडाउने षड्यन्त्र अनुसार संघीय निजामती सेवा विधेयक आएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७