राडी बेच्न ओखलढुङ्गादेखि काठमाडौंसम्म


२९ माघ २०७५, मंगलवार
radi

काठमाडौं, २९ माघ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का कुमार गुरुङ राडी बेच्न पुसमा काठमाडौं आए । ४० राडी ल्याएर आएका गुरुङले पुरै बेच्न लागेका छन् । ललितपुरको मङ्गलबजारमा भेटिएका गुरुङ साथीकहाँ बस्दै आएका छन् ।

radi

वर्षेनी गुरुङ वर्षायाममा घरमा बसेर राडी बनाउँछन् । हिउँदमा देशका विभिन्न शहरमा पुगेर बेच्ने गर्छन् । उनी मात्रै होइन, परिवारका अन्य सदस्यले समेत राडी बनाउने गर्छन् । राडी बेच्न भने उनी विभिन्न शहर नै धाउँछन् ।

‘१५–१६ वर्षको उमेरदेखि नै बुबाको पछि लागेर राडी बेच्न हिँड्न थालेको हुँ’, गुरुङले भने । गाउँका धेरै युवा विदेश पुगे पनि आफूलाई यही बसेर पुख्र्यौली काम गरिरहँदा गर्व लाग्ने उनले बताए । ‘बाबु–बाजेका पालादेखि गरेका काम आफूले गर्ने र सन्तानलाई सिकाउँदा खुशी लाग्छ’, उनले भने ।

गुरुङ राडी बेच्न काठमाडौँ, धरान, झापा, मोरङ, नेपालगञ्जलगायत शहरसम्म पुुग्छन् । साथीभाइ र आफन्त भएका ठाउँमा उनीहरुकै कोठामा तथा नभएका ठाउँमा होटल र लजमा बस्छन् । उनी राडी बेच्ने क्रममा ५० जिल्ला पुगिसकेका छन् । ‘वार्षिक रु १२ लाखसम्म कमाइ हुन्छ’, उनले भने ।

त्यही पैसाबाट उनले राडी बनाउन ऊन किन्छन् । राडी बेचेर आएको पैसाबाट नै होटलमा बस्ने र भाडा तिर्ने गरेको उनले बताए । गाउँमा बसेर अरु काम गर्नुभन्दा यसमा आम्दानी राम्रो भएको उनको अनुभव छ ।

युवा पुस्ताले राडी खासै नरुचाएको गुरुङको अनुभव छ । बुढापाकाले मात्रै रुचाउने हुँदा अहिलेसम्म बजार पाए पनि भविष्यमा नपाउने हो कि भन्ने चिन्ता उनीमा छ । ‘विदेशमा बनेका महङ्गा ओड्ने ओच्छाउनेभन्दा यसको फाइदा धेरै छ’, उनले भने ।

राडी बनाउन भेडाको ऊन किन्न टाढाटाढासम्म पुग्नुपर्ने हुन्छ । केही वर्ष पहिलेसम्म उनको गाउँमै भेँडापालन गरिन्थ्यो । गाउँमै ऊन पाइने हुँदा सजिलो भए पनि अहिले ऊनका लागि धेरै ठाउँ धाउनुपर्ने हुन्छ ।

सामुदायिक वनमा खुलारूपमा वस्तुभाउ चराउन नपाउँदा धेरैले पशुपालन छाडिसकेको गुरुङले बताए । भेंडाको ऊनलाई धोइपखाली गरी सुकाएपछि त्यसलाई कपास जस्तै गरेर फिट्नु पर्छ । त्यसपछि डोरी जस्तै बाट्ने र तान बनाएर राडी बनाउने गरिन्छ । एउटा परिवारका पाँच–छ जनासम्म खटिँदा १० देखि १२ दिनसम्ममा एउटा राडी बन्छ । युवापुस्ता विदेश जान थालेपछि राडी बनाउनेको संख्या घट्दै गएको गुरुङ बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७