अप्ठ्यारो बाटो छिचोल्दै बिन्दा


२९ माघ २०७५, मंगलवार
binda ghimire

संघीय राजधानी काठमाडौंदेखि धेरै टाढा छ, ताप्लेजुङ सदरमुकाम फुङलिङ । ६ सय ७५.५ किलोमिटर टाढा । फुङलिङबाट पनि टाढा छ, ढुंगेसाँघु । सदरमुकामबाट करिब चार घण्टाको पैदल यात्रापछि पुगिन्छ, ढुंगेसाँघु । जननेता मदन भण्डारीको जन्मस्थान भएकाले ढुंगेसाँघु चर्चित छ । त्यही चर्चित गाउँ साविकको गाविस ढुंगेसाँघुको तेल्लाबुङ भन्ने गाउँमा जन्मिएकी हुन्, नेपाल नर्सिङ परिषद्की रजिष्ट्रार बिन्दा घिमिरे ।

तेलाबुङ भौगोलिक रुपमा विकट । तर, पुगेसकेपछि फाँटिलो गाउँ । ताप्लेजुङकै सबैभन्दा राम्रो सुन्तला फल्ने गाउँ समेत हो । भौगोलिक रुपमा विकट भए पनि शैक्षिक रुपमा अगाडि छ, यो गाउँ । गाउँको एउटा मध्यम वर्गीय परिवार । दाजु तत्कालिन नेकपा मालेको पार्टीको भूमिगत राजनीतिमा । त्यही प्रभावले स्कुल पढ्दा–पढ्दै अनेरास्ववियुमा संगठित भइन् बिन्दा । भन्छिन्, ‘स्कुल पढ्दा नै अखिलको सम्पर्कमा रहेर काम गरेकी हुँ ।’

घरबाट एक घण्टाको दूरीमा छ मैवाखोला मावि । पहाडी जिल्ला । बिहान–बेलुका काम गरेर स्कुल पढ्नु सबैको दैनिकी नै हुन्छ । पञ्चायतीकालमा भूमिगत कम्युनिष्ट राजनीतिलाई सहयोग, बिहान–बेलुका घरको काम । घर चलाउन बिहान बेलुकी घरको काम, घाँस दाउरा गर्नुपथ्र्यो । कामबाट अलिकति बचेको समयमा पढ्नुपथ्र्यो । तर, पनि पढाईमा अब्बल थिइन् ।

binda ghimire

त्यही अप्ठ्यारोबीच पनि कक्षा १० मा पुग्दा कक्षाको प्रथम, जिल्लाभरी तेश्रो र जिल्लाभरीको महिलामा एक नम्बर भइन् । दुर–दराजको जिल्लाको पनि दुर्गम गाउँ । पञ्चायती समय । पहिलो त महिलाहरु स्कुल जानु नै दुर्लभ घटना जस्तै थियो । उत्कृष्ट हुनु निकै उपलब्धीको बिषय मानिन्थ्यो । गाउँलेहरु भन्थ्थे, ‘होइन यो बिन्दाको दिमाग पनि कस्तो छ ? बिहान बेलुकी काम गर्दै गाउँमा पढेर पनि जिल्ला भरीकोलाई पछार्छिन् ।’

ताप्लेजुङ यसै विटक जिल्ला । उपचार नपाएर सर्बसाधरण नागरिक मर्नु पर्ने वाध्यता सामान्य जस्तै थियो । उनी त्यो नियतिको साक्षी थिइन् । त्यसले उनले एसएलसीपछि स्वास्थ्य शिक्षा रोजिन् । उ बेला ताप्लेजुङकाे ढुंगेसाँघुबाट काठमाडौं आउन संखुवासभाको गुफापोखरीको विकट बाटो भएर तीनजुरे, मिल्के हुँदै तेह्रथुमको बसन्तपुर छिचोल्नु पथ्र्यो ।

लेकाली बाटो भएर २ दिनको पैदल यात्रापछि आइपुगिन्थ्यो, धनकुटाको हिले बजार । त्यही बाटो छिचोलेर उच्च शिक्षाका लागि धनकुटाको हिलेबाट गाडी चढेर काठमाडौं आइन् । त्यसो त त्यो बेला उच्च शिक्षाको लागि काठमाडौं आउनु पनि चानचुने कुरो थिएन । भन्छिन्, ‘उच्च शिक्षाको लागि काठमाडौं आउदा म खुसी थिए । रोमाञ्चित थिएँ ।’

डाक्टर छोडेर नर्सिङमा
दाइको चाहना थियो, ‘बैनीले डक्टर पढोस् ।’ तर उ बेला सीमित कोटा थियो । त्यो वर्ष डाक्टरमा नाम निस्केन । यसपछि उनले त्रिविको महाराजगञ्जस्थित नर्सिङ क्याम्पसमा नर्सिङको पढ्ने निधो गरिन्। त्यो बेला नर्सिङमा नाम छनोट हुनु ठुलै उपलब्धीको बिषय हुन्थ्यो । एस.एल.सीमा प्राप्त प्रतिसतको आधारमा छनोट गरिन्थ्यो । अहिलेको जस्तो निजीस्तरमा चलाइएका नर्सिङ कलेजहरु थिएनन् । धेरै ठुलो प्रतिस्पर्धामा उनको नाम पनि छनोट भयो ।

महाराजगञ्ज नर्सिङ क्याम्पसमा पढाइसँगै अखिलको प्रारभ्मिक कमिटीमा संगठित भएर सक्रिय पनि गरिन् । बिन्दा २०४७ सालमा नर्स बनिन् । अर्थात् नर्सिङमा प्रविणता प्रमाण पत्र तह पास गरिन् । पास गरे लगत्तै कान्ति बाल अस्पतालमा काम शुरु गरिन् । डेढ बर्ष कान्ति बाल अस्पतालमा काम गरेपछि उनी पोखरा गइन् । पोखरा नर्सिङ कलेजमा पढाउन गइन् । करिब साढे–दुई बर्ष पोखरामा नर्सिङ पढाइन् । त्यो बेला नर्सिङमा तीन बर्ष काम गरेपछि मात्रै बि.एन अर्थात् नर्सिङमा स्नातक पढ्न पाइन्थ्यो । २०५१ सालमा नै उनी सरकारी सेवामा स्थायी पनि भइन् ।

पोखराबाट फर्केर महाराजगञ्ज नर्सिङ क्याम्पसमै बि.एनको प्रवेश परिक्षामा दिइन् । त्यो बेला बि.एनमा पनि उस्तै कडा प्रतिस्पर्धा हुन्थ्यो । २०५५ सालमा महाराजगञ्ज नर्सिङ क्याम्पसबाट बि.एन गरिन् । त्यो बेला नर्सिङमा बि.एन गर्नेहरुको संख्या सीमित थियो । पढेपछि जागिरको कुनै समस्या नै थिएन । बिन्दाले वीर अस्पतालमा काम शुरु गरिन् ।

वीर अस्पतालमा कामसँगै ‘पार्ट टाइम’ मा नर्सिङ पढाउन पनि शुरु गरिन् । त्योसँगै नर्सिङ क्षेत्रको बिभिन्न अभियान र आन्दोलनहरुमा पनि उत्तिकै सक्रिय भइन् । यही क्रममा नर्सिङ संघको सदस्यमा देशभरीका प्रतिनिधिहरुको मत पाएर विजयी भइन् । सरकारी कलेजमा नर्सिङको एम.एन अर्थात् ‘मास्टरर्स इन नर्सिङ’ मा अहिले पनि सीमित कोटा छ । प्रतिष्पर्धा धेरै । उनले उ बेला नै एम.एन पढ्का लागि एक नम्बर नाम निकालिन् । अहिले पनि एम.एन पढ्नका लागि एक नम्बरमा नाम निकाल्नु धेरै उपलब्धी मानिन्छन् । बिन्दाले २०६५ मा एम.एन गरिन् ।

Binda Ghimire

नर्सिङमा निरन्तर 
विन्दा २०४७ सालदेखि निरन्तर नर्सिङ क्षेत्रमा क्रियाशिल छिन् । त्यसो न उनी केवल नर्स मात्रै भएर काम गरिनन् । बिन्दा नर्सिङ क्षेत्रको नीति निर्माणदेखि नर्सिङ क्षेत्रका लागि चलाइने अभियान र गरिने सबै आन्दोलनमा सक्रिय छिन् । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको नर्सिङ कलेजमा सह–प्राध्यापक रुपमा लामो समय काम गरिन् ।

प्राध्यापन गर्नुका आफ्ना खुसीहरु पनि छन् । उनले पढाएका धेरै विद्यार्थीहरु पिएचडीका लागि गएका छन् । नर्सिङ क्षेत्रको अब्बल स्थानमा पुगेका छन् । भन्छिन्, ‘मैले पढाएका विद्यार्थीहरुको प्रगति देख्दा खुशी लाग्छ ।’ त्यसो त पढाउनु भन्दा अस्पतालको काम चाहिँ महत्वपूर्ण मान्छिन् उनी । भन्छिन्, ‘हाम्रा लागि अस्पतालको काम नै महत्वपूर्ण हो ।’ एम.एन सकिए लगत्तै वीरको ‘न्युरो सर्जिकल आइसियु’ मा इन्चार्जको रुपमा काम गरिन् । डा. उपेन्द्र देवकोटाको टिममा रहेर काम गरिन् । चुनौतीपूर्ण मानिने आइसियु, सिसियुको इन्चार्ज भएर काम गरिन् ।

काम, अभियानसँगै बिन्दाले पुस्तक समेत लेख्न भ्याइन् । ‘कम्युनिटी हेल्थ नर्सिङ’ का बिषयमा उनको तीन वटा पुस्तक प्रकाशित छन् । ती पुस्तकहरु बिभिन्न नर्सिङ्ग कलेजको पाठ्यक्रममा समावेश छन् । एक दशकयता उनी नर्सिङ क्षेत्रको नीति निर्माण र पाठ्यक्रम निर्माणमा नेतृत्वदायी भूमिकामा छिन् । जर्नलहरुमा उनको अनुसन्धानमुलक आलेखहरु प्रकाशित छन् । नर्सिङ क्षेत्रको गहिरो ज्ञान राख्ने भएकै कारण उनलाई २०७१ सालमा सरकारले नेपाल नर्सिङ परिषद्को सदस्य पदमा नियुक्त गर्‍ यो । त्यसअघि उनले नेपाल नर्सिङ संघको सदस्यको रुपमा एक कार्यकाल काम गरीसकेकी थिइन् ।

नर्सिङ परिषद्मा सदस्य रहँदा ‘शिक्षा तथा प्रकाशन समिति’ को संयोजकको भूमिकामा रहेर जिम्मेवारी सम्हालिन् । यो समितिले पाठ्यक्रम हेरेर सुझाव दिने, जर्नल प्रकाशन गर्ने, नर्सिङ कलेजहरुको मापदण्ड तयार गर्नेलगायतका काम गर्छ । उनी संयोजक रहेको यो समितिले नर्सिङ परिषद्मा असाध्यै राम्रो काम गर्यो । सबैबाट उनले प्रशंसा समेत बटुलिन् । २०७५ असारमा नर्सिङ परिषद्को तात्कालिन रजिष्ट्रार लक्ष्मी राईको समयअवधि सकियो । अवधि सकिएपछि राईले अवकाश लिइन् । यसपछि परिषद्कै सदस्य भएको कारण बिन्दालाई गत २०७५ असार २१ गते नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी दिइयो । यसपछि २० साउन २०७५ मा उनलाई रजिष्ट्रारको जिम्मेवारी दिइयो ।

तर, सधैं बल्झिरहने बिन्दाको दुःख
सह–प्राध्यापक बिन्दा घिमिरेको अहिलेको परिचय हो, नेपाल नर्सिङ परिषद्की रजिष्ट्रार । नर्सिङ क्षेत्रमा उनको यो परिचय आफैमा काफी छ । बिन्दा घिमिरे भन्ने बित्तिकै नर्सिङ क्षेत्रले थाहा पाउँछन् । तर, उनको अर्को पनि परिचय छ । त्यो परिचय, त्यस्तो परिचय हो, जुन परिचयबाट आम मान्छेले बढी उनलाई चिन्छन् । त्यो हो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईकी श्रीमती । जोसँग बिन्दाको पोखरा नर्सिङ कलेजमा पढाउँदै गर्दा विहे भएको थियो ।

त्यसो त प्रेम र पारिवारिक हिसाबले बिन्दाका लागि योगेश भट्टराईसँगको परिचय प्रिय छ । आफ्नो श्रीमान राजनीतिको यो उचाईमा पुगेको देख्दा उनलाई खुशी र गर्व दुबै छ । तर, आफूसँग जोडेर योगेश भट्टराईप्रति उठाइने प्रश्न र गरिने आलोचना भने उनको लागि पीडदायी छ । भन्छिन्, ‘कुनै आधार नभएको बिषयमा मेरो नाम जोडेर उहाँलाई बदनाम गर्न खोजिदा चाहिँ दुःख लाग्छ ।’

बिन्दा आफ्नो बिषयमा गहिरो ज्ञान राख्छिन् । अगुवाइ गर्छिन् । नेतृत्व गर्छिन् । तर, बिरोधीहरुले हल्का गरी भनिदिन्छन्, ‘योगेश भट्टराईको कारण पाइन् ।’ त्यसो त त्यो अहिले मात्रै होइन । सधैं दोहोरिहन्छ । धेरै प्रसङ्गमध्ये एउटा सुनाइन् । उतिबेला एम.एनको प्रवेश परीक्षामा चर्को प्रतिष्पर्धा हुन्थ्यो । त्रिविको चिकित्सा शिक्षाको परिक्षा प्रणालीलाई हमेशा प्रश्न उठाइएको छैन । बिन्दाले एम.एनको प्रवेश परीक्षामा पहिलो नम्बरमा नाम निकालिन् । तर भनियो, ‘योगेशले गर्दा पहिलोमा नाम निस्कियो ।’ बिन्दा भन्छिन्, ‘जहाँ उहाँको कुनै सहयोग कल्पना नै गरिएको हुँदैन अथवा चाहेर पनि सहयोग सम्भव नै हुँदैन त्यही उहाँलाई जोडिन्छ दुःख लाग्छ ।’

योगेश विद्यार्थी कालदेखि नै सक्रिय र चर्चित नेता । बिहानदेखि नसुतेसम्म असाध्यै व्यस्त रहन्छन् । योगेशले बिन्दाका लागि होइन बिन्दाले योगेशका लागि राजनीतिमा लाग्ने समय र वातावरण सिर्जना गरीदिनु पर्ने हुन्छ । भन्छिन्, ‘सधैं व्यस्त हुनुहुन्छ । मैले उहाँका लागि अनुकूल वातावरण तयार पारीदिने हो । सहयोगको आशा उहाँबाट मैले होइन उहाँले मबाट गर्ने हो ।’

बिन्दा योगेशसँग आफ्नो नाम जोडेर आफ्नो आलोचना गरिएको भन्दा पनि ‘श्रीमतीका लागि योगेश भट्टराईले यो गर्‍ यो, त्यो गर्‍ यो, ’ भन्नेतिर चाहिँ बढी उनी संवेदनशील छिन् । भन्छिन्, ‘मैले मेरै संघर्ष र क्षमताका कारण कुनै पदमा पुगे पनि योगेशको कारण पायो भन्ने टिप्पणीले मलाई खास असर गर्दैन, किन भने मेरो बिषय र क्षेत्रका साथीहरुलाई मेरो काम बारेमा थाहा छ । तर, योगेशले श्रीमतीका लागि यो गर्‍ यो , त्यो गर्‍ यो भन्ने कुराले उहाँलाई असर गर्छ नि ! किनभने सबैलाई थाहा छैन । यसले चाहिँ मलाई दुःख लाग्छ ।’

बिन्दा आफ्नो भन्दा योगेशको ‘करिअर’ प्रति बढी सचेत छिन् । आफ्नै क्षमताले केही काम गर्दा पनि ‘योगेशलाई असर पर्छ की वा नाम जोडिन्छ की ?’ भनेर मनको एउटा कुनोमा अप्ठ्यारो लागिरहन्छ । पछिल्लो समयमा नेपाल नर्सिङ परिषद्को रजिष्ट्रार पदको बिषयमा पनि योगेशको नाम जोडियो ।

बिन्दा जतिबेला नर्सिङ परिषद्को रजिष्ट्रार बन्दै थिइन् । त्यो बेला पनि उनको मन उस्तै अशान्त थियो, किनभने उही पुरानो दुःख बल्झेला भन्ने लागेको थियो । उनको एउटाले भन्यो, ‘होइन, बन्नुपर्छ यतिका संघर्ष र कामहरुबाट आइपुगेकी हुँ ।’ अर्को मनले सोध्यो, ‘आक्रमणको शिकार बन्नुभन्दा चुपचाप बसौं की ?’ सुनाईन्, ‘यस्तो बेला खुसी र चिन्ता दुबै हुन्छ ।’

तर, साथीभाई र सरोकारवालाहरु सबैले भन्यो, ‘बिन्दा, तिमि नेपाल नर्सिङ परिषद्को रजिष्ट्रारमा जानैपर्छ ।’ भन्छिन्, ‘उहाँसँग नाम जोड्छन् भन्ने कुरामा म सचेत थिए । म जाँदिन पनि भनेकी थिए । तर, सबैको हौसला र प्रोत्साहनले गर्दा म हार्न सकिँन । गए ।’

अप्ठ्यारो बाटोमा बिन्दा 
अध्ययन र जागिरसँग लुकमारी गर्दै संघर्ष गरीरहेकै बेला चर्चित विद्यार्थी नेता योगेश भट्टराईसँग विहे भयो । मान्छेहरु देख्छन्, ‘योगेशको कारण यिनी माथि पुगिन् । तर, कहिल्यै सोच्दैनन् योगेश भट्टराईलाई बिन्दाको साथ छ ।’ योगेश राजनीतिमा सधैं सक्रिय छन् । अखिलदेखि यहाँसम्म आइपुग्दा सधैं सक्रिय । जतिबेला बिन्दाको पढाई चल्दै थियो, त्यो बेला योगेश सधैं जोखिम र चुनौतीपूर्ण अवस्थामा थिए । एक हिसाबले आगोसँग खेलिरहेका थिए, योगेश ।

परीक्षा आइरहेको हुन्थ्यो । पढ्न पर्ने समय हुन्थ्यो । तर, योगेशलाई प्रहरीले उठाएर लैजान्थ्यो । ‘कहाँ लग्यो, किन लग्यो ?’ पढाई छोडेर त्यता दगुर्नु पथ्र्यो । घरमा नेता कार्यकर्ताहरुको ओहोर–दोहोर चलिरहन्छ । यीबाट बचेको समयबाट पढ्न पर्ने बाध्यता । तर पनि उनी खुशी छिन् । भन्छिन्, ‘मैले उहाँको लागि सहयोग गर्न पाउँदा खुशी छु । तर, मैले आफ्नै मेहेनत र प्रयासले गरेको कामलाई लिएर उहाँको बदनाम गर्न खोज्दा चाहिँ पीडा हुन्छ ।’

उनी अहिले जहाँ छिन्, त्यो बाटो सजिलो भने छैन । भन्छिन्, ‘एकजना नेताको परिवार र श्रीमतीले बेहोर्नुपर्ने अप्ठ्यारो जे हुन्छ, मैले त्यो सबै भोगेकी छु ।’ तर त्यही अप्ठ्यारोलाई छिचोलेर आफ्नो क्षेत्रमा आफू स्थापित हुँदा पनि आलोचना भइरहदा पनि उनीलाई दुःख लाग्छ । आलोचकहरुलाई सोध्छिन्, ‘के नेताको श्रीमती चहिँ कुनै क्षेत्रमा पुग्नु वा स्थापित हुनु उसको कमजोरी हो ?महिलाहरुलाई हेर्ने हाम्रो समाजको यो कस्तो चश्मा हो ?’

‘मेरा लागि आलोचना उर्जा हो, कामले नै उत्तर दिन्छु’ 
नर्सिङ काउन्सिलको रजिष्ट्रार पदको आलोचनाको बिषयमा उनी त्यतिधेरै बोल्न मानिनन् । भनिन्, ‘आलोचनाहरुको खण्डन जरुरी छैन । गर्दिन पनि । योगेशको कारण म रजिष्ट्रार बनेको देख्नेहरुलाई मेरो धन्यवाद नै छ । किनभने सबै खालका चेतना र दृष्टिकोणहरुलाई सम्मान गर्नुपर्छ । मेरा लागि यो उर्जा हो । सबै प्रश्नहरुको उत्तर कामबाटै नै दिन्छु ।’ महिलाहरुप्रति गरिने हल्का प्रश्न र टिप्पणीप्रति भने उनको गुनासो छ । उनको प्रश्न छ, ‘के कुनै नेता अथवा जिम्मेवारीमा रहेका श्रीमतीहरुले चाँहि केही गर्न नै नपाउँने ? म मात्रै होइन यो सबै महिलाहरुको साझा प्रश्न हो ।’

नर्सिङ क्षेत्रको सुधारका लागि निकै लामो योजना बनाएकी छिन्, बिन्दाले । भनिन्, ‘म एकैचोटी रजिष्ट्रार भएकी होइन । नर्सदेखि इन्चार्ज, विद्यार्थीदेखि गुरुसम्म भएर काम गरेकी छु । सबै तहको पीडा र समस्या बुझेकी मात्रै होइन भोगेर आएकी हुँ । ती सबैलाई हेरेर नीति निर्माणको प्रयासमा छु ।’

संवादको अन्तिममा सोधेँ, ‘यसरी आलोचना हुँदा कहिलेकाही केही नगरी बसौं जस्तो लाग्दैन ?’ ‘मौसम–बेमौसमका आग्रहपूर्ण आलोचना र भ्रमपूर्ण प्रश्नहरुसँग तर्सिएर भाग्न थाल्यो पनि सफलता पनि भागीहाल्छ नी,’ फिस्स हासेर भनिन्, ‘यस्ता आलोचना र प्रश्नहरुले बरु उर्जा दिन्छ । दौडिरहन प्रोत्साहित गर्छ ।’


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७