हायु युवा-युवतीले विवाह गर्ने जोडी नपाउँदा समस्यामा

गाईघाट, २९ माघ । नेपालमा नै अल्पसंख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसंख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ ।

कटारी नगरपालिका–१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका–१६ सुकौरामा बसोबास गर्ने दुई घरमात्र हायु रहेको उदयपुरमा अहिले हुर्केका छोरा तथा छोरीमा परम्परागत जातीय विवाह गर्न समस्या आउन थालेको स्वयम् हायुका बूढापाका बताउँछन् ।
कटारी सिरवानीका ७० वर्षीय पञ्चमान हायुले भने, ‘आफूहरूको पुर्ख्याैली थलो रामेछाप हुँदै पुर्खा उदयपुर आइपुगे, पहिला–पहिला त दुई थरीका हायु भएको कारण विवाह चलाइयो, अब भने एकअर्कामा मामा, भान्जाभान्जी पर्न थालेपछि युवा–युवतीको विवाहमा समस्या आउन थाल्यो ।’
सिरवानीकै अर्का तेजबहादुर हायुका अनुसार उदयपुरमा अहिले दुईथरीका बालुङ्लोचा र कमालोचा जातिका हायु बसोबास गर्दै आएका छन् । जम्मा सातघर हायु परिवार रहेकोमा पहिला–पहिला यी दुई हायुबीच विवाहवारी चले पनि अहिले भने दुवैको छोराछोरी नाता कुटुम्बको कारण भन्जाभान्जी, मावली दाजुभाइ, दिदीबहिनी प्रत्यक्ष साइनो परेका कारण विवाह नचल्ने भएपछि जिल्लाभित्र विवाह गर्न समस्या हुन थालेको कटारी सिरवानीका तेजबहादुर बताउँछन् ।
सुकौराका बद्री हायुका अनुसार आफूहरू पहिला मकवानपुरदेखि उदयपुर आए पनि उदयपुरको बालुङलोचा हायुसँग ससुराली सम्बन्ध भएपछि छोराछोरीको मावली परेका कारण उनीहरूको छोराछोरीसँग आफूहरूको छोराछोरीको विवाह नचल्ने बताउँछन् ।
अल्पसंख्यक रूपमा बसोबास गर्दै आएका उदयपुरका केही हायुका छोराछोरीले अहिले जिल्लाभित्र आफ्नो जातिसँग विवाह गर्न नभएपछि अन्तर जातीय विवाह गर्न थालेकाले जिल्लाबाट नै भविष्यमा आफूहरूको जातिको अस्तित्व नै हराउने त हैन भन्ने चिन्ताले सताएको बद्री हायु बताउँछन् ।
छोराछोरीको विवाहको विषयमा सुकौराका ६० वर्षीया कमला हायु भन्छिन्, ‘छोरीले अन्तर जातीय केटासँग विवाह गरिन्, छोराले पनि यसै गर्छ भनेर भर्खरै टाढा सिन्धुलीसम्म पुगेर बल्ल एउटा आफ्नै जातको बुहारी भित्र्याउन सफल भएका छौं ।’
अब जिल्लाभित्र केटाकेटीमा विवाह नभएपछि छोराछोरीको अस्तित्व जोगाउन पनि अहिले बुहारी तथा ज्वाईं खोज्न टाढाको बाहिर जिल्ला जान बाध्य हुन परेको सुकौराकै अर्का शङ्कर हायु बताउँछन् । नेपाल आदिवासी तथा जनजाति महासङ्घ उदयपुरका अध्यक्ष केशव मगरका अनुसार उदयपुरमा अहिले सात घर हायु रहेको र उनीहरूको संख्या झण्डै ५५ जना रहेको छ ।
हाल वर्तमान अवस्थामा हायुको मुख्य थलो रामेछाप, मकवानपुर, सिन्धुली, काभ्रे, ओखलढुङ्गा, भोजपुरलगायतका जिल्लामा मात्र रहेको उदयपुरका हायु परिवार बताउँछन् । अहिले उदयपुरका हायुमा आफ्नो जातिको अस्तित्व संकटमा परेकाले अस्तित्व बचाउने नै पहिलो संकट रहेको हायु बताउने गर्दछन् ।
हुर्केका छोराछोरीले जिल्लाभित्र विवाह गर्ने जोडी समेत पाउन छाडेपछि छोराछोरीको विवाह गर्न जोडी खोज्न ओखलढुङ्गा, सिन्धुली, काभ्रे वा मकवानपुरसम्म पुग्नुपर्ने बाध्यता रहेको समेत हायु बताउँछन् । परम्परागत खेतीपाती गरेर जीवन गुजारा गर्दै आएका उदयपुरका अल्पसंख्यक हायुमा अहिले छोराछोरी हुर्केपछि जोडी खोजेर विवाह गरिदिने र आफ्ना जातीय अस्तित्व बचाउने समस्या र चिन्ताले नै बढी सताएको हायु अगुवा शङ्कर हायु बताउँछन् ।