थाइल्याण्डकी राजकुमारी उबोलरतना प्रधानमन्त्री उम्मेद्वारका लागि अयोग्य घोषित

काठमाडौं, २९ माघ । थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेद्वार समेत बन्न नपाउने भएकी छन् ।

गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेद्वारी दिने घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेद्वार बन्न अयोग्य रहेको घोषणा गरेको हो । थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाइ रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गरेकी थिइन् ।
उनले उम्मेद्वारी घोषणा गरेको केही घण्टामै उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएका थिए । उनी अहिले पनि राजपरिवारको सदस्य भएकाले राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाइ थियो ।
थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रूपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाइन्छ । राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।
उनको घोषणापछि थाइल्याण्डसहित विश्वभरी नै भावी राजनीतिका बारेमा अनेक चर्चा र अनुमानहरू गरिएको थियो । आउँदो मार्च २४ का दिन हुने आम निर्वाचनका लागि राजकुमारीलाई अगाडि सारेको रक्षाचार्टले अब अर्को उम्मेदवारलाई अगाडि बढाउनुपर्ने भएको छ ।
प्रधानमन्त्रीका लागि विगत पाँच वर्षदेखि थाइल्याण्डको सत्तामा रहेका सैनिक नेता प्रयुत चान–ओ–चाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । सैनिक विद्रोहमार्फत् राजनीतिमा आएका प्रयुतले यस पटकको निर्वाचनमार्फत् आफूलाई नागरिक नेताका रूपमा स्थापित गराउने प्रयासमा छन् ।
उनलाई थाइल्याण्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्ने गरेको पाइन्छ । उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो ।
त्यसपछि सन् २०१४ मा उनकी बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो। तर उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो। उनीहरू अहिले निर्वासनमा छन् भने देशबाहिरैबाट देशभित्रको राजनीतिलाई निर्देश गर्छन् । रासस–एएफपी