असिना र वर्षाबाट क्षति हुनेहरुका लागि राहतका कार्यक्रम ल्याउनुपर्छ

काठमाडौं, २९ माघ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले मुलुकको शान्ति सुरक्षा, चिया मजदुरको न्यूनतम पारिश्रमिक, हालैको वर्षाबाट इँट्टा उद्योग र बालीनालीमा पुगेको क्षतिलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा सांसद लक्ष्मी परियारले मुलुकमा भइरहेका हत्या, हिंसा र बलात्कारका घटनाले नेपाली जनताले आफूलाई सुरक्षित रहेको महसुस गर्न नपाएको धारणा व्यक्त गरिन् ।
सांसद विमला विश्वकर्माले सरकारले चिया उद्योगमा कार्यरत मजदुरका लागि सरकारले एक वर्षअघि घोषणा गरेको न्यूनतम ज्याला अझै पनि कार्यान्वयन नआएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा तत्काल पहल गर्न माग गरिन् ।
सांसद विरोध खतिवडाले निजी तथा सामुदायिक माध्यमिक विद्यालयमा कूल विद्यार्थी संख्याको १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था भए पनि त्यसपछि उच्च तहको शिक्षामा उक्त व्यवस्था नहुँदा विद्यार्थीलाई कठिनाई भएको बताए ।
सांसद सविना हुसेनले केही दिनअघिको असिना र पानीले रौतहटका इँट्टा उद्योग र बालीनालीमा ठूलो क्षति भएको हुँदा उद्योगी तथा किसानलाई राहतका कार्यक्रम घोषणा गर्न माग गरिन् ।