३३ किलो सुन तस्करी र सनम हत्याकाण्डमा पक्राउ परेका उच्च प्रहरी अधिकारीसहित १३ जना छुटे, को–को छुटे ?


२९ माघ २०७५, मंगलवार
gold 1

मोरङ, २९ माघ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा मुछिएपछि पक्राउ परेकामध्ये १३ जना रिहा भएका छन् ।

gold 1

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा साधारण तारेखमा छाड्न माग गर्दै अदालती बन्दोवस्तीको १७ नम्बर पुनरावेदन गर्ने सबैको निवेदनमा आदेश भएको हो । उच्च अदालतमा सुनुवाई भएका ४३ निवेदन उपर ३१ वटा आदेश भएका हो । आदेश भई १३ जना रिहा भएका छन् । साधारण तारेखमा चार उच्च प्रहरी अधिकृत र नौ जना धरौटीमा रिहा भएको अदालतले जानकारी दिएको छ ।

प्रहरीद्वारा अदालतमा पेश गरिएका अभियुक्तमध्ये उच्च अदालत विराटनगरको आदेशमा पूर्व डिआईजी गोविन्द प्रसाद निरौला, बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसी साधारण तारेखमा रिहा भए ।

सो मुद्दााम १० लाख रुपैयाँ धरौटीमा ६ जना छुटेको उच्च अदालत विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिएका छन् । जसमा विमल पोद्धार, राजेन्द्रकुमार शाक्य, राजकुमार दारुका, माधव भन्ने मदन प्रसाद घिमिरे, अबु आलम भनिने शैयद अकबर र डब्बु भनिने इस्तियाद उद्धिन छन् ।

अकबर र उद्धिन गत विहीबार कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश लेखनाथ घिमिरेको आदेशमा रिहा भएका हुन् । पाँच लाख रुपैयाँ धरौटीमा छुट्नेहरुमा तीन जना रामकुमार तिवारी, मदन सिलवाल र प्रभात अग्रवाल छन् । उच्च अदालतमा गत साउन ३१ गतेदेखि सुरु भएको सुनुवाई माघ २४ गते पूरा भएको हो ।

जिल्ला अदालत मोरङले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएका १७ जनाको हकमा भने उच्चले पनि थुनामै राख्ने आदेश सदर गरेको छ । जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएकोमा त्यसलाई बदर गरी दुई जनाको विष्णुबहादुर पौड्याल र अमर बहादुर थापाको आदेश उल्ट्याएर थुनामा राख्न भनेको थियो ।

उच्च अदालतले सम्बिरप्रसाद तोलाङ्गे, पूण्यप्रसाद लामा, राजनकुमार, हेमन्त गौतम, राजन थापा, टेकराज मल्ल ठकुरी, महावीरप्रसाद गोल्यान, तुलाराम थारु, लाक्पा शेर्पा, संजयबहादुर राउत, लालबहादुर मगर, कृष्ण भनिने नरेन्द्र कार्की, मोहन काफ्ले, गोपालकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, श्यामबहादुर खत्री, अमरमान डंगोल, भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, रामहरि सुवेदी, लक्ष्यबहादुर गुरुङ, रेवतकुमार आचार्य, डा. डेभिज भनिने छिरिङ वाग्ले घले, बेनु श्रेष्ठ, बालकृष्ण खड्का र ठाकुरप्रसाद ढुंगानालाई थुनामै राख्ने आदेश दिएको छ ।

यो घटनामा ७५ जनाविरुद्ध मुद्दा चलाइएकोमा प्रहरीले जिल्ला अदातल मोरङ समक्ष ४५ जनालाई पेश गरेको थियो । उनीहरुमध्ये ४३ जनाले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा साधारण तारेखमा छाड्न माग गर्दै अदालती बन्दोवस्तीको १७ नम्बर पुनरावेदन गरेका थिए ।

घटनामा संलग्न भएको अभियोग लगाउँदै जिल्ला प्रहरी कार्यालय मोरङले २०७४ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी १७ अर्ब १ करोड ८० लाख मूल्य बराबरको करीब ३८ क्विन्टल सुन तस्करी गरेको आरोपमा चूँडामणि उप्रेती (गोरे), प्रहरीका बहालावाला र पूर्व उच्च अधिकृतसहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । पूरक अभियोग लगाइएका समेत प्रहरीले विभिन्न समयमा ४५ जना अभियुक्तलाई अदालतमा पेश गरेको थियो ।

२०७४ मंसिरमा थाई एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा झारिएको साढे ३३ किलो सुन गायब बनाइएको थियो । २०७४ फागुन १८ गते यसका नाइके चूँडामणि उप्रेती (गोरे) का सहयोगी मोरङ उर्लाबारीका युवा सनम शाक्य हत्या भएपछि घटना बाहिर आएको थियो । सुन पठाउने क्रममा माघ ९ गते बाटोबाटै गायब भएको थियो ।

घटनापछि प्रहरीले गरेको अनुसन्धानको क्रममा संगठित रुपमा विभिन्न समयमा करिब साढे ३८ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । सरकारले यो घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । सुन तस्करी मुद्दा हेरिरहेका उच्च अदालत विराटनगरका न्यायाधीशलाई सर्वोच्चले काजमा तानेको छ ।

काजमा गएका न्यायाधीशले जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका सुन तस्करी र सनम शाक्य हत्या अरोपका अभियुक्तहरुमध्ये कतिपयलाई सादा र केहीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । नेपालबाट गायब भएको भनिएको ३३ किलो सुन भारतमा बरामद भइसकेको भए पनि नेपाल झिकाउनका लागि पहल भइरहेको छ । तर, भारतको आनाकानीका कारण हराएको सुन कहिले नेपाल आउँछ वा आउँदैन भन्ने कुनै टुङ्गो लागिसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७