मापदण्ड विपरीतका अङ्गरक्षक खोसिंदै, यी हुन् अङ्गरक्षक खोसिनेहरु


१ फाल्गुन २०७५, बुधबार

काठमाडौं, १ फागुन । नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ ।

nepal police WW1clRuZ8f

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि विपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरूको सुरक्षामा मापदण्ड विपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाइएको हो । यस्ता दुई सय ८० जना प्रहरीलाई नियमित ड्युटीमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘जसजसका लागि अंगरक्षक खटाइएको छ, उनीहरूलाई सुरक्षा थ्रेट नदेखिएकाले २०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो । अहिलेसम्म दुई सय ८० जना फिर्ता भएका छन्, यो क्रम जारी छ’, स्रोतले भन्यो ।

अंगरक्षक खोसिनेमा पूर्वमन्त्री गोविन्दराज जोशी, अमरेश सिंह, टेकबहादुर गुरुङ, रामकृष्ण यादवसहित पूर्व आइजिपीहरु हेम गुरुङ, रमेश चन्द ठकुरी, ओमविक्रम राणा छन् । त्यस्तै पतञ्जली योगका नेपाल प्रतिनिधि शालिकराम शर्माका अंगरक्षकलाई पनि फिर्ता बोलाइएको छ ।

विशिष्ट व्यक्ति सुरक्षा कार्य्विधि २०७० मा ‘आवश्यक परे वा सुरक्षा थ्रेट’ देखिए भन्ने वाक्यांशलाई दुरुपयोग गरी अनावश्यक रूपमा अंगरक्षक राख्ने परम्परा तोड्दै प्रहरी प्रधान कार्यालयले अंगरक्षक फिर्ता गर्न थालेको हो । त्यस क्रममा ११ पूर्व एआइजीको घरबाट २७ जना, २२ पूर्व डिआइजी र पाँच पूर्व एसएसपीको घरबाट ३७ अंगरक्षक फिर्ता गरिएको छ ।

गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा निर्देशिका २०७०’ परिमार्जन गर्दै नयाँ सुरक्षा निर्देशिका, २०७५ ल्याउन प्रस्ताव गरी मन्त्रिपरिषद्मा पठाएको छ । निर्देशिकामा विशिष्ट व्यक्ति पहिचान गर्दैे पूर्वमन्त्री, पूर्व मुख्यसचिव, पूर्वसांसद, पूर्व एआइजी, संवैधानिक निकायका पूर्व पदाधिकारीलगायतलाई अंगरक्षक नदिने उल्लेख गरेपछि ‘आवश्यक र्पयो भने सुरक्षाकर्मी उपलब्ध गराउन सक्ने’ शब्द थपिएको थियो ।

तर यही वाक्यांश सधैं दुरुपयोग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसरी फिर्ता हुनेमा प्रहरी नायब निरीक्षक (सई) एकजना, प्रहरी सहायक निरीक्षक (असई) १६ जना, हबल्दार ४१ जना, जवान ८० जना र प्रहरी कार्यालय सहयोगी २५ जना छन् ।

पूर्वमन्त्री, सासंदलगायत विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ११७ जनालाई फिर्ता बोलाइएको छ । जसमा सई २६ जना, असई २५ जना, हबल्दार ३७ जना, जवान २७ जना र प्रहरी कार्यालय सहयोगी २ जना छन् । प्रहरीका पूर्व अधिकारीहरुले भने अवकाश पाएको निश्चित समयसम्म मात्रै अंगरक्षक पाउने निर्णय हुने गरेको प्रधान कार्यालय स्रोतले जनाएको छ ।

‘संगठनमा बसेर कस्तो प्रकृतिको काम गरेको छ, उसलाई कस्तो थ्रेट हुनसक्छ भन्ने आधारमा एक वर्ष, दुई वर्ष वा बढीमा तीन वर्षसम्म अंगरक्षक खटाउने निर्णय हुने भए पनि सधैंका लागि दिने भन्ने नियम कतै छैन’, प्रधान कार्यालय स्रोतले भन्यो ।

प्रहरी प्रवक्ता एवं एसएसपी उत्तमराज सुवेदीका अनुसार सुरक्षा थ्रेट नभएकालाई सुरक्षाकर्मी खटाउँदा अनावश्यक भार बढिरहेकाले फिर्ता गर्नुपरेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै निर्देशनमा अंगरक्षकलाई फिर्ता बोलाएर नियमित ड्युटीमा खटाइएको सुवेदीले बताए ।

‘क्षणिक समस्या होला, त्यसलाई संगठनले पनि केही समय हेरिदिनुपर्छ भनेर अंगरक्षक र सहयोगी पठाइदिएको हुन्छ तर त्यसलाई लामो समयसम्म राख्ने प्रवृत्ति बढेपछि पूर्णत निरुत्साहित गर्नुपर्छ भन्ने प्रहरी प्रधान कार्यालयले नीति लिएको हो, यसमा कसैले अन्यथा लिन जरुरी छैन’, प्रहरी प्रवक्ता सुवेदीले भने ।

२०७४ चैतमा गृह मन्त्रालयले पूर्व सुरक्षा पदाधिकारीको सेवामा खटिएका तीन सय १५ प्रहरी फिर्ता बोलाउन निर्देशन दिएको थियो। ती सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएर राखिएको भन्दै फिर्ता बोलाउने निर्णय गृहले गरेको हो ।

तर त्यसको कार्यान्वयन गत दस महिनायता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गृहले सुरक्षा बाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको थियो । तर सशस्त्र प्रहरीले भने फिर्ता गरेको छैन। सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा राख्ने, सुरक्षा थ्रेट नभएकाहरूले पनि पहुँचको भरमा व्यक्तिगत काममा खटाउने गरेको भन्दै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको थियो ।

सुरक्षा थ्रेट भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर केही पूर्व प्रहरी अधिकारीहरूले सुरक्षागार्ड लिएको र सुरक्षा खतरा नहुँदा पनि तिनलाई फिर्ता नगरेको गृहको निष्कर्ष छ । गृहले यस्तो दुरुपयोग तत्काल रोक्न दुवै प्रहरी संगठनलाई निर्देशन दिएको छ । गृहका अनुसार सशस्त्र प्रहरी बलका पनि करिब पाँच सय सुरक्षाकर्मी बहालवाला विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीको सुरक्षामा खटिएका छन् ।

पूर्व गृहमन्त्रीद्वारा गाडी दुरुपयोग
पूर्व गृहमन्त्रीहरुले भने ठूलो संख्यामा सुरक्षाकर्मी र सरकारी गाडीको दुरुपयोग गरिरहेका छन् । बहालवाला मन्त्रीले प्रहरी निरीक्षकसहित नेपाली सेनाका एक, सशस्त्र प्रहरीको १२ जना सुरक्षाकर्मी प्रयोग गरिरहेका छन् ।

वनमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री हुँदा विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने अगुवापछुवा हटाउने निर्णय गरेका थिए । तर उनकै सुरक्षाका लागि भने नेपाल प्रहरीबाट निरीक्षक, नेपाली सेनाले दिएको सुरक्षा गार्ड तथा सशस्त्र प्रहरीबाट प्राप्त १२ जनाको टोलीसहित पछुवा गाडीको दुरुपयोग गरिरहेका छन् ।

यसरी सुरक्षाकर्मी लिनेमा गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कमल थापा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र नीधि, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, कृष्णप्रसाद सिटौला, जनार्दन शर्मा, पूर्णबहादुर खड्का, भीम रावल र खिलराज रेग्मी रहेको खबर नागरिक दैनिकले छापेको छ ।

कुन पूर्वमन्त्रीका कसका कति अंगरक्षक

गोपालमान श्रेष्ठ–७
विजयकुमार गच्छदार–१२
कमल थापा–१३
रामचन्द्र पौडेल–१३
प्रकाशमान सिंह–१३
विमलेन्द्र निधि–१२
नारायणकाजी श्रेष्ठ–१२
वामदेव गौतम–१३
भीम रावल–१४
कृष्णप्रसाद सिटौला–१२
शक्तिबहादुर बस्नेत–१२
जनार्दन शर्मा–१२
पूर्णबहादुर खड्का–१३
खिलराज रेग्मी–९

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७