सुमाेको ठक्करले दुई छात्रा घाइते, विपी राजमार्ग अवरुद्ध


१ फाल्गुन २०७५, बुधबार
bp rajmarga sindhuli saugat online

सिन्धुली, १ फागुन । विपी राजमार्ग अन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिंडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् ।

bp rajmarga sindhuli saugat online

बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएका छन् ।

घाइतेमध्ये रोजिनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको र मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थीले दोषीलाई कार्वाही, विद्यार्थीको उपचारको माग गर्दै सडकमा उत्रिएर राजमार्ग अबरुद्ध पारेका छन् ।

विद्यार्थीलाई ठक्कर दिएर फरार रहेको बा ३ च ६७५१ नंको सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । सुमो र सुमो चालकलाई सिन्धुलीमाढीबाट काठमाडौँतर्फ जाँदै गर्दा सिन्धुलीगढी नजिकबाट नियन्त्रणमा लिएको र आवश्यक कार्वाही गरिने समेत उनले बताए ।

काठमाडाैंबाट तराईका जिल्ला तथा तराईका जिल्लाबाट काठमाडौँ हिँडेका सवारी सिन्धुलीमै रोकिएका छन् । विद्यार्थीले राजमार्ग अवरुद्ध पारेकाले सवारीसाधनलाई गन्तव्यतर्फ वैकल्पिक मार्गबाट पठाउने तयारी गरिरहेको प्रहरी उपरीक्षक सिंहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७