सुन तस्कर भूसाल र जग्गा कारोबारी कार्कीको कनेक्सन खोज्दै प्रहरी


१ फाल्गुन २०७५, बुधबार
roshan bhusal 1

काठमाडौं, १ माघ । तीन बर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ३३ किलो ५ सय ७७ ग्राम सुन प्रकरणका मुख्य दोषी रोशन भूसाल सर्वोच्च अदालतमा सेटिङ गरी उन्मुक्ति पाउने चलखेलमा लागेका छन् ।

roshan bhusal 1
रोशन भूसाल, हरिशरण खड्का र बलराम कार्की

सुनतस्करीमा संलग्न भूसालका साझेदार हरिशरण खड्का हालसालै दुबईमा पक्राउ परिसकेका छन् । तर उत्तिकै दोषी भूसाल भने अहिले काठमाडौंमा अदालतका बीचौलियासँग भेटेर अदालतबाट उन्मुक्ति पाउनका लागि सेटिङमा ब्यस्त छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेका सुन तस्कर खड्का दुबईमा पक्राउ परिसकेको अवस्थामा भूसाल काठमाडौंमै खुलेआम घुमिरहेका छन् । इन्टरपोलले पक्राउ गरेका खड्काको नेटवर्कमाथि प्रहरीले छानबिन प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा भूसाल भने सुनतस्करीबाट कमाएको बीसौं करोड रुपैयाँ जग्गामा कालोधन गरिरहेका छन् ।

सुनतस्करीको धन उनले दर्ता नै नभएको सरकारी जग्गा खरिदका लागि पनि लगानी गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले २०७३ पुस २१ मा विमानस्थल भन्सारबाटै ३३ किलो अवैध सुन बाहिरिएपछि सुन तस्करीको सञ्जालबारे अनुसन्धान सुरु गरेको थियो ।

त्यसक्रममा दुवईबाट सुनको तस्करी गर्ने मुख्य दोषी किटान गरिएका हरिशरण खड्का र रोशन भूसाललाई प्रहरीले पक्राउ गर्न नसकेपछि इन्टरपोलमार्फत् रेडकर्नर नोटिस जारी गरेको थियो । तीमध्येका खड्का पक्राउ परेका छन् भने भूसालको मुद्दा जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै अहिले सर्वोच्च अदालतमा चलिरहेको छ ।

सुनतस्करीमा संलग्न भनेर त्यतिबेला सीआइबीले विमानस्थलका एसपी श्याम खत्री, गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, विमानस्थल भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठलाई पक्राउ गरेको थियो । तर दुवईबाट सुन नेपालमा पठाउँदैआएका भूसाल र खत्रीलाई भने पक्राउ गरेको थिएन । ती मध्ये खड्का अहिले पक्राउ परेका छन् भने भूसाललाई प्रहरीका उच्च अधिकारीले नै जोगाउने काम गरेका थिए ।

दुबईमा रोशन भुसाल उर्फ (गुप्तलाल) हरिशरण खड्काका पार्टनर हुन् । तिनै भूसालले गोंगबुको ११ रोपनी सरकारी जग्गा दर्ता नै नभएको अवस्थामा ११ करोड रुपैयाँ बैनाबापत दिइसकेका छन् ।

२०४४ मंसिर २९ को निर्णयले नेपाल सरकारको नाममा दर्ता भइसकेको साविक गोंगबु गाउँ विकास समितिको ३(क) कित्ता नम्बर ९७ को ११ रोपनी जग्गामा भूसालले बैना दिएका हुन् । पद्मकुमारी कार्कीका छोरा बलराम कार्कीले भूसालबाट ११ करोड बैना लिएका छन् । तर जग्गा भने पदमकुमारीको नाममा आइसकेको छैन ।

जग्गा दर्ता नै नभइसकेको अवस्थामा भूसालले कार्कीलाई बैना दिइसकेका छन् । प्रहरीले सुनतस्कर भूसाल र कार्कीको कनेक्सन के हो त्यो समेत अनुसन्धानको दायरामा ल्याउनसक्ने संभावना छ । सुनतस्कर भूसाल र कार्कीबीच के के कारोबार छ त्यसबारे अनुसन्धान गर्नसक्ने एक प्रहरी अधिकृत बताउँछन् ।

पदमकुमारी कार्कीसमेतले गोंगबुको उक्त ११ रोपनी जग्गा आफ्नो हो भनी जिल्ला अदालतमा दिएको मुद्दामा उनीहरुको दाबी नपुगेको फैसला भएको थियो । तर उच्च अदालत र सर्वोच्च अदालतमा सेटिङ गरी कार्कीका नाममा हुने फैसला गरे पनि दर्ता भएको छैन ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय देवेन्द्रगोपाल श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजलासले पुनरावेदनकै फैसला सदर गरी ब्यक्तिकै हुने फैसला २०७४ जेठ २९ मा गरेको छ । जुनबेला प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली थिए । पुनरावेदन अदालतबाट सरकारी जग्गा ब्यक्तिको नाममा हुने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउने आदेश दिने न्यायाधीशहरु टंकबहादुर मोक्तान र भरतप्रसाद अधिकारी हुन् ।

सुनकाण्डमा उच्च अदालतका मुख्य न्यायाधीश डा. कूलरत्न भूर्तेल, सारंगा सुवेदी, साधुराम सापकोटा, जनक पाण्डेसहितका ८ न्यायाधीश तान्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरकारी जग्गा ब्यक्तिको नाममा कायम हुने फैसला गर्ने न्यायाधीशमाथि के कारबाही गर्छन् ? सरकारी जग्गा हो भन्ने जिल्ला अदालतको फैसला उल्ट्याउने न्यायाधीश पनि कारबाहीको भागिदार बन्नुपर्छ कि पर्दैन भन्ने सवाल खडा भएको छ ।

तत्कालीन काठमाडौं जिल्ला अदालतकी न्यायाधीश प्रभा बस्नेतले वादीको दाबी नपुग्ने भएकाले सरकारी जग्गा नै ठहर्ने फैसला गरेकी थिइन् । यही दर्ता नै नभएको जग्गामा मसेत भूसालले ११ करोड रुपैयाँ बैना दिएका हुन् । काठमाडौंका अन्य ठाउँमा पनि भूसालले सुनतस्करीको रकमबाट आर्जित रकम लगानी गरेका छन् ।

भुसाल १७ वर्ष अगाडिसम्म नेपालमा टेम्पो चालक थिए । उनै भुसालले २० करोडको हाराहारीमा सम्पत्ति जोडिसकेका छन् । भुसालको काठमाडौंका ७ वटा बैंकमा खाता छन् । उनले एउटै बैंकमा सन् २०१६ मा मात्रै १० करोड ५७ लाखसम्म जम्मा गरेको देखिएको थियो ।

त्यसअघि २०१७ मा ७ करोड २६ लाख रुपैयाँ जम्मा गरेको पनि भेटिएको थियो । भूसालको काठमाडौंमा मात्रा सात वटा घर रहेको पनि खुलेको थियो ।

भूसालले दुबईमा गएपछि खड्कासँग मिलेर ९ वटा कम्पनीहरु सञ्चालन गरेको प्रहरी स्रोत वताउँछ । दुबईमा याक एण्ड ज्वेलर्स ट्रेडिङ, एस्टोरीया होटल र याक एण्ड यति नेप्लीज कुजिन रेष्टरेन्ट लगायत उनीहरुले व्यबसाय सञ्चालन गरेका छन् । भुसालले २०१६ मा मेगा बैंकमा जम्मा गरेको पाँच करोड ५५ लाख रुपैंयाँको स्रोत शंकास्पद रहेको रिपोर्ट सिआईबीले तयार पारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७