एक दर्जन एसपीको सरुवा, कञ्चनपुरमा अख्तियारमा कार्यरत एसपी आचार्यलाई खटाइयो, अरु को कहाँ ?


१ फाल्गुन २०७५, बुधबार

काठमाडौं, १ फागुन । प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी) को एकैसाथ काज सरुवा गरेको छ । एसपीबाट एसएसपी बढुवा भएपछि रिक्त रहेको स्थानमा काज सरुवा गरिएको हो ।

nepal police WW1clRuZ8f

सरुवाअनुसार कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतलाई पहरा गण सामाखुशी पठाइएको छ । निर्मला पन्तको बलात्कारपछिको हत्या घटना अनुसन्धानमा प्रहरीले लापर्वाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रमुख एसपी डिल्लीराज बिष्टलाई कार्वाही गरिएपछि कडायत त्यहाँ खटाइएका थिए ।

उनको सरुवापछि कञ्चनपुर प्रहरी प्रमुखको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् दिनेशकुमार आचार्यलाई पठाइएको छ । यता जिल्ला प्रहरी कार्यालय, झापामा एसपी दिनेशराज मैनाली खटाइएका छन् भने बागलुङमा एसपी हरि शर्मा पोखरेल पठाइएका छन् । मैनाली हाल विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत थिए भने शर्मा प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

अवकाशपछि बढुवा भएको भन्दै विवादमा मुछिएका विशेष व्यूरोका एसपी दीपकराज खरेल पनि काज सरुवामा परेका छन् । उनलाई सशस्त्र प्रहरी गण नं. १ मा पठाइएको छ । त्यस्तै, दंगा नियन्त्रण प्रहरी गण, हेटौंडामा कार्यरत मुकेशकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाइएको छ ।

अपराध अनुसन्धान विभागमा कार्यरत एसपी योगबहादुर पाललाई क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, पथलैया, बारा, अपराध अनुसन्धान विद्यालयका एसपी गोपालचन्द्र भट्टराईलाई जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्ला प्रहरी कार्यालय, रौतहटका एसपी केदार ढकाल महानगरीय अपराध महाशाखा, टेकु खटाइएको छ ।

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एसपी भूपेन्द्रबहादुर खत्री जिल्ला प्रहरी कार्यालय, रौतहट पठाइएका छन् भने जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी दीपक रेग्मी प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज पठाइएका छन् । त्यस्तै, अपराध अनुसन्धान विभागका एसपी ध्रुवराज राउत दंगा नियन्त्रण प्रहरी गण हेटौंडा पठाइएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७