उपत्यकाका प्रहरी भाग्यमानी, कार्वाहीभन्दा पुरस्कृत हुने धेरै, कति भए पुरस्कृत ?

काठमाडौं, १ फागुन । काठमाडौं उपत्यकामा कार्वाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको संख्यामा वृद्धि भएको छ । विगतका समयमा प्रहरीले घुस लिने र अनावश्यक सेवाग्राहीलाई दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने संख्यामा वृद्धि भएको हो ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षमा पुरस्कार हुनेमा ३१२ प्रहरी अधिकृत तथा जवान रहेका छन् भने कार्वाही हुनेमा २१२ प्रहरी अधिकृत तथा जवान रहेका छन् ।
पुरस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी उपरीक्षक दुई, प्रहरी नायब उपरीक्षक तीन, प्रहरी निरीक्षक १४, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४७, प्रहरी हवल्दार ६१, प्रहरी जवान १४९ र प्रहरी कार्यालय सहयोगी तीन जना रहेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बताउँछन् । ‘घुस फिर्ता गर्ने, जोखिममा परेकालाई उद्धार गर्ने, सफल अनुसन्धान गर्ने, फरार अभियुक्तलाई पक्राउ गर्ने, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्नेलाई पुरस्कृत गर्ने गरेका छौं’, उनी भन्छन् ।
यस्तै कार्वाही पर्नेमा प्रहरी नायब उपरीक्षक दुई, प्रहरी नायब निरीक्षक १२, प्रहरी सहायक निरीक्षक १०, प्रहरी हवल्दार ४८, प्रहरी जवान १३६ र प्रहरी कार्यालय सहयोगी चार जना रहेका छन् ।
कार्वाही परेकामा नशिहद ८८ जना, निलम्बन ४८ जना, पदोन्नति रोक्का आठ जना, तलब वृद्धि घटुवा १८ जना, तलब वृद्धि रोक्का १५ जना, बर्खास्त एक, सेवाबाट हटाइएका १९ जना र शुरुको स्केलमा घटुवा १५ जनालाई गरिएको छ ।
प्रहरीले मंसिरदेखि हालसम्म प्रहरीलाई घुस दिन खोज्ने ३६ चालक तथा सहचालकलाई पक्राउसमेत गरिसकेको छ । ट्राफिक प्रहरीले पक्राउ त्यस्ता चालक तथा सहचालकलाई पक्राउ गरी प्रहरीलाई बुझाउँदै आएको छ ।
कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री एक– दुर्इ जना प्रहरी कर्मचारीका कारण प्रहरी सङ्गठन नै बदनाम हुने गरेकाले कार्यालयले पुरस्कार र कार्वाहीको अभियान सञ्चालन गरेको बताउँछन् । ‘राम्रो काम गर्ने र पुरस्कार पाएका प्रहरी अधिकृत तथा जवानको बढुवामा समेत सकारात्मक प्रभाव पार्नेछ’, उनी भन्छन् ।
काठमाडौँ उपत्यकामा हाल १८ वृत्त र तीन परिसरबाट मुद्दा चल्दै आएको छ । कार्यालयदेखि चौकीसम्म १६७ एकाइबाट सुरक्षा प्रदान गर्दै आइरहेको छ । काठमाडौँ उपत्यकाभित्र ११ हजार ३१९ प्रहरीको दरबन्दी भएपनि हाल झण्डै १० हजार प्रहरीले सुरक्षा प्रदान गरिरहेका छन् ।
कार्यालयले उपत्यकाभित्र प्रहरीले गरेका कामलाई नजरअन्दाज गर्न रानीपोखरीबाट विशेष ड्युटीसमेत खटाएको छ । उपत्यकाभित्र हुने अपराध न्यूनीकरण र प्रहरीले गरेको कामको अनुगमनका लागि विशेष ड्युटी खटाएको हो ।
प्रहरी कर्मचारीलाई हौसला प्रदान गर्न घुससहित पक्राउ गर्ने प्रहरी कर्मचारीलाई कार्यालयका हाकिमले फोन गरेर धन्यवाद समेत दिने गरेका छन् । कार्यालयले प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरी मुद्दासमेत चलाएको छ ।
प्रहरी प्रमुख