यी हुन् शिक्षातर्फ समायोजनमा परेका सहसचिव, पद र कार्यालय नमिल्दा समस्या (नामावलीसहित)

काठमाडौं, १ फागुन । सरकारले फागुन महिनाभित्र सबै निकायमा कर्मचारी समायोजन गरी सक्ने गरी धमाधम समायोजनको कामलाई अगाडि बढाइरहेको छ ।

सरकारले हिजो (मंगलबार) मात्रै ६६२ सहसचिवको समायोजन गरेको छ । ढिलो गरी भएको उक्त समायोजन अनुुसार अनलाइन फाराम भरेका आधारमा सहसचिवको समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको छ ।
अनलाईनमार्फत् सार्वजनिक उक्त विवरणमा शिक्षाका सहसचिवको पद र हाल कार्यरत कार्यालयको नाममा भने भद्रगोल गरिएको छ । संघीयतासँगै खारेज भएको शिक्षा विभागको नाम शिक्षा तथा मानव श्रोत विकास केन्द्र भईसक्दा पनि उक्त सूचीमा पुरानै नाम उल्लेख गरिएको छ । यति मात्रै नभई सचिवमा बढुवा भईसकेका सहसचिवको नाम समेत उक्त सूचीमा सहसचिवकै रुपमा उल्लेख गरिएको छ ।
शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव सूर्यप्रसाद गौतमको पुस २९ गते सचिवमा बढुवा भए पनि उक्त सूचीमा उनलाई शिक्षा मन्त्रालयकै सहसचिव उल्लेख गरिएको छ । गौतमको कामू महालेखा नियन्त्रकका रुपमा सरुवा भईसकेको छ । संघीयतासँगै शिक्षा र विज्ञान मन्त्रालय गाभिएको एक बर्ष भईसक्दा पनि उक्त सूचीमा शिक्षा मन्त्रालयकी सहसचिव देवकुमारी गुरागाईलाई विज्ञान तथा प्रविधि मन्त्रालयको सहसचिव उल्लेख गरिएको छ ।
शिक्षा मन्त्रालयको प्रवक्ता समेत रहेका योजना महाशाखा प्रमुख बैकुण्ठ प्रसाद अर्याललाई उक्त सूचीमा महानिर्देशक उल्लेख गरिएको छ । मन्त्रीपरिषद्को माघ २१ को निर्णय अनुसार भन्दै संघीय मन्त्रालयद्वारा सार्वजनिक उक्त सूचीमा माघ ८ गते नै शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशकका रुपमा सरुवा भईसकेका टेकनारायण पाण्डेको हालको कार्यालय पाठ्यक्रम विकास केन्द्र उल्लेख छ । जबकी उनी गुणस्तर परीक्षण केन्द्रमा सरुवा हुनुअघि पनि उक्त निकायमा थिएनन् । उनी शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक थिए ।
तीन साताअघि भएको पाण्डेको सरुवासँगै गुणस्तरका महानिर्देशक कृष्णप्रसाद काप्रीको मन्त्रालयमा सरुवा भएको थियो । तर उक्त सूचीमा शैक्षिक गुणस्तर परीक्षण केन्द्र नै काप्रीको हालको कार्यालय उल्लेख छ ।
यस्तै खगेन्द्रप्रसाद नेपाललाई संघीयतासँगै एक बर्षअघि खारेज भएको शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक भएको उक्त सूचीमा उल्लेख छ । खारेज भएको अनौपचारिक शिक्षा केन्द्रमा सहसचिव चुडामणि पौडेल कार्यरत रहेको उक्त सूचीमा उल्लेख छ । शिक्षा मन्त्रालयका अन्य सहसचिव संघ अन्र्तगत समायोजन गरिए पनि नेपाल एक जनाको मात्रै प्रदेशमा समायोजन गरिएको छ ।
यस्तो छ शिक्षाका सहसचिवको समायोजन विवरण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवेदन दिएको आधारमा संघमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गरिएको जनाएको छ ।
यस्तो छ ६६२ सहसचिवको समायोजन विवरण