मनोरञ्जन क्षेत्रका महिला भन्छन्, ‘कोठा भाडा समेत पाइँदैन’


६ फाल्गुन २०७५, सोमबार
Disco women 438x342 1

काठमाडौं, ६ फागुन । बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उनका दुई छोरी भए ।

Disco women 438x342 1

छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाएकी थापा माइतीबाट समेत सहारा नपाएपछि अन्ततः एक साथीको सहयोगमा काठमाडौँमा आइपुगिन् । अध्ययन नभएकाले राम्रो जागिर पाउने सम्भावना नभएपछि साथीको सहयोगमार्फत उनले एक रोधीमा वेटरको रुपमा काम शुरु गरिन् । त्यहाँ काम गर्दागर्दै थापा दोहोरी सिकेर दोहोरी गायिका पनि भइन् ।

कामबाट राम्रै पारिश्रमिक आए पनि छोरीका लागि समय नभएपछि साथीको घरमा छोरी जिम्मा लगाएर काममा जान थालेकी उनले भनिन्, ‘हाम्रो कामकै कारण हाम्रो सन्तान समेत सुरक्षित छैनन् भने राज्यले हामीलाई सुरक्षा दिने कहिले’, आफू मनोरञ्जन क्षेत्रको श्रमिक भएकै कारण आफ्ना छोरी समेत सम्मानित नभएको उनको गुनासो थियो ।

नयाँ व्यक्तिले रोधी चलाउने भनेर उनीलगायत अन्य साथीलाई केही समयपछि पुनः बोलाउने बहानामा तीन महिनाको पारिश्रमिक समेत नदिइ पठाइयो । केही समयपछि रोधीका लगानीकर्ताले उनलाई उसैसँग बस्न भनी बोलायो तर उसको नियत ठिक नभएकाले थापाले इन्कार गरिन् । त्यो घटनाले उनलाई न त काममा बोलाइयो न त काम गरेबापतको पारिश्रमिक नै दिइयो । काममा बोलाउँला भन्ने आशै आशमा थापाले अन्य ठाउँबाट आएको कामको प्रस्ताव समेत मानेकी थिइनन् ।

उनले श्रम विभागमा आफूले काम गरेको पारिश्रमिक पाउन भनी मुद्दा समेत दायर गरे पनि अहिलेसम्म पारिश्रमिक अझै पाउन सकेकी छैनन् । ‘कि त हामीलाई कामको सुनिश्चितता चाहियो, होइन भने हाम्रो पारिश्रमिक समयमा नै दिनुपर्‍यो’, थापाको आक्रोश थियो । हाल उनी काठमाडौँकै एक रोधीमा काम गर्छिन् ।

त्यसैगरी पोखराको एक स्पामा काम गर्दै आएकी २४ वर्षीय शर्मिला श्रेष्ठ आफूले यस क्षेत्रमा काम गर्दै जाँदा आफूमाथि धेरै नै शोषण भएको बताउँछिन् । एकातिर परिवारको आर्थिक समस्या अर्काे मासिक रु आठ हजार पारिश्रमिक मात्र । त्यसमाथि भनेको समयमा तलब नपाइने । अर्काे समस्या त समाजले आफूमाथि हेर्ने दृष्टिकोण पनि नराम्रो । स्पामा काम गर्ने केटी भन्ने वित्तिकै सबैले चरित्रहीन जस्तै व्यवहार गर्ने गरेको उनको गुनासो थियो ।

श्रेष्ठले प्रश्न गरिन्, ‘हामीलाई पनि अन्य क्षेत्रमा काम गर्ने मानिस सरहको सम्मानजनक व्यवहार कहिले गरिन्छ ।’ चाहेर पनि आफू यस दलदलबाट निस्कन नसकेको उनको भनाइ थियो । विशेषगरी मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक शोषण त छ नै अर्काेतिर उनीहरू यौन शोषणका शिकार पनि बनिरहेका छन् ।

बुटवलको एक रोधी घरमा काम गर्दै आएकी रमिला मोक्तान आफू मनोरञ्जन क्षेत्रमा काम गरेकै कारण कोठा पाउन समेत गाह्रो हुने गरेको दुखेसो पोखिन् । उनले भनिन्, ‘बस्नको लागि कोठा भाडामा त पाइन्छ, तर राति अबेलासम्म काम गर्नुपर्ने हुँदा घरबेटीले ढोका नै खोलिदिँदैनन् ।’ मनोरञ्जन क्षेत्रमा काम गर्ने भन्ने वित्तिकै समाजको मात्र नभई ग्राहकको समेत गलत नजर हुने गरेको उनले बताइन् ।

सरकारले मनोरञ्जन क्षेत्रमा काम गर्ने कामदारका लागि पनि अन्य काम गर्ने व्यक्ति सरह नै सम्मानजनक व्यवहार हुनुपर्ने बताउँदै आए पनि अहिलेसम्म सो व्यवहार नभएको उनीहरुको गुनासो थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७