यसरी विदा गरिंदैछ एक हजार ५३ सट्टा शिक्षकलाई


९ फाल्गुन २०७५, बिहीबार
teacher 1

काठमाडौं, ९ फागुन । सरकारले देशभरका एक हजार ५३ सट्टा शिक्षकलाई हटाउने भएको छ । सरकारको यो निर्णयसँगै स्रोत व्यक्तिको दरबन्दीमा नियुक्त सट्टा शिक्षकको जागिर अप्ठ्यारोमा परेको छ ।

teacher 1

सरकारले स्रोत व्यक्तिलाई साविकको दरबन्दीमा काज फिर्ता गर्ने निर्णय गरेपछि सट्टा शिक्षक समस्यामा परेका हुन् । स्रोत व्यक्तिको सट्टामा जागीर खाइरहेका देशभरका एक हजार ५३ मध्ये ७५ जना अस्थायी छन् ।

यही फागुन ३ गतेको मन्त्रिपरिषद बैठकले स्रोत व्यक्ति हटाउने र उनीहरुको सट्टामा कार्यरत शिक्षकलाई माघ महिनासम्मको तलब दिएर विदा गर्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग) ले सबै शिक्षा विकास तथा समन्वय एकाइ (साविकको जिल्ला शिक्षा कार्यालय) लाई परिपत्र गरिसकेको जनाएको छ ।

विगतमा केन्द्र सरकारबाट विद्यालयहरुको शैक्षिक प्रशासन र शिक्षकहरुलाई प्राविधिक सहयोगका लागि स्रोतकेन्द्र स्थापना गरिएको थियो । स्रोतकेन्द्रमा हाल कार्यरत स्थायी शिक्षकहरुलाई दरबन्दी रहेको सम्बन्धित विद्यालयमा साविकको पदमा काज फिर्ता गर्ने र स्रोत व्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत सट्टा शिक्षक एवम् अस्थायी स्रोत व्यक्तिहरुलाई अवकास दिने निर्णय सरकारले गरेको छ ।

चालु आर्थिक वर्ष २०७५–७६ को साउनदेखि माघ मसान्तसम्मको नियमानुसार पाउने तलब भत्ता एकिन गरी माग गर्ने । उक्त विवरण प्राप्त भएपछि सम्बन्धित स्थानीय तहमा सशर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण गरी निजहरुलाई उपलब्ध गराउने प्रवन्ध मिलाइने छ जानकारीसहित परिपत्र गरिएको छ ।

यी शिक्षकहरुले शिक्षक सेवा आयोगको परीक्षामा भाग लिएका छन् । उनीहरु सो परीक्षामा पास भएमा स्थायी जागिरे हुनेछन् । पास हुन नसकेकालाई नियमानुसार पाउने गोल्डेन ह्याण्डसेक दिएर घर पठाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

पढाइरहेका शिक्षकको तलव अन्योलमा

माघ महिनासम्मको तलब दिएर सट्टा शिक्षकलाई विदा गर्ने भनिए पनि धेरै विद्यालयहरुमा फागुन महिना लागिसक्दा पनि सबै स्रोत व्यक्तिहरु फर्किएका छैनन् र सट्टा शिक्षकहरुले नै पढाइरहेका छन् । उनीहरुले फागुन महिनाको हालसम्मको पारिश्रमिक पाउने कि नपाउने पनि निश्चित छैन ।

तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता दीपक शर्मा भने यस्ता समस्या स्थानीय तहले नै मिलाउने बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७