किरात सङ्ग्रहालय निर्माणका लागि अभिनेता दयाहाङ सद्भावना दूत, तन–मन दिएर लागि पर्ने प्रतिबद्धता व्यक्त


९ फाल्गुन २०७५, बिहीबार
Dayahang Rai
फाइल फोटो

खोटाङ, ९ फागुन । विश्वमा छरिएर रहेका किरात राई तथा अन्य समुदायको गन्तव्यस्थलको रुपमा स्थापित गर्न खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ रिब्दुङ महेश्वरीमा किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको छ ।

Dayahang Rai

सम्पूर्ण राईहरुको अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने उद्देश्यले किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको हो । सङ्ग्रहालयको लागि देशविदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक सङ्घसंस्थाहरु सहयोगमा जुटेका छन् । तीन वर्षमा सम्पन्न गर्ने गरी गत वर्षदेखि सङ्ग्रहालय निर्माण अभियान शुरु गरिएको हो ।

सङ्ग्रहालय निर्माणका लागि रु दुई करोड बराबरको वृहत योजना बनाइएकामा यो वर्ष ५५ लाख लागतमा एक तला निर्माण सम्पन्न गरिने निर्माण उपभोक्ता समितिका संयोजक खुक्सङ खम्बुले बताए ।

सङ्ग्रहालय भवन निर्माणका लागि वडाबाट रु पाँच लाख बजेट विनियोजन भएको छ ।
सङ्ग्रहालय निर्माण कार्यलाई महाभियानको रुपमा लिनुपर्ने भन्दै दाताहरुले स्वस्फुर्त रुपमा बोलकबोलसमेत गरिरहेका निर्माण उपभोक्ता समितिले जनाएको छ । अभियानका क्रममा हालसम्म १७ लाख बढी रकम सङ्कलन भइसकेको छ ।

‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती कथन अनुरुप किरातीहरुको मौलिक इतिहास, संस्कार, चालचलनलाई केन्द्रित गर्दै निर्माण गरिने सङ्ग्रहालयको लागि सबै प्रकारको सहयोग सबै पक्षबाट आवश्यक रहेको संयोजक खम्बुले बताए ।

दश किरातको प्रतिक स्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई सङ्ग्रहालय निर्माण गरिने योजना बनाइएको छ । तीनतले गोलाकार भवनको धुरीमा मेटलबाट निर्मित (वाबु) चिण्डोको बर्निङ गजुर राखिने तथा किराती वास्तुकलाले सजाइने जनाइएको छ । सङ्ग्रहालय भवन भूकम्प प्रतिरोधात्मक बनाउने तयारी गरिएको छ ।

थुलङ राईहरुले आबद्ध गरेको किराती ऐतिहासिक थलोमा सङ्ग्रहालय निर्माण गर्ने अवधारणा किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति रिब्दुङ महेश्वरीले बनाएको थियो । थुलुङ राईहरुको भाषा, संस्कृति अझै पनि जीवित रहेको रिब्दुङका प्रारम्भिक कार्य समितिले यायोक्खा जिल्ला र केन्द्रसँगको समन्वय र सहयोगमा सङ्ग्रहालय निर्माण प्रक्रिया प्रारम्भ गरेको हो ।

सङ्ग्रहालयको वृहत अवधारणासँगै स्थानीय दाता शम्शेरजङ्ग राई, मानबहादुर राई र पूर्णबहादुर राईले आठ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । किरात राई यायोक्खाको नाममा दर्ता गरिएको उक्त जग्गा ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक हिसाबले समेत आकर्षक रहेको जनाइएको छ ।

जग्गा खरीद तथा निःशुल्क माग गरी सङ्ग्रहालयको क्षेत्रफल कम्तिमा ५० रोपनी बनाउने निर्माण उपभोक्ता समितिको योजना छ । तीन वर्षमा पूरा गरिने सङ्ग्रहालयको घडेरी सम्याउने, निर्माणस्थलमा गिटी–वालुवाको व्यवस्था, काठ काट्ने लगायतका कार्य सम्पन्न भएको जनाइएको छ ।

सङ्ग्रहालय निर्माणका लागि चर्चित अभिनेता दयाहाङ राईलाई सद्भावना दूत बनाइएको छ । अभिनेता राईलाई सङ्ग्रहालयको काम सम्पन्न गर्न आवश्यक सहयोग रकम जुटाउन सद्भावना दूत बनाइएको हो ।

सद्भाव दूत दयाहाङले राई जातिको ऐतिहासिक सङ्ग्रहालय निर्माण सम्पन्न गराउन तन–मन दिएर लागि पर्ने प्रतिबद्धता जनाएका छन् । नेपालकै इतिहासमा पहिलो पटक महेश्वरीमा सङ्ग्रहालय निर्माण शुरु गरिएपछि जिल्लावासी हर्षित बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७