सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर माडीको ‘खास लडाइँ’


१७ मंसिर २०७४, आईतवार
pranchada and bikram

काठमाडौं: स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि धेरैको चासोमा परेको छ।pranchada and bikram

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष तथा वन मन्त्री विक्रम पाण्डेबीच तीव्र प्रतिस्पर्धा हुने मानिएको यो क्षेत्रमा अहिले पार्टीका नेतारकार्यकर्ता प्रचार र घरदैलोमा केन्द्रित छन्। तर, भन्दा भरतपुर भनिए पनि यो क्षेत्रको खास लडाइँचाहिँ माडी फाँटमा भइरहेको छ।

स्थानीय तहमा झिनो अन्तरले माओवादीले मेयर जितेको माडी नगरपालिका क्षेत्रमा अहिले दिनका दिन दलका सभा, कोणसभा र भेला भइरहेका छन्। युद्धकालमा यहाँको सर्वसाधारण चढेको गाडी माओवादीले थापेको एम्बुसमा पर्दा ४२ जनाको मृत्यु भएको बाँदरमुडे पनि यही माडी क्षेत्रमा पर्छ। भरतपुरबाट चितवन राष्ट्रिय निकुञ्ज कटेर जानुपर्ने पश्चिम चितवनको यो क्षेत्र जिल्लामा निकै राजनीतिक चहलपहल हुने क्षेत्र मानिन्छ।

साताअघि माडी क्षेत्रको बाँदरझुलामा चुनावी सभा गरेका दाहाल आइतबार फेरि माडीमा सभा गर्न जाँदैछन्। आइतबारको सभामा उनी एक्लै हुने छैनन्। वाम गठबन्धनका जोडीदार एमाले अध्यक्ष केपी ओली पनि माडी उत्रिँदै छन्। लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेका पनि यस क्षेत्रमा चुनावी सभा भइरहेका छन्। तर उनको सभामा कांग्रेस सभापति शेरबहादुर देउवा वा कुनै ठूला नेता आएका छैनन्।

शनिबार भने माडीको केन्द्र मानिने वसन्तपुर बजारमा एक ठूला वामपन्थी नेता सानो कोणसभामा बोलिरहेका थिए। देशैभर वामपन्थी गठबन्धन बनिरहेको भए पनि यी वरिष्ठ वामपन्थी नेता अर्कै नेतालाई भोट माग्दै थिए। ती नेता थिए, नेकपा माओवादीका महासचिव मोहन वैद्य। एमाले र माओवादीले वामपन्थीका नाममा जनतालाई झुक्याएको भन्दै उनले आफ्ना पार्टीका उम्मेदवार टंकनाम रेग्मीको पक्षमा भोट मागे। लामो समयका राजनीतिक साथी दाहालले प्रतिस्पर्धा गरेकै ठाउँमा उनका विरुद्ध प्रचार गरेर वैद्यले आफ्नो राजनीतिक अडान प्रस्तुत गरे। लोकतान्त्रिक र वामपन्थी दुवै गठबन्धनलाई सिन्डिकेट भएको भन्दै यो खालि कुर्सीका लागि बनेको बताए।

वसन्तपुरको एक छेउमा वैद्यले भाषण गरिरहँदा बजारको अर्को छेउमा भने वाम गठबन्धनका गायकहरू सडकमा माइक घन्काएर गीत गाइरहेका थिए। बजारको मुख्य चोकमा पार्टीको प्रचारका ध्वजापताका टाँगिएका थिए। त्यसकै पछिल्तिर आइतबार हुने दाहाल–ओली सभाको मञ्च बनाउने काम पनि चलिरहेको थियो। तयारी देख्दा सभा भव्य हुने अनुमान लगाउन सकिन्थ्यो। वैद्यको भाषण चलिरहेका बेला पनि मोटरसाइकलमा ओहोरदोहोर गर्ने समूह सक्रिय थिए।

मुस्किलले सय डेढ सय उपस्थित सभामा वैद्यले कम्युनिस्टले जिते साम्यवाद आउने, चुनाव नहुने लोकतान्त्रिक अधिकार खासिने भन्नेबारे पनि बोले। उनले भने, ‘देउवाजीले कुरै बुझ्नुभएको छैन। एमाले र माओवादी पनि तपाईंहरूजस्तै संसदीय भासमा लम्पसार परेका पार्टी हुन्। यिनले चाहेर पनि साम्यवाद ल्याउन सक्दैनन्।’ र, उनले यसमा थपे, ‘तर कम्युनस्टि भएकाले साम्यवाद ल्याउँछौं भन्नुपर्नेमा ओली र दाहालले पनि हामी ल्याउँदैनौं भन्दै हिँडिरहेका छन्। यी कस्ता वामपन्थी हुन् रु’

वैद्यले लोकतान्त्रिक र वाम गठबन्धनको चर्को आलोचना गरे पनि चुनावको माहोल भने यिनै दुई गठबन्धनका पक्षमा देखिएको छ। यहाँका अधिकांश बुद्धिजीवी र स्थानीयवासी दाहाल र पाण्डेबीच तीव्र प्रतिस्पर्धा हुने बताउँछन्। भरतपुर महानगरको चुनावजस्तै यसपटक पनि यहाँ कांग्रेसका उम्मेदवार छैनन्। भरतपुरमै पहिले मेयर टिकट पाएका दिनेश कोइराला प्रदेशसभामा उम्मेदवार छन्। प्रतिनिधिसभामा कांग्रेसले विक्रम पाण्डेलाई समर्थन गरेका कारण यहाँ राप्रपा र कांग्रेसका नेतारकार्यकर्ता संयुक्त रूपमा प्रचारमा छन्। वनकट्टी र द्रौपदी नगर क्षेत्रमा दुवै पार्टीका महिला कार्यकर्ता भोट माग्न र भोट हाल्ने तरिका सिकाउन घुमिरहेका थिए। माडीवासी तथा कांग्रेस जिल्ला कार्यसमितिका सदस्य शोभाकर चापागाईंले यसपालि लोकतान्त्रिक गठबन्धन कसिलो भएको बताए। ‘माओवादीलाई कांग्रेसले भोट हालेर भरतपुर महानगरमा जिताएको तीन महिनामै माओवादीले एमालेसँग मिलेर धोका दिएका कारण पनि कांग्रेसले पाण्डेको विकल्प खोजेको छैन,’ उनले भने। बाँदरमुडे घटनाका पीडितलाई धम्क्याउनेलगायत दबाब माओवादीले बढाएका कारण पनि कांग्रेसको मत माओवादीमा नजाने यस क्षेत्रका कांग्रेस नेता एवं पूर्वसांसद तीर्थ भुसालले बताए।

२०५१ को निर्वाचनमा यस क्षेत्रबाट भुसाल विजयी भएका थिए। त्यसअघि ०४८ मा जनमोर्चाका तर्फबाट अमिक शेरचन यहाँबाट विजयी भएका थिए भने ०५६ मा माडीले कांग्रेसका नारायण शर्मा पौडेललाई जिताएको थियो।२०६४ को पहिलो संविधानसभामा माओवादीबाट पुनस् शेरचन विजयी भए भने ०७० मा एमालेका दानबहादुर तामाङलाई पराजित गरी राप्रपाका विक्रम पाण्डे विजयी भए।

देउवा सरकारका वनमन्त्री पाण्डे नेपालकै प्रमुख निर्माण व्यवसायी मानिन्छन्। विकासप्रेमी नेताका रूपमा क्षेत्रमा स्थापित पाण्डेले यसपालि पूर्वप्रधानमन्त्री दाहालको राष्ट्रिय व्यक्तित्वको सामना गर्नुुपर्ने छ। यसैले पनि यो क्षेत्रमा उनले निकै मिहिनेत गरेको भुसालले बताए। माडीमा अहिले राजनीतिक दलको मात्रै कार्यक्रम छैनन्, नागरिक अभियानका नाममा पनि दाहालका पक्षमा प्रचार भइरहेको छ। अभियानमा संलग्न माओवादीनिकट व्यवसायी मित्रराज दवाडीले माओवादीले पनि निकै मिहिनेत गरेको बताए। ‘दिनरात नभनी घाँटी दुख्ने गरी प्रचार गरिएको छ,’ उनले भने। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७