हिमाली छोरो आङछिरिङ : छोटो जीवनका लामो यात्री


१६ फाल्गुन २०७५, बिहीबार
Ang Tshering Sherpa memory

४० वर्षअघि भारी बोकेर सगरमाथाको क्याम्पहरु धाइरहदा आङछिरिङ शेर्पालाई लागेको थिएन, ‘कुनै दिन यी क्याम्पहरुलाई म आकाशबाट घुमीघुमी हेर्नेछु ।’ दिदी आङदामी शेर्पाले सञ्चालन गरेको ‘शेर्पा सोसाइटी ट्रेकिङ एजेन्सी’ बाट भरिया बनेर भारी खेप्न पाउँदा नै उनी दंग थिए । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘दुई जनाले बोक्ने भारी उनी एक जनाले सजिलै बोक्थ्थे ।’

Ang Tshering Sherpa memory


त्यसो त भरिया आङछिरिङ केही गर्नुपर्छ भन्ने सपना भएका मान्छे थिए । त्यही सपनाले ठेलिएर उनी सोलुखुम्बुको पाङगोममाबाट आङछिरिङ २०३० मा काठमाडौं आए ।

खाली हात काठमाडौं आएका आङछिरिङले आफ्ना सपना पछ्याउन खाली खुट्टाले काठमाडौंका धेरै सडकहरु छिचोले । तर, उनले भारी खेप्दा देखेका सपना कहिल्यै भुलेनन् । उही हिमालसँगका सपना पछ्याइरहे । त्यही सपना पछ्याउदै जादा उनले सफलताको शिखर भेटे । तिनै भरिया नेपाली पर्यटन व्यवसायमा एक नम्बर बने ।

तर, उनको यात्रा उस्तै तेज थियो । तर, बुधबारदेखि उनको त्यो यात्रामा विश्राम लागेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँगै उनको पनि निधन भयो ।

तेह्रथुमको चौहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिसको ‘९एन–एएमआई (एएस ३५०–बी३ई)’ हेलिकोप्टर दुर्घटनाले उनको तिव्र गतिको यात्रा सधैंको लागि रोकिएको हो ।

शुन्यबाट सुरुवात
काठमाडौं छिर्दा आङछिरिङको पहिचान थियो, हिमाली भरिया अर्थात् हिउँमा भारी बोक्ने शेर्पा । सपना बाहेक अरु उनीसँग केही थिएन ।

दाजु सोनाम, भाउजु पासाङ ल्ह्यामु मिलेर २०४० मा थाम शेर्कु कम्पनी खोले । आङछिरिङ आफ्नो कम्पनी थाम शेर्कुबाट आफै ट्रेकिङमा जान्थे । पर्यटकहरुलाई घुमाउँथे । भारी बोक्थे ।

शेर्पा परिवारको त्यो दुःख
उनीहरुमा हिमालको ज्ञान बढ्दै गयो । यही क्रममा ठुली भाउजु पासाङ ल्ह्यामू शेर्पा २०५० सालमा आफैं सगरमाथा चढिन् । तर फर्कने क्रममा उनको निधन भयो । जेठो दाई सोनामछिरिङको सहयात्रीको जीवन हिमालले खायो । तर, एउटा इतिहास बन्यो । पहिलो पटक सगरमाथा चढ्ने नेपाली महिला पासाङ ल्ह्यामूको नाम बाहेक उनीहरुसँग केही रहेन ।

निरन्तरको कडा मेहेनेतको कारण थाम शेर्कु नाफामा गयो । त्यही जम्मा भएको पैसाले २०५५मा आङछिरिङले यति एयरलाइन्सको स्थापना गरे । तर,२०५५ सालमा उनीहरुको परिवारमा फेरि अर्को दुःख आइलाग्यो ।

कान्छा भाइ टेन्डी शेर्पाको उद्धारमा खटिँदा सोलुखुम्बुको बासामा एमआई १७ हेलिकप्टर दुर्घटनामा ज्यान गयो । घरको तीन भाई लाक्पा सोनाम, आङछिरिङ र टेन्डी शेर्पा तीन भाइमध्ये दुईजनाको हेलिकप्टर दुर्घटनामै ज्यान गयो ।

हिमाली प्रेम
आङछिरिङ हिमाली भेगका जनताका पीडा बारेमा जानकार थिए । भरिया बनेर हिमाल धाउँदा भोगेका दुःखले उनले कहिल्यै भुलेनन् । त्यही कारण उनले हिमाली भेगका जनताहरुलाई असाध्यै माया गर्थे । उनका सहकर्मीहरु भन्छन्,‘हिमाली भेगका जनताहरुप्रति उहाँको असाध्यै माया थियो ।’ नेपालका हिमाली भेगमा सबै जिल्लामा विमानस्थल खोलेर यति एयरलाइन्सका लैजाने उनको सपना थियो ।

आङछिरिङ होटल, एयरलाइन्स, हेलिकप्टर र दर्जनौं कम्पनी सञ्चालक थिए । उनको ती सबै कम्पनीहरु हिमाली क्षेत्रसँग सम्बन्धित थिया । आन्तरिकतर्फ यती एयरलाइन्स, तारा एयरलाइन्स, एयर डाइनेस्टी र अन्तराष्ट्रिय उडानमा हिमालयन एयरलाइन्स सञ्चालन हुन् ।

उत्कृष्ट राजस्व बुझाएबापत तीन वर्षसम्म निरन्तर पोजेरो गाडी उपहार पाएका थिए उनले । सगरमाथा क्षेत्रमा आङछिरिङको ७ वटा होटल छन् । पोखरा, सौराहा, बन्दीपुरमा पनि उनले होटल चलाएका छन् ।

प्रचारभन्दा टाढा, सधैं काममा
आङछिरिङ नेपालको पर्यटन क्षेत्रको सम्राट जस्तै थिए । तर, उनी कहिल्यै पनि सञ्चार माध्यममा आएनन् । न कतै तस्बिर देखियो, न कतै अन्तरवार्ता नै । त्यही कारण बुधबार दुर्घटनामा पर्दा उनको तस्बिरमा सञ्चार माध्यमहरु समेत अन्योलमा परे । उनको तस्बिर भने अरु नै तस्बिर प्रकाशन गरे । उनका नजिकका सहकर्मीहरु भन्छन्, ‘उहाँ प्रचारतिर कहिल्यै लाग्नु भएन दिनरात काममा खटिरहनुभयो ।’

त्यसो त आलोचकहरुले आङछिरिङलाई नागरिक उड्ययन प्राधिकरण, पर्यटन मन्त्रालयलाई समेत आफ्नो प्रभावमा राख्ने व्यक्तिको रुपमा प्रचार गर्थे । तर, आङछिरिङ आलोचना अनावश्यक प्रचारलाई वेवास्ता गर्थे । सधैं आफ्ना काममा लागिरहन्थ्थे । आङछिरिङका पत्नी चन्दा राईसहित पासाङ र नुर्बु गरी दुई छोरा छन् । पासाङ र नुर्बु पनि विमान चालक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७