ललितपुरमा आकाशेपुल अभाव, बाटो काट्नै जान्छ आधा घण्टा


१६ फाल्गुन २०७५, बिहीबार
zebra crossing 1

ललितपुर, १६ फागुन । गाबहालका सृजन महर्जन कुपण्डोलमा बाटो काट्नकै लागि दैनिक १५–२० मिनेटसम्म कुर्ने गर्छन् ।

zebra crossing 1

सवारीको साधनको अत्यधिक चाप भएको यस ठाउँमा ‘जेब्राक्रसिङ’ बाट बाटो काट्न कठिन भएको उनी बताउँछन् । कुपण्डोलकै एउटा सहकारीमा कार्यरत उनी कहिलेकाहीँ हतारिएर बाटो काट्ने गर्छन् । यसरी बाटो काट्दा कति पटक सवारीसाधनसंग ठोक्किएका महर्जन भन्छन्, ‘अहिलेसम्म ठूलो दुर्घटना भने भएको छैन ।’

एक दशकयता सडकमा सवारी साधनको संख्या बढेसँगै सडक काट्न थप गाह्राे भइरहेको उनको भनाइ छ । सवारी साधनको चाप बढिरहँदा पनि आकाशेपुल बन्न नसक्दा महर्जन जस्तै सबै महानगरवासी हैरान छन् । ललितपुर महानगरपालिकाका व्यस्त सडकमा कतै पनि आकाशे पुल छैन । आकाशेपुलको अभावमा पैदल यात्रु धेरै समय कुरेर ‘जेब्राक्रसिङ’ बाट बाटो काट्ने गरेका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई बाटो काट्न झनै कठिन छ ।

झम्सिखेलका जीवराम थापामगर पनि आकाशे पुल नहुँदा बाटो काट्न पर्ने स्थानमा हिँड्न समेत नसक्ने अवस्था रहेको बताउँछन् । ६५ वर्षीय उनी चार दशकदेखि यहाँ बस्दै आएका छन् । केही वर्ष पहिलेसम्म सजिलै सडक वारपार गर्न सकिए पनि अहिले कठिन भएको उनको भनाइ छ । आकाशेपुल ठाउँ ठाउँमा नहुँदा १५–१६ वर्षका ठिटाठिटीलाई समेत एक्लै सडक पारी पठाउन नसकिएको थापा बताउँछन् । उनी भन्छन्, ‘आकाशेपुल नहुँदा हामी बूढापाका र केटाकेटीलाई बाटोमा हिँड्न पनि गाह्राे भयो ।’

केही वर्षमा सवारीसाधनको चाप ह्वात्तै बढेको महानगरवासी बताउँछन् । चाप बढे पनि बाटो पार गर्नका लागि महानगरपालिकाले आकाशे पुल निर्माण गरेको छैन । महानगरपालिकाका भित्री र व्यस्त सडकमा बाटो काट्नका लागि लामो समयसम्म कुर्नु परेको स्थानीयवासीको गुनासो छ । चालकले ‘जेब्राक्रसिङ’ मा समेत पैदलयात्रुलाई प्राथमिकता नदिने गरेको पैदलयात्रु बताउँछन् ।

महानगरपालिकामा अहिलेसम्म पुल्चोक, ग्वार्खाे र बागडोल गरेर तीन ठाउँमा मात्रै आकाशेपुल छन् । ग्वार्खाे र बागडोलमा चक्रपथ सडक विस्तारका क्रममा चिनियाँ निर्माण कम्पनीले पुल निर्माण गरेको थियो । मुख्य सडकमा भने पुल्चोक एक ठाउँमा मात्रै आकाशेपुल निर्माण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउँछन् । उनी भन्छन्, ‘भित्री शहरका धेरै ठाउँमा आकाशेपुल आवश्यक भए पनि हामीले निर्माण गर्न सकेका छैनौँ ।’

महानगरपालिकाको लगनखेल, मङ्गलबजार, कुपण्डोल, जावलाखेललगायत स्थानमा आकाशेपुल बढी आवश्यक रहेको प्रवक्ता महर्जनको भनाइ छ । महानगरपालिकाले चालू आवमा आकाशेपुल निर्माणका लागि बजेट नछुट्ट्याएको जानकारी दिँदै उनी भन्छन्, ‘चालू आवमा योजना बनाएर आगामी वर्ष काम गर्ने योजना छ ।’

महानगरपालिकाले पैदल यात्रु र सवारीसाधन दुवैको चाप बढी भएका ठाउँमा आकाशेपुल निर्माणका लागि अध्ययन शुरु भएको बताएको छ । आकाशेपुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम भइरहेको प्रवक्ता महर्जन बताउँछन् । कुपण्डोल, अल्का अस्पताल, पाटन अस्पताल अगाडिलगायत ठाउँमा आकाशेपुल बढी आवश्यक भएकाले अध्ययन भइरहेको उनी जानकारी दिन्छन् ।

अस्पताल अगाडि र चक्रपथका चोकमा आकाशे पुल बढी आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले चक्रपथको यस सडकखण्ड हस्तान्तरण गरेपछि सरकारले विभिन्न छ स्थानमा आकाशे पुल निर्माण गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । प्रवक्ता महर्जन भन्छन्, ‘यो वर्ष अध्ययन सकिएपछि आगामी वर्ष योजनामा पर्नेछ ।’

उपत्यकाका सवारी साधनको चाप बढी हुने थापाथलीमा ‘फ्लाई ओभर’ का लागि जापानी सहयोग संस्था (जाइका) ले अध्ययन गरिरहेको छ । सो पुल थापाथलीबाट त्रिपुरेश्वर, माइतीघर र कुपण्डोलसम्म हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७