अब योगदानका आधारमा शिक्षकको पेन्सन, सामाजिक सुरक्षा कोषमा संलग्न गराइने


१६ फाल्गुन २०७५, बिहीबार
teacher

काठमाडौं, १६ फागुन । सरकारले अब शिक्षकको पेन्सन योगदानका आधारमा उपलब्ध गराउने भएको छ ।

teacher

सरकारले अब नियुक्त हुने शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न गराउने भएको छ । शिक्षा मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अन्तर्गत शिक्षकलाई पनि समेट्ने प्रस्ताव गरेको छ । यसअघि शिक्षकले पाउँदै आएको पेन्सन अब सोही कोष अन्र्तगत पाउने उल्लेख गरिएको छ । यसका लागि शिक्षकहरुको योगदानमा आधारित एक शिक्षक निवृत्तभरण कोषको परिकल्पना मस्यौदामा गरिएको छ ।

‘निवृत्तिभरण प्रयोजनका लागि योगदानमा आधारित एक शिक्षक निवृत्तिभरण कोषको व्यवस्था गर्नु पर्नेछ’ ऐनको मस्यौदामा भनिएको छ, ‘निवृत्तिभरण कोषमा सम्बन्धित शिक्षक तथा कर्मचारीको प्रचलित तलब स्केलबाट तोकिए बमोजिम रकम कट्टी गरी सोही बराबरको रकम नेपाल सरकारद्वारा थप गरिने छ ।’

सहमतिका लागि कानून र अर्थ मन्त्रालयमा पठाइएको ऐनको मस्यौदामा ऐन प्रारम्भ हुनुअघि नै निवृत्तभरण पाउने गरी अवकाश प्राप्त शिक्षक र यो ऐन प्रारम्भ हुनु भन्दा अघि स्थायी पदका लागि शिक्षक सेवा आयोगबाट विज्ञापन भइसकेको तर, यो ऐन प्रारम्भ भएपछि नियुक्त हुने शिक्षकको हकमा भने यो व्यवस्था लागू नहुने उल्लेख छ । अर्थात् उनीहरुले यसअघि जस्तै प्रक्रियाबाट पेन्सन पाउने जनाइएको छ ।

प्रस्तावित ऐनको परिच्छेद ६ मा उल्लेख विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन अन्तर्गत दफा ५५ मा रहेको विद्यालय शिक्षकको सेवाका शर्तमा गरिएको उक्त व्यवस्थामा ऐन प्रारम्भ हुनुअघि नियुक्ति पाई कार्यरत रहेका शिक्षकको पारिश्रमिक र सुविधा त्यस्तो शिक्षकले पाइरहेको पारिश्रमिक र सुविधा भन्दा प्रतिकुल हुने गरी कानूनी व्यवस्था गर्न नपाइने पनि उल्लेख छ ।

पेन्सनले राज्यलाई अधिक भार भएको भन्दै सरकारले हालको प्रकृतिको पेन्सनको प्रावधान हटाउने गरी सामाजिक सुरक्षा कोषको अवधारणा ल्याएको हो । निजी क्षेत्रका श्रमिकमा हकमा आगामी साउन १ गतेपछि लागू हुने उक्त व्यवस्था शिक्षकका हकमा पनि लागू हुने गरी शिक्षा ऐनमै समेट्न लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७